लेवी
५ “‘यदि कोही व्यक्ति कुनै घटनाको प्रत्यक्षदर्शी हो वा उसले त्यस घटनासम्बन्धी कुनै कुरा देख्यो वा सुन्यो भने ऊ त्यस घटनाको साक्षी हुन्छ। त्यसबारे जनसमक्ष बताउन बोलाइँदा* उसले केही बोलेन भने त्यो पाप हो;+ उसले आफ्नो पापको सजाय भोग्नेछ।
२ “‘अथवा कसैले अशुद्ध जङ्गली जनावर वा अशुद्ध घरपालुवा जनावरको सिनु अथवा झुन्डमा रहने अशुद्ध जीवको* सिनु छोयो भने+ ऊ अशुद्ध हुनेछ; उसले त्यो अनजानमै छोएको भए तापनि ऊ दोषी ठहरिनेछ। ३ अथवा कसैले अनजानमा कुनै अशुद्ध थोक वा अशुद्ध मानिसलाई छोयो भने+ र त्यसबारे उसलाई पछि थाह भयो भने ऊ दोषी ठहरिनेछ।
४ “‘अथवा कसैले असल गर्नको लागि होस् वा खराब गर्नको लागि, राम्ररी सोच्दै नसोची कसम खायो र आफूले सोचविचारै नगरी कसम खाएछु भनेर पछि मात्र महसुस गऱ्यो भने पनि ऊ दोषी ठहरिनेछ।*+
५ “‘यीमध्ये कुनै कुरामा ऊ दोषी ठहरियो भने आफूले कुनचाहिँ पाप गरेको हो, त्यो उसले स्विकारोस्।+ ६ अनि आफूले गरेको पापको लागि उसले दोषभेटीको* जनावर यहोवा परमेश्वरसामु ल्याओस्।+ बगालबाट ल्याएको त्यो भेडाको पाठी वा बाख्राको पाठीलाई उसले पापभेटीको रूपमा चढाओस्। अनि पुजारीले उसको पापको प्रायश्चित गरिदेऊन्।
७ “‘यदि ऊसित भेडाबाख्राको बगालबाट भेटी चढाउने औकात छैन भने उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा आफ्नो पापको दोषभेटीस्वरूप यहोवा परमेश्वरसामु ल्याओस्+—एउटा पापभेटीको निम्ति र अर्को अग्निभेटीको निम्ति।+ ८ उसले पुजारीकहाँ ती ल्याओस्। पुजारीले दुई वटा चरामध्ये एउटालाई पापभेटीको निम्ति चढाऊन्; तिनले त्यसको घाँटी निचोरून् तर टाउको भने नचुँडाऊन्। ९ तिनले पापभेटीको अलिकति रगत वेदीको छेउमा छर्कून् र बाँकी रगतचाहिँ वेदीको मुनिपट्टि खन्याइदेऊन्।+ यो पापभेटी हो। १० पुजारीले अर्को चरालाई अग्निभेटी चढाउने नियमित प्रक्रियाअनुरूपै चढाऊन्।+ अनि पुजारीले त्यस मानिसले गरेको पापको लागि उसको निम्ति प्रायश्चित गरिदेऊन् र उसले क्षमा पाउनेछ।+
११ “‘यदि ऊसित दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा चढाउने औकात छैन भने उसले पापभेटीस्वरूप एपाको दस भागको एक भाग* मसिनो पीठो ल्याओस्।+ उसले त्यसमा तेल नमिसाओस् र सेतो धूप* पनि नहालोस् किनकि यो पापभेटी हो। १२ उसले त्यसलाई पुजारीकहाँ ल्याओस्। अनि पुजारीले एक मुठी मसिनो पीठो सम्पूर्ण भेटीको प्रतीकस्वरूप* लेऊन् र त्यसलाई यहोवा परमेश्वरको निम्ति आगोमा जलाइएको भेटीमाथि राखेर जलाऊन्।* यो पापभेटी हो। १३ उसले यीमध्ये जुनसुकै पाप गरेको भए पनि उसको पापको निम्ति पुजारीले प्रायश्चित गरिदेऊन् र उसले क्षमा पाउनेछ।+ पापभेटीको बाँकी भाग अन्नभेटीको बाँकी भागजस्तै+ पुजारीकै हुनेछ।’”+
१४ यहोवा परमेश्वरले मोसालाई अझै यसो भन्नुभयो: १५ “यदि कसैले अनजानमै यहोवा परमेश्वरलाई चढाइएका पवित्र थोकहरूविरुद्ध पाप गरेर उहाँको आज्ञा उल्लङ्घन गर्छ भने+ उसले बगालबाट दोषभेटीस्वरूप एउटा निष्खोट थुमा यहोवा परमेश्वरसामु ल्याओस्;+ त्यो थुमाको मोल चाँदीको शेकेलअनुसार* कति हुनुपर्छ भनेर पुजारीले बताऊन्। त्यो मोल पवित्र ठाउँको चाँदीको शेकेलअनुसार* हुनुपर्छ।+ १६ उसले पवित्र ठाउँविरुद्ध गरेको पापको लागि क्षतिपूर्ति दिनुका साथै त्यसको पाँच भागको एक भाग पनि थपेर देओस्।+ उसले त्यो पुजारीलाई देओस् र पुजारीले उसको निम्ति प्रायश्चित गर्न+ दोषभेटीको थुमा चढाउनेछन् अनि उसले क्षमा पाउनेछ।+
१७ “यहोवा परमेश्वरले नगर्नू भन्नुभएको काम गरेर कसैले पाप गऱ्यो भने, चाहे त्यो उसले अनजानमै गरेको किन नहोस्, ऊ दोषी ठहरिनेछ; उसले आफ्नो पापको सजाय भोग्नेछ।+ १८ उसले तोकिएको मोलबराबरको एउटा निष्खोट थुमा आफ्नो बगालबाट छानोस् र दोषभेटी चढाउन पुजारीसामु ल्याओस्।+ अनि उसले अनजानमा गरेको गल्तीको लागि पुजारीले उसको निम्ति प्रायश्चित गरिदेऊन् र उसले क्षमा पाउनेछ। १९ यो दोषभेटी हो। उसले यहोवा परमेश्वरविरुद्ध पाप गरेकोले ऊ साँच्चै दोषी हुन्छ।”