पहिलो इतिहास
१० पलिस्तियालीहरू इस्राएलीहरूसित लडाइँ गरिरहेका थिए। इस्राएलीहरू पलिस्तियालीहरूसित हारेर भागे अनि धेरै जना गिल्बो डाँडामा मारिए।+ २ पलिस्तियालीहरू साउल र तिनका छोराहरूलाई खेद्दै तिनीहरूको नजिकै पुगे। अनि पलिस्तियालीहरूले साउलका छोराहरू जोनाथन, अबिनादाब र मल्कि-सुअलाई मारे।+ ३ पलिस्तियालीहरूले साउलसित घमासान लडाइँ गरे। धनुर्धारीहरूले साउललाई भेट्टाए र तिनलाई घाइते बनाइदिए।+ ४ तब साउलले आफ्नो हतियार बोक्ने सिपाहीलाई भने: “तिम्रो तरबार थुतेर मलाई घोप। नत्र त यी बेखतनेहरू आएर मलाई क्रूरतापूर्वक मार्नेछन्।”+ तर हतियार बोक्ने त्यो सिपाहीले त्यसो गर्ने आँटै गरेन। त्यसैले साउलले तरबार थुते र आफैलाई रोपे।+ ५ साउल मरेको देखेपछि तिनको हतियार बोक्ने त्यो सिपाहीले पनि आफ्नो तरबारले आफैलाई रोप्यो र मऱ्यो। ६ यसरी साउल र तिनका तीन जना छोरा मरे अनि तिनीहरूसँगै तिनको घरानाका सबै जना मरे।+ ७ बेँसीमा भएका इस्राएलीहरूले सबै इस्राएली सिपाही भागेको अनि साउल र तिनका छोराहरू मरिसकेको देखे। यो देखेपछि तिनीहरू पनि आफ्ना सहरहरूबाट भाग्न थाले। त्यसपछि पलिस्तियालीहरू आएर ती सहरहरूमा बसोबास गरे।
८ भोलिपल्ट पलिस्तियालीहरू मारिएका सिपाहीहरूको पोसाक र हातहतियार लुट्न आउँदा तिनीहरूले गिल्बो डाँडामा साउल र तिनका तीन जना छोराहरूको लास देखे।+ ९ तिनीहरूले साउलको पोसाक लिए अनि तिनको शिर काटे र हातहतियार पनि लगे। त्यसपछि तिनीहरूले आफ्नो देशभरि भएका देवताहरूको मन्दिरमा+ र सबै मानिसकहाँ यो खबर पठाए। १० तिनीहरूले साउलका हातहतियार आफ्नो देवताको मन्दिरमा राखे र तिनको टाउकोलाई चाहिँ दागोनको मन्दिरमा किला ठोकेर झुन्ड्याइदिए।+
११ पलिस्तियालीहरूले साउललाई जे-जे गरे, त्यसबारे गिलादको याबेसका बासिन्दाहरूले+ सुनेपछि+ १२ त्यहाँका सबै योद्धा निस्किए र तिनीहरूले साउल अनि तिनका छोराहरूको लास याबेसमा ल्याए। त्यसपछि तिनीहरूले याबेसमा एउटा ठूलो रूखमुनि उनीहरूका हड्डीहरू गाडे।+ अनि तिनीहरू सात दिनसम्म उपवास बसे।
१३ यसरी साउलको मृत्यु भयो किनकि तिनी यहोवा परमेश्वरप्रति वफादार रहेनन्। तिनले यहोवा परमेश्वरको आज्ञा पालन गरेनन्।+ साथै तिनले भूतप्रेत खेलाउने स्त्रीसित सल्लाह मागे;+ १४ तिनले यहोवा परमेश्वरसित सल्लाह मागेनन्। त्यसैले उहाँले तिनलाई नाश गर्नुभयो र तिनको राज्य यिसैका छोरा दाउदलाई दिनुभयो।+