उत्पत्ति
४१ यसको दुई वर्षपछिको कुरा हो, फारोले एउटा सपना देखे।+ सपनामा तिनले आफू नाइल नदीको किनारामा उभिरहेका देखे। २ तब नाइल नदीबाट सात वटा मोटाघाटा र चिल्ला गाई निस्के र किनारामा चर्न थाले।+ ३ त्यसपछि त्यही नदीबाट हाड र छाला मात्र भएका सात वटा ख्याउटे गाई निस्के र पहिले निस्केका मोटाघाटा गाईसँगै नदीको किनारामा उभिए। ४ त्यसपछि हाड र छाला मात्र भएका ख्याउटे गाईले मोटाघाटा र चिल्ला सात वटा गाईलाई निल्न थाले। त्यतिकैमा फारो झल्याँस्स ब्युँझिए।
५ त्यसपछि फारो फेरि निदाए र अर्को सपना देखे। तिनले अन्नको एउटा डाँठमा सात वटा भरिला र लहलहाउँदा बाला लागेको देखे।+ ६ त्यसपछि तिनले फोस्रा सात वटा बाला लागेको पनि देखे। ती बाला पूर्वबाट चल्ने तातो बतासले गर्दा खङ्ग्रङ्गै सुकेका थिए। ७ अनि सुकेका बालाले ती सात वटा लहलहाउँदा बालालाई निले। त्यतिकैमा फारो झल्याँस्स ब्युँझिए र त्यो त सपना पो रहेछ भनेर थाह पाए।
८ बिहान उठेपछि सपनाको अर्थ के होला भनेर तिनलाई छटपटी हुन थाल्यो। त्यसैले मिश्रका सबै जादुगरलाई र बुद्धिजीवीलाई तिनले बोलाउन लगाए। अनि फारोले तिनीहरूलाई आफूले देखेको सपना बताए तर कसैले पनि सपनाको अर्थ खोल्न सकेन।
९ ठीक त्यही बेला मद्य टक्य्राउने मुख्य सेवकले फारोलाई भने: “महाराज, आज म हजुरसामु आफ्नो पाप स्विकार्छु। १० हजुर मसित र मुख्य भान्सेसित रिसानी भएको बेला हजुरले हामी दुवैलाई पहरेदारहरूका कप्तानको निगरानीमा रहेको झ्यालखानामा हालिदिनुभएको थियो।+ ११ त्यसबेला हामी दुवैले एकै रात सपना देखेका थियौँ। हामी दुवैको सपनाको आ-आफ्नै अर्थ थियो।+ १२ हामीसँगै झ्यालखानामा एक जना हिब्रू केटो पनि थियो। ऊ पहरेदारहरूका कप्तानको दास थियो।+ हामीले आफ्नो सपना बताउँदा+ उसले त्यसको अर्थ खोलिदिएको थियो। १३ उसले जस्तो भन्यो, ठ्याक्कै त्यस्तै भयो। म फेरि आफ्नो काममा नियुक्त भएँ तर मुख्य भान्सेलाई भने हजुरले झुन्ड्याइदिनुभयो।”+
१४ यो कुरा सुनेर फारोले युसुफलाई ल्याउन मानिसहरू पठाए।+ अनि तिनीहरूले तुरुन्तै युसुफलाई झ्यालखानाबाट* निकाले।+ युसुफले दाह्री खौरे,* लुगा फेरे र फारोसामु हाजिर भए। १५ त्यसपछि फारोले युसुफलाई भने: “मैले एउटा सपना देखेँ तर कसैले त्यसको अर्थ खोलिदिन सकेन। तिमीले सपनाको अर्थ खोलिदिन सक्छौ रे भनेर मैले सुनेको थिएँ।”+ १६ तब युसुफले फारोलाई भने: “सपनाको अर्थ खोलिदिने म होइनँ, परमेश्वर नै हुनुहुन्छ! उहाँले नै हजुरलाई शुभसमाचार सुनाउनुहुन्छ!”+
१७ अनि फारोले युसुफलाई आफ्नो सपना बताउन थाले: “म नाइल नदीको किनारामा उभिरहेको थिएँ। १८ तब नाइल नदीबाट सात वटा मोटाघाटा र चिल्ला गाई निस्के र किनारामा चर्न थाले।+ १९ त्यसपछि नाइल नदीबाटै हाड र छाला मात्र भएका सात वटा ख्याउटे गाई निस्के। मैले त्यत्ति कुरूप गाई मिश्रमा अहिलेसम्म देखेको थिइनँ। २० ती ख्याउटे अनि कुरूप गाईले मोटाघाटा सात वटा गाईलाई भकाभक निल्न थाले। २१ मोटाघाटा गाईलाई खाइसकेर पनि तिनीहरूले खाए भनेर कसैले भन्न सक्दैनथ्यो किनकि तिनीहरू पहिलाजस्तै ख्याउटे नै देखिन्थे। तब म ब्युँझिएँ।
