लेवी
२४ यहोवा परमेश्वरले मोसालाई अझै यसो भन्नुभयो: २ “दियोहरू कहिल्यै ननिभून् भनेर तिमीले इस्राएलीहरूलाई जैतुन कुटेर निकालिएको शुद्ध तेल तिमीकहाँ ल्याउने आज्ञा दिनू।+ ३ हारुनले भेट हुने पालमा* करारको सन्दुकनजिकै* पर्दाको बाहिरपट्टि यहोवा परमेश्वरसामु साँझदेखि बिहानसम्म दियो बाल्ने प्रबन्ध मिलाऊन्। तिमीहरूले पुस्तौँपुस्तासम्म यो नियम पालन गर्नू। ४ तिनले निखुर सुनको पानसमा+ भएका दियोहरू यहोवा परमेश्वरसामु निरन्तर बालिराखून्।
५ “तिमीले मसिनो पीठो लिनू र १२ वटा सेल आकारको रोटी बनाउनू। प्रत्येक रोटी एपाको दस भागको दुई भाग* पीठोबाट बनाइएको होस्। ६ तिमीले छ-छ वटा रोटीको दुई चाङ बनाउनू+ र त्यसलाई निखुर सुनको टेबुलमा यहोवा परमेश्वरसामु राख्नू।+ ७ दुवै चाङको माथि शुद्ध सेतो धूप* राख्नू; यो धूप रोटीको प्रतीकस्वरूप*+ यहोवा परमेश्वरको निम्ति आगोमा जलाइनेछ। ८ तिनले हरेक विश्रामदिनमा* यहोवा परमेश्वरसामु नबिराईकन यी रोटीहरू राखून्।+ इस्राएलीहरूसित गरिएको यो करार सधैँभरि लागू हुनेछ। ९ यी रोटीहरू हारुन र तिनका छोराहरूको हुनेछ;+ तिनीहरूले यसलाई पवित्र ठाउँमा बसेर खाऊन्+ किनभने यी रोटीहरू पुजारीको निम्ति महापवित्र छन् र यो भेटी यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीको भाग हो। तिनीहरूले यो नियम सधैँ पालन गरून्।”
१० इस्राएलीहरूको समुदायमा एक जना मानिस थियो, जसका बुबा मिश्री थिए र आमाचाहिँ इस्राएली थिइन्।+ एकदिन छाउनीमा एक जना इस्राएलीसित उसको झगडा भयो। ११ इस्राएली स्त्रीको त्यस छोराले परमेश्वरको नामको* निन्दा गर्न र अपमान गर्न* थाल्यो।+ त्यसैले तिनीहरूले उसलाई मोसाकहाँ लगे।+ उसकी आमा दानको कुलको दिब्रिकी छोरी सेलोमिथ थिइन्। १२ यस मामिलामा यहोवा परमेश्वरको इच्छा के हो, त्यो थाह नपाएसम्म तिनीहरूले उसलाई हिरासतमा राखे।+
१३ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: १४ “मलाई सराप्ने त्यस मानिसलाई छाउनीबाहिर लैजानू र उसले सरापेको सुन्नेजति सबैले उसको टाउकोमा आफ्नो हात राखून्। त्यसपछि सारा समुदायले उसलाई ढुङ्गाले हानेर मारून्।+ १५ अनि तिमीले इस्राएलीहरूलाई यसो भन्नू, ‘जसले परमेश्वरलाई सराप्छ, उसले आफ्नो पापको सजाय भोग्नेछ। १६ यहोवाको नामको निन्दा गर्नेलाई मार्नै पर्छ।+ सारा समुदायले उसलाई ढुङ्गाले हानेर मारोस्। स्वदेशी होस् या तिमीहरूमाझ बसोबास गर्ने विदेशी, कसैले परमेश्वरको नामको निन्दा गर्छ भने उसलाई मार्नै पर्छ।
१७ “‘यदि कसैले कोही मानिसको ज्यान लिन्छ भने उसलाई मार्नै पर्छ।+ १८ यदि कसैले अरू कसैको घरपालुवा जनावरलाई मार्छ भने उसले क्षतिपूर्ति तिरोस्, उसले जनावरको साटो जनावर तिरोस्। १९ यदि कसैले आफ्नो छिमेकीलाई घाइते बनाउँछ भने उसले जे गरेको थियो, उसलाई पनि त्यसै गरियोस्।+ २० यदि उसले हड्डी भाँचिदिएको थियो भने उसको पनि हड्डी भाँचियोस्। त्यसैगरि आँखाको साटो आँखा, दाँतको साटो दाँत अर्थात् उसले जे गरेको थियो, उसलाई पनि त्यसै गरियोस्।+ २१ यदि कसैले जनावरलाई मार्छ भने उसले त्यसको क्षतिपूर्ति तिरोस्+ तर कसैले मानिसलाई मार्छ भने उसलाई मारियोस्।+
२२ “‘स्वदेशी होस् या तिमीहरूमाझ बसोबास गर्ने विदेशी, तिमीहरू सबैलाई एउटै नियम लागू हुनेछ+ किनभने म तिमीहरूका परमेश्वर यहोवा हुँ।’”
२३ यो कुरा मोसाले इस्राएलीहरूलाई बताए अनि तिनीहरूले परमेश्वरलाई सराप्ने त्यस मानिसलाई छाउनीबाहिर लगे र ढुङ्गाले हानेर मारे।+ यसरी यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै इस्राएलीहरूले गरे।