९६ यहोवाको निम्ति एउटा नयाँ गीत गाओ।+
हे सारा पृथ्वी, यहोवाको निम्ति गाओ!+
२ यहोवाको निम्ति गाओ; उहाँको नामको प्रशंसा गर।
उहाँले गर्नुहुने उद्धारको सुसमाचार हरदिन घोषणा गर।+
३ जातिजातिहरूमाझ उहाँको गौरवको बखान गर,
सारा मानिसलाई उहाँका अचम्मलाग्दा कामहरूबारे बताओ।+
४ यहोवा महान् हुनुहुन्छ; प्रशंसा पाउन सबैभन्दा योग्य हुनुहुन्छ।
उहाँ अरू सबै देवताभन्दा भययोग्य हुनुहुन्छ।
५ जातिजातिका सबै देवता व्यर्थका छन्+
तर स्वर्ग सृजने त यहोवा नै हुनुहुन्छ।+
६ उहाँको सामुन्ने वैभव र गौरव छ;+
उहाँको पवित्र स्थानमा शक्ति र सौन्दर्य छ।+
७ हे जातिजातिका घरानाहरू हो, यहोवाको आदर गर,
यहोवाको मान गर किनकि उहाँ महिमावान् र शक्तिशाली हुनुहुन्छ।+
८ यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ;+
भेटी लिएर उहाँका चोकहरूमा आओ।
९ पवित्र पोसाक लगाएर यहोवालाई दण्डवत् गर;
हे पृथ्वीका मानिसहरू हो, उहाँसामु थरथर काँप!
१० जातिजातिमाझ यस्तो घोषणा गर: “यहोवा राजा हुनुभएको छ!+
पृथ्वीलाई बलियोगरि स्थिर पारिएको छ, त्यसलाई हल्लाउन सकिँदैन।
उहाँले निष्पक्ष भई मानिसहरूको न्याय गर्नुहुनेछ।”+
११ स्वर्ग रमाओस्, पृथ्वीले खुसीयाली मनाओस्;
समुद्र र त्यसमा भएका सबै थोक गर्जून्;+
१२ मैदान र त्यसमा भएका सबै कुरा हर्षित होऊन्।+
जङ्गलका रूखहरूले सँगसँगै जयजयकार गरून्,+
१३ तिनीहरू यहोवासामु कराऊन् किनकि उहाँ आउँदै हुनुहुन्छ,
उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।
उहाँले निष्पक्ष भई सारा पृथ्वीको न्याय गर्नुहुनेछ,+
विश्वासयोग्य भई मानिसहरूको न्याय गर्नुहुनेछ।+