बुधबार, अप्रिल २९
सोच्ने क्षमताले तिम्रो रक्षा गर्नेछ, समझशक्तिले तिमीलाई जोगाउनेछ।—हितो. २:११.
हामीले हरेक दिनजसो नै निर्णयहरू गर्नुपर्ने हुन्छ। केही निर्णयहरू गर्न एकदमै सजिलो हुन्छ। जस्तै, के खाने अथवा कति बजे सुत्ने भनेर निर्णय गर्न सजिलो हुन्छ। अरू कतिपय निर्णयहरू गर्न भने एकदमै गाह्रो हुन्छ। यसले हाम्रो स्वास्थ्य, हाम्रो आनन्द, हाम्रा प्रियजनहरू वा हाम्रो उपासनालाई नै असर गर्न सक्छ। हामीले गर्ने निर्णयहरूले आफ्नो र परिवारको हित भएको चाहन्छौँ। त्योभन्दा महत्त्वपूर्ण कुरा, हामी यहोवालाई खुसी तुल्याउने निर्णयहरू गर्न चाहन्छौँ। (रोमी १२:१, २) सही निर्णय गर्न हामीले चाल्नुपर्ने एउटा महत्त्वपूर्ण कदम भनेको आवश्यक जानकारी लिनु हो। यसो गर्नु किन महत्त्वपूर्ण छ? मानौँ, एक जना बिरामी आफ्नो गम्भीर स्वास्थ्य समस्याको उपचार गराउन डाक्टरकहाँ जान्छन्? के ती डाक्टरले केही जाँच्दै नजाँची अनि बिरामीलाई के भएको हो भनेर सोध्दै नसोधी औषधी लेखिदिन्छन्? त्यसो त पक्कै गर्दैनन्। एक जना राम्रो डाक्टरले बिरामीको सबै अवस्था राम्ररी बुझेपछि मात्र कस्तो उपचार गर्ने भनेर निर्णय गर्छन्। त्यसरी नै हामीले पनि निर्णय गर्नुअघि आवश्यक जानकारी लिनुपर्छ। w२५.०१ पृ. १४ अनु. १-३
बिहीबार, अप्रिल ३०
यहोवा परमेश्वरले तपाईँलाई क्षमा दिनुभएको छ। तपाईँ मर्नुहुनेछैन।—२ समु. १२:१३.
हामीलाई यहोवाको कृपाबारे के थाह छ? उहाँले “कोही पनि नाश नहोस्” भन्ने चाहेको कुरा कसरी देखाउनुभएको छ? (२ पत्रु. ३:९) गम्भीर पाप गरेका केही व्यक्तिलाई उहाँले कसरी कृपा देखाउनुभयो, विचार गरौँ। राजा दाउदले एकपछि अर्को गम्भीर पाप गरे। जस्तै: व्यभिचार र हत्या। तर पश्चात्ताप गरेकोले यहोवाले तिनलाई कृपा देखाउँदै क्षमा दिनुभयो। (२ समु. १२:१-१२) राजा मनस्सेले पनि आफ्नो जीवनकालमा थुप्रै गम्भीर गल्ती गरे। तर पश्चात्ताप गरेकोले यहोवाले उनलाई कृपा देखाउँदै क्षमा दिनुभयो। (२ इति. ३३:९-१६) यी उदाहरणहरूबाट कृपा देखाउने कुनै आधार छ भने यहोवा कृपा देखाउन पछि हट्नुहुन्न भनेर बुझ्न सक्छौँ। आफूले गम्भीर गल्ती गरेको कुरा स्विकारेका र पश्चात्ताप गरेका ती व्यक्तिहरूलाई उहाँले पक्कै फेरि जीवित पार्नुहुनेछ। w२४.०५ पृ. ४ अनु. १२
शुक्रबार, मे १
परमेश्वर कसैको पक्षपात गर्नुहुन्न।—रोमी २:११.
इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाउनुभएपछि यहोवाले वासस्थानमा सेवा गर्न पुजारीहरूलाई नियुक्त गर्नुभयो। अनि वासस्थानमा गर्नुपर्ने अन्य कामहरूको लागि लेवीहरूलाई खटाउनुभयो। के यहोवाले अरूलाई भन्दा वासस्थानमा सेवा गर्नेहरूलाई वा त्यसको नजिकै बस्ने कुलहरूलाई धेरै माया गर्नुभयो? त्यसो त पटक्कै होइन! किनभने यहोवा पक्षपात गर्नुहुन्न। छाउनीमा बस्ने प्रत्येक इस्राएली यहोवासित घनिष्ठ हुन सक्थे। यहोवाले वासस्थानमाथि बादलको खामो र आगोको खामो सबै इस्राएलीले देख्न सक्नेगरि राखिदिनुभएको थियो। (प्रस्थ. ४०:३८) त्यो बादलको खामो अर्कै दिशातर्फ मोडिँदा वासस्थानको सबैभन्दा टाढा पर्ने कुलका मानिसहरूले समेत त्यो देख्न सक्थे। त्यसपछि तिनीहरू आफ्नो पोकोपन्तरो बाँध्थे, पाल निकाल्थे र यात्रा सुरु गर्थे। (गन्ती ९:१५-२३) त्यसैगरि आज पनि चाहे हामी संसारको जुनसुकै कुनामा बसौँ, हामी यहोवाले माया गर्नुहुन्छ, ख्याल राख्नुहुन्छ र सुरक्षा दिनुहुन्छ भन्ने कुरामा ढुक्क हुन सक्छौँ। w२४.०६ पृ. ४-६ अनु. १०-१२