यर्मिया
१९ यहोवा यसो भन्नुहुन्छ: “जाऊ, कुमालेकहाँ गएर माटोको एउटा भाँडो किन।+ अनि केही मुखिया र केही अनुभवी पुजारीलाई लिएर २ ‘हिन्नोमको छोराको बेँसी’-को+ खपटा-ढोकामा जाऊ। अनि मैले बताउन लागेको कुरा त्यहाँ घोषणा गर। ३ तिमीले तिनीहरूलाई यसो भन्नू, ‘हे यहुदाका राजाहरू अनि यरुसलेमका बासिन्दाहरू हो! यहोवाको वचन सुन। सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ:
“‘“म यस ठाउँमा विपत्ति ल्याउनेछु। अनि यो घोषणा सुन्नेजति सबैको कान बज्नेछ। ४ किनभने तिनीहरूले मलाई त्यागेका छन्+ र यो ठाउँलाई मैले चिन्नै नसक्ने बनाएका छन्।+ तिनीहरूले यहाँ अरू देवताको निम्ति बलि चढाएका छन्, जसलाई न तिनीहरूले न तिनीहरूका पुर्खाहरूले न त यहुदाका राजाहरूले नै चिनेका थिए। साथै तिनीहरूले निर्दोष मानिसहरूको रगतले यो ठाउँ भरेका छन्।+ ५ आफ्ना छोराहरूलाई अग्निभेटीको रूपमा चढाउन तिनीहरूले बाआलको निम्ति अग्ला थानहरू* बनाएका छन्।+ मैले तिनीहरूलाई यसो गर्नू भनेर आज्ञा दिएकै थिइनँ। त्यस्तो कुरा मेरो मनमा समेत आएको थिएन।”’+
६ “‘यहोवा घोषणा गर्नुहुन्छ, “हेर, यस्तो दिन आउँदै छ, जब मानिसहरूले यस ठाउँलाई तोफेथ वा ‘हिन्नोमको छोराको बेँसी’ होइन बरु हत्या बेँसी भन्नेछन्।+ ७ यस ठाउँमा म यरुसलेम र यहुदाको योजना विफल तुल्