२२ “अनि फेरि मैले अर्को सपना देखेँ। एउटा डाँठमा अन्नका सात वटा भरिला र लहलहाउँदा बाला लागेका थिए।+ २३ त्यसपछि मैले फोस्रा सात वटा बाला लागेको देखेँ। ती बाला पूर्वबाट चल्ने तातो बतासले गर्दा खङ्ग्रङ्गै सुकेका थिए। २४ अनि सुकेका बालाले ती सात वटा लहलहाउँदा बालालाई निले। यी सपनाहरू मैले जादुगरहरूलाई+ बताएँ तर कसैले त्यसको अर्थ खोलिदिन सकेन।”+
२५ फारोको कुरा सुनेपछि युसुफले भने: “हजुरले देख्नुभएको सपनाको अर्थ वास्तवमा एउटै हो। साँचो परमेश्वरले जे गर्न लाग्नुभएको छ, त्यो उहाँले फारोलाई बताउँदै हुनुहुन्छ।+ २६ मोटाघाटा सात वटा गाईले सात वर्षलाई बुझाउँछ। सात वटा भरिला बालाले पनि सात वर्षलाई बुझाउँछ। वास्तवमा दुवै सपनाको अर्थ एउटै हो। २७ पछि निस्केका सात वटा ख्याउटे र कुरूप गाईले सात वर्षलाई बुझाउँछ अनि पूर्वबाट चल्ने तातो बतासले गर्दा खङ्ग्रङ्गै सुकेका सात वटा बालाले सात वर्षसम्म अनिकाल पर्ने कुरालाई बुझाउँछ। २८ मैले हजुरलाई अघि पनि बताएँ, साँचो परमेश्वरले जे गर्न लाग्नुभएको छ, त्यो उहाँले फारोलाई देखाउँदै हुनुहुन्छ।
२९ “मिश्रभरि सात वर्ष प्रशस्त उब्जनी हुनेछ। ३० तर त्यसपछि सात वर्षसम्म भयङ्कर अनिकाल पर्नेछ, जसले गर्दा मिश्रमा प्रशस्त उब्जनी भएको थियो भनेर सम्झनासमेत हुनेछैन। अनिकालले सारा देश सखाप हुनेछ।+ ३१ अनिकाल यत्ति भयङ्कर हुनेछ कि पहिला मिश्रभरि प्रशस्त उब्जनी भएको थियो भनेर कसैले सम्झनेछैन। ३२ साँचो परमेश्वरले यो निश्चय गर्नुभएको छ र उहाँले यो चाँडै पूरा गर्नुहुनेछ। त्यसैले त उहाँले हजुरलाई दुई-दुई पटक सपना देखाउनुभयो।
३३ “अब एक जना समझदार अनि बुद्धिमान् मानिस खोज्न लगाउनुहोस् र पूरै मिश्रको जिम्मा उसलाई दिनुहोस्। ३४ अनि ठाउँठाउँमा नाइके नियुक्त गर्नुहोस् र सात वर्ष लामो सहकालको बेला तिनीहरूले उब्जनीको पाँचौँ भाग जम्मा गरून्।+ ३५ फसल प्रशस्त हुने वर्षहरूमा तिनीहरूले अन्न बटुलून् र सहर-सहरमा हजुरको गोदाममा जम्मा गरून् र सुरक्षित राखून्।+ ३६ मिश्रमा सात वर्षसम्म अनिकाल लाग्दा त्यही अन्न वितरण गरियोस् ताकि अनिकालले गर्दा देश विनाश हुन नपाओस्।”+
