युहन्नालाई प्रकाश
९ पाँचौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ अनि मैले आकाशबाट जमिनमा खसेको एउटा तारा देखेँ अनि अगाध खाडलको साँचो+ त्यस तारालाई दिइयो। २ त्यस ताराले अगाध खाडल उघार्दा ठूलो भट्टीबाट धुवाँ निस्केझैँ त्यहाँबाट धुवाँको मुस्लो निस्क्यो अनि त्यस खाडलको धुवाँले सूर्यलाई अनि हावालाई अन्धकारले छोप्यो।+ ३ अनि धुवाँबाट सलहहरू निस्केर पृथ्वीमा आए+ र पृथ्वीका बिच्छीहरूसित भएजस्तै अख्तियार तिनीहरूलाई पनि दिइयो। ४ पृथ्वीको कुनै वनस्पति वा कुनै हरियो बोटबिरुवा वा कुनै रूखलाई हानि नगर्नू तर निधारमा परमेश्वरको छाप नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनेर तिनीहरूलाई भनियो।+
५ ती मानिसहरूलाई नमार्न तर पाँच महिनासम्म सास्ती दिन ती सलहहरूलाई अनुमति दिइयो। बिच्छीले मान्छेलाई डस्दा जस्तो सास्ती हुन्छ, उनीहरूले भोग्ने सास्ती पनि त्यस्तै थियो।+ ६ ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन् तर कुनै हालतमा भेट्टाउनेछैनन् अनि उनीहरू मर्न चाहनेछन् तर मृत्यु भने उनीहरूबाट भाग्नेछ।
७ ती सलहहरू लडाइँको लागि तयार पारिएका घोडाहरूजस्तै देखिन्थे;+ तिनीहरूको टाउकोमा सुनको मुकुटजस्तै केही चिज थियो अनि तिनीहरूको अनुहार मानिसको जस्तो थियो ८ तर तिनीहरूको केश भने स्त्रीको जस्तो थियो। तिनीहरूका दाँतचाहिँ सिंहका जस्ता थिए+ ९ र तिनीहरूको कवच फलामको कवचजस्तो थियो अनि तिनीहरूको पखेटाको आवाज लडाइँ गर्न दगुरिरहेका घोडाले तान्ने रथहरूको आवाजजस्तो थियो।+ १० साथै तिनीहरूसित बिच्छीको जस्तो खील भएको पुच्छर छ अनि मानिसहरूलाई पाँच महिनासम्म हानि गर्ने अख्तियार तिनीहरूको पुच्छरमा छ।+ ११ तिनीहरूका राजा अगाध खाडलका स्वर्गदूत हुन्।+ हिब्रू भाषामा तिनको नाम एबाड्डोन* हो तर ग्रीक भाषामा भने तिनको नाम अपोल्लियोन* हो।
१२ एउटा विपत्ति गइसक्यो। हेर! यसपछि अझै दुई वटा विपत्ति+ आउँदै छन्।
१३ छैटौँ स्वर्गदूतले+ आफ्नो बिगुल फुके।+ अनि परमेश्वरसामु भएको सुनको वेदीका+ सिङहरूबाट एउटा आवाज निस्केको मैले सुनेँ। १४ त्यस आवाजले बिगुल लिएका छैटौँ स्वर्गदूतलाई यसो भन्यो: “महानदी युफ्रेटिसमा बाँधिएका चार स्वर्गदूतलाई फुकाइदेऊ।”+ १५ अनि यही समय, दिन, महिना र वर्षका लागि तयार पारिएका ती चार स्वर्गदूतलाई एक तिहाइ मानिसहरूलाई मार्न फुकाइयो।
१६ घोडचढीको फौजमा भएका सैनिकहरूको सङ्ख्या मैले सुनेँ; तिनीहरूको सङ्ख्या २० करोड थियो। १७ मैले दर्शनमा* देखेका घोडाहरू र त्यसमाथि सवार हुनेहरू यस्ता थिए: तिनीहरूले आगोजस्तो रातो, गाढा निलो र गन्धकजस्तो पहेँलो रङ्गको कवच लगाएका थिए अनि ती घोडाहरूका टाउका सिंहका टाउकाजस्ता थिए+ र तिनीहरूको मुखबाट आगो, धुवाँ र गन्धक निस्कन्थ्यो। १८ यी तीन विपत्ति अर्थात् तिनीहरूको मुखबाट निस्केको आगो, धुवाँ र गन्धकले गर्दा एक तिहाइ मानिसहरू मारिए। १९ ती घोडाहरूको अख्तियार तिनीहरूका मुख र पुच्छरमा छ किनकि तिनीहरूका पुच्छर सर्पजस्तै छ, जसमा टाउको पनि छ। यी पुच्छरहरूद्वारा तिनीहरूले हानि गर्छन्।
२० तर यी विपत्तिहरूद्वारा नमारिएका बाँकी मानिसहरूले आफ्ना कामहरूको लागि पश्चात्ताप गरेनन् अनि तिनीहरूले प्रेतहरूको* र सुन, चाँदी, तामा, ढुङ्गा र काठका मूर्तिहरूको उपासना गर्न छोडेनन्, जसले न देख्न सक्छन् न सुन्न सक्छन् न त हिँड्न नै सक्छन्।+ २१ अनि आफूले गरेका हत्या, तन्त्रमन्त्र, अवैध यौनसम्बन्ध* वा चोरीको लागि तिनीहरूले पश्चात्ताप गरेनन्।