गन्ती
६ यहोवा परमेश्वरले मोसालाई अझै भन्नुभयो: २ “इस्राएलीहरूलाई यसो भन, ‘कुनै पुरुष वा स्त्रीले यहोवा परमेश्वरको सेवा गर्न नाजिरी*+ जीवन बिताउने विशेष भाकल गर्छ भने ३ उसले दाखमद्य* र अरू कुनै किसिमको रक्सी नपिओस्। उसले दाखमद्यको वा अरू कुनै किसिमको रक्सीको सिर्का* नपिओस्।+ उसले अङ्गुरको रस, ताजा अङ्गुर वा किसमिस केही नखाओस्। ४ नाजिरी जीवन बिताएको समयभरि नै उसले अङ्गुरको बियाँ होस् वा बोक्रा, केही नखाओस्।
५ “‘नाजिरी जीवन बिताउने भाकल गरेको समयभरि उसको शिरमा छुरा नलगाइयोस्।+ यहोवा परमेश्वरको लागि आफूलाई अलग पारेको समय पूरा नहोउन्जेल कपाल बढ्न दिएर ऊ पवित्र रहिरहोस्। ६ यहोवा परमेश्वरको लागि आफूलाई अलग पारेको समयभरि ऊ कुनै लासको* नजिक नजाओस्। ७ आफ्नो बुबा, आमा, दाजुभाइ अथवा दिदीबहिनीको मृत्यु भए तापनि उसले आफूलाई अशुद्ध नपारोस्+ किनकि ऊ नाजिरी भएको चिन्ह उसको शिरमा छ।
८ “‘नाजिरीको रूपमा जीवन बिताउन्जेल ऊ यहोवा परमेश्वरको सामुन्ने पवित्र होस्। ९ तर उसको छेउमा अचानक कोही मऱ्यो+ र उसले आफ्नो कपाल अर्थात् परमेश्वरको लागि अलग भएको आफ्नो शिरको चिन्हलाई अशुद्ध पाऱ्यो भने शुद्धीकरणको दिनमा उसले कपाल खौरोस्।+ उसले सातौँ दिनमा कपाल खौरोस्। १० आठौँ दिनमा ऊ दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा लिएर भेट हुने पालको* प्रवेशद्वारमा पुजारीकहाँ आओस्। ११ लासले गर्दा अशुद्ध भएकोले उसको पापको प्रायश्चितको लागि पुजारीले एउटा चरालाई पापभेटी* र अर्कोलाई अग्निभेटीको* रूपमा चढाऊन्।+ अनि त्यही दिन उसले आफूलाई चोख्याओस् र आफ्नो शिरको कपाल फेरि बढ्न देओस्। १२ उसले फेरि आफूलाई यहोवा परमेश्वरको लागि अलग राखेर नाजिरी जीवन सुरु गरोस् र दोषभेटी* चढाउन एक वर्षे थुमा ल्याओस्। उसले आफ्नो नाजिरी जीवनलाई अशुद्ध पारेकोले त्यसअघिका दिनहरूको गन्ती हुनेछैन।
१३ “‘नाजिरीहरूका लागि यो नियम लागू हुनेछ: उसको नाजिरी जीवन पूरा भएपछि+ उसलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याइयोस्। १४ त्यहाँ उसले यहोवा परमेश्वरलाई यी भेटीहरू चढाओस्: अग्निभेटीको रूपमा भेडाको एक वर्षे निष्खोट पाठो,+ पापभेटीको रूपमा भेडाको एक वर्षे निष्खोट पाठी,+ मेलबलिको* रूपमा एउटा निष्खोट थुमा,+ १५ तेलमा मुछेर पकाइएको मसिनो पीठोको सेल आकारको अखमिरा* रोटी र तेल दलेको अखमिरा पापडी एक डालो। साथै अन्नभेटी+ र मद्यभेटी+ पनि सँगै ल्याओस्। १६ पुजारीले यी भेटीहरू यहोवा परमेश्वरसामु लैजाऊन् र नाजिरी जीवन पूरा गर्नेको तर्फबाट पापभेटी र अग्निभेटी चढाऊन्। १७ तिनले यहोवा परमेश्वरलाई मेलबलिको रूपमा थुमा र त्यससँगै एक डालो अखमिरा रोटी पनि चढाऊन्। तिनले अन्नभेटी+ र मद्यभेटी पनि चढाऊन्।
१८ “‘अनि नाजिरी जीवन बिताउँदा बढेको कपाल उसले भेट हुने पालको प्रवेशद्वारमा खौरोस्+ र उसले आफ्नो काटिएको कपाल त्यस आगोमा हालोस्, जसमाथि मेलबलिको रूपमा चढाइएको जनावर जलिरहेको हुन्छ। १९ त्यसपछि पुजारीले थुमाको उसिनेको कुम,+ डालोबाट एउटा सेल आकारको अखमिरा रोटी र एउटा अखमिरा पापडी लेऊन् र ती सबै त्यस नाजिरीको हातमा राखिदेऊन्, जसले नाजिरी जीवनको चिन्ह खौरिसकेको छ। २० अनि पुजारीले त्यसलाई डोलाउने भेटीको* रूपमा यहोवा परमेश्वरसामु डोलाऊन्।*+ यी सबै थोकका साथै डोलाउने भेटीको रूपमा चढाइएको जनावरको ह्याकुला र पुजारीको लागि छुट्ट्याइएको खुट्टा पुजारीलाई दिनू।+ त्यसपछि त्यस नाजिरीले मद्य पिउन सक्छ।
२१ “‘नाजिरी जीवन बिताउँछु भनेर भाकल गर्ने व्यक्तिले पूरा गर्नुपर्ने नियम यो हो:+ कुनै नाजिरीसित यहोवा परमेश्वरलाई चढाउनुपर्ने बाहेक थप भेटी चढाउने औकात छ र उसले त्यसो गर्ने भाकल पनि गर्छ भने उसले त्यो भाकल पूरा गर्नै पर्छ।’”
२२ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: २३ “हारुन र तिनका छोराहरूलाई यसो भन, ‘तिमीहरूले इस्राएलीहरूलाई यस्तो आशिष् दिनू:+
२४ “यहोवा परमेश्वरले तिमीहरूलाई आशिष् देऊन्+ र तिमीहरूको रक्षा गरून्।
२५ यहोवा परमेश्वरको मुहार तिमीहरूमाथि चम्कोस्+ र उहाँले तिमीहरूमाथि निगाह देखाऊन्।
२६ यहोवा परमेश्वरले आफ्नो मुहार तिमीहरूतर्फ फर्काऊन् र तिमीहरूलाई शान्ति देऊन्।”’+
२७ अनि पुजारीहरूले मेरो नाम लिएर इस्राएलीहरूलाई आशिष् देऊन्+ र म ती इस्राएलीहरूलाई आशिष् दिनेछु।”+