३७ युसुफको यो कुरा फारो र तिनका सबै सेवकलाई मन पऱ्यो। ३८ अनि फारोले आफ्ना सेवकहरूलाई भने: “यिनीमाथि साँच्चै परमेश्वरको शक्ति रहेछ। यस कामको लागि यिनीभन्दा राम्रो मानिस अरू को होला र?” ३९ त्यसपछि फारोले युसुफलाई भने: “परमेश्वरले तिमीलाई सबै कुरा बताउनुभएकोले तिमीभन्दा समझदार र बुद्धिमान् मानिस अरू कोही हुन सक्दैन। ४० अब तिमी नै मेरो महलको हर्ताकर्ता भयौ, मेरा सबै प्रजाले अबदेखि तिम्रो हुकुम मान्नेछन्।+ राजा भएकोले* मात्र म तिमीभन्दा माथि हुनेछु।” ४१ अनि फारोले युसुफलाई अझै यसो भने: “हेर, मैले तिमीलाई सारा मिश्रको अधिकार सुम्पेको छु।”+ ४२ यति भनिसकेपछि फारोले आफ्नो छापऔँठी फुकाले र युसुफलाई लगाइदिए अनि उच्चकोटिको मलमलको दामी लुगा र गलामा सुनको हार पनि पहिराइदिए। ४३ अनि फारोले आफ्नो भन्दा एक दर्जा मुनिको शाही रथ झिकाए र युसुफलाई त्यसमा सवार गराए। युसुफ जहाँ-जहाँ जान्छन्, त्यहाँ-त्यहाँ तिनको अघिअघि “आभ्रेख!”* भन्दै दौडन तिनले मानिसहरू पनि खटाए। यसरी फारोले युसुफलाई पूरै मिश्रको अधिकार सुम्पे।
४४ अनि फारोले युसुफलाई भने: “म फारो हुँ! तर तिम्रो आदेशविना मिश्रमा कसैले केही पनि गर्न पाउनेछैन।”+ ४५ त्यसपछि फारोले युसुफको नाम जप्नाथ-पानेह* राखे। अनि ओनका* पुजारी पोतिफेराकी छोरी असेनाथसित+ तिनको विवाह गरिदिए। त्यसपछि युसुफले सारा मिश्रको निरीक्षण गर्न थाले।*+ ४६ मिश्रका फारोसामु उपस्थित हुँदा* युसुफ ३० वर्षका थिए।+
अनि युसुफ फारोकहाँबाट निस्केर सारा मिश्रको दौडाहामा गए। ४७ सात वर्ष लामो सहकालको बेला मिश्रमा प्रशस्त उब्जनी भयो। ४८ तिनले सात वर्षसम्म मिश्रभरिको अनाज बटुले र सहर-सहरका गोदाममा जम्मा गरे। तिनी प्रत्येक सहरमा त्यसको वरिपरिबाट अन्न बटुलेर भण्डार गर्थे। ४९ युसुफले समुद्रका बालुवासरि प्रशस्त अन्न जम्मा गरिरहे। जम्मा गरेको अन्न यति धेरै भयो कि त्यसको लेखाजोखा राख्नै गाह्रो भयो। त्यसैले तिनीहरूले त्यसको हिसाब राख्नै छोडिदिए।
५० अनिकाल सुरु हुनुअघि नै ओनका पुजारी पोतिफेराकी छोरी असेनाथबाट युसुफका दुई छोरा जन्मिसकेका थिए।+ ५१ युसुफले पहिलो सन्तानको नाम मनस्से*+ राखे। किनभने तिनले यसो भने: “परमेश्वरले मलाई मेरो दुःख र मेरो बुबाको घर बिर्सन मदत गर्नुभयो।” ५२ तिनले अर्को छोराको नाम एप्रैम*+ राखे। किनभने तिनले यसो भने: “मैले जुन देशमा दुःख पाएँ, त्यही देशमै परमेश्वरले मेरो फलिफाप गराउनुभयो।”+
५३ यसरी मिश्रमा सात वर्ष लामो सहकालको अन्त भयो।+ ५४ त्यसपछि सात वर्ष लामो अनिकाल सुरु भयो। युसुफले जस्तो भनेका थिए, ठीक त्यस्तै भयो।+ सारा संसारमा अनिकाल पऱ्यो तर मिश्रमा भने खानेकुराको कुनै अभाव थिएन।+ ५५ पछि गएर मिश्रसमेत अनिकालले ग्रस्त भयो र मानिसहरू फारोलाई गुहार्न थाले।+ अनि फारोले मिश्रका जनतालाई भने: “युसुफकहाँ जाओ र तिनी जसो भन्छन्, त्यसै गर!”+ ५६ यसरी पृथ्वीभरि अनिकाल परिरह्यो।+ मिश्रलाई अनिकालले च्याप्दै लगेपछि युसुफले अन्नका सबै भण्डार खोले र मिश्रका मानिसहरूलाई अन्न बेच्न थाले।+ ५७ सारा पृथ्वीका मानिसहरू पनि युसुफसित अन्न किन्न मिश्र जान थाले किनभने भयङ्कर अनिकालले पूरै संसारलाई सताएको थियो।+