यसैया
५८ उहाँले मलाई भन्नुभयो: “चुप लागेर नबस, ठूलो स्वरले कराऊ!
बिगुलको जस्तै चर्को आवाज निकाल।
मेरा मानिसहरूले गरेको विद्रोह तिनीहरूलाई बताऊ,+
याकुबका घरानाले गरेको पाप तिनीहरूलाई सुनाऊ।
२ तिनीहरू हरेक दिन मलाई यतिबिघ्न खोज्छन्
अनि मेरो मार्ग चिन्न पाएकोमा यतिबिघ्न रमाउँछन् कि
मानौँ, तिनीहरू परमेश्वरको धार्मिक मार्गमा हिँड्ने जाति हुन्;
मानौँ, तिनीहरूले परमेश्वरको न्यायिक स्तरलाई कहिल्यै बङ्ग्याएकै छैनन्।+
तिनीहरू मलाई न्याय गरिदिनुहोस् भनेर आग्रह गरेको ढोँग गर्छन्,
परमेश्वरसित नजिक हुन पाउँदा खुसी भएझैँ गर्छन्।+
३ तिनीहरू भन्छन्: ‘हामी उपवास बस्दा तपाईँ किन वास्तै गर्नुहुन्न?+
हामीले आफ्ना पापहरूका लागि शोक गर्दा तपाईँ किन आँखा चिम्लनुहुन्छ?’+
किनभने उपवासको दिनमा पनि तिमीहरू आफ्नै इच्छा पूरा गर्न खोज्छौ,
तिमीहरू आफ्ना मजदुरहरूमाथि अत्याचार गर्छौ।+
४ उपवास बसेको दिन तिमीहरू गालीगलौज अनि झैझगडा गर्छौ
अनि तिमीहरू दुष्टताको मुड्कीले हिर्काउँछौ।
यसरी उपवास बस्दा के स्वर्गमा तिमीहरूको सुनवाइ हुन्छ र?
५ मैले तिमीहरूलाई यसरी उपवास बस भनेको थिएँ र?
उपवासको दिन तिमीहरू आफैलाई चोट पुऱ्याउँछौ,
लामो घाँस नुहेझैँ तिमीहरू आफ्नो शिर झुकाउँछौ,
तिमीहरू भाङ्ग्रा र खरानीलाई आफ्नो ओछ्यान बनाउँछौ।
यसलाई तिमीहरू उपवास भन्छौ? यो देखेर यहोवालाई खुसी लाग्छ भन्ठान्छौ?
६ मैले त यसरी पो उपवास बस भनेको थिएँ:
अन्यायको नेल फुकालेर फाल,
जुवाको बन्धन खोल,+
अत्याचारमा परेकाहरूलाई छुटाओ,+
सबै जुवालाई भाँचिदेओ,
७ भोकाहरूसित रोटी बाँड,+
गरिब र बेघरहरूलाई आफ्नो घरमा ल्याओ,
कसैलाई नाङ्गो देख्यौ भने उसलाई लुगा देओ,+
आफ्ना दाजुभाइलाई देख्दा पीठ नफर्काओ।
८ तब तिमीहरूको ज्योति बिहानीको किरणजस्तै चम्किनेछ+
अनि तिमीहरू चाँडै निको हुनेछौ।
तिमीहरूको धार्मिकता तिमीहरूको अघिअघि जानेछ
अनि यहोवाको महिमा तिमीहरूलाई रक्षा गर्न तिमीहरूको पछिपछि आउनेछ।+
९ तिमीहरूले यहोवालाई पुकार्नेछौ अनि उहाँले जवाफ दिनुहुनेछ;
तिमीहरूले उहाँलाई गुहार्दा उहाँले यसो भन्नुहुनेछ, ‘म यहाँ छु!’
यदि तिमीहरूले आफूमाझ भएको जुवा उतारिदियौ
अनि एकअर्कालाई औँला ठड्याउन र दुष्ट कुरा बोल्न छोड्यौ भने,+
१० तिमीहरू आफैले खान चाहेको कुरा भोकाहरूलाई दियौ भने+
अनि दीनदुःखीहरूको ख्याल राख्यौ भने
तिमीहरूको ज्योति अन्धकारमा पनि चम्किनेछ
अनि तिमीहरूको अन्धकार पनि मध्यदिनजस्तै चहकिलो हुनेछ।+
११ यहोवाले सधैँ तिमीहरूलाई डोऱ्याउनुहुनेछ,
उहाँले सुक्खा ठाउँमा पनि तिमीहरूलाई तृप्त पार्नुहुनेछ,+
उहाँले तिमीहरूको हड्डी बलियो बनाउनुहुनेछ,
अनि तिमीहरू प्रशस्त पानी पाएको बगैँचाजस्तै हुनेछौ;+
तिमीहरू कहिल्यै नसुक्ने पानीको मुहानजस्तै हुनेछौ।
१२ तिमीहरूले तहसनहस भएको सहर फेरि बनाउनेछौ,+
पुस्तौँअघि भत्किएको जग फेरि हाल्नेछौ,+
भत्किएको* पर्खाल बनाउनेहरू भनेर तिमीहरू चिनिनेछौ,+
तिमीहरू बाटो बनाउनेहरू भनेर चिनिनेछौ, जसको वरपर फेरि मानिसहरू बस्नेछन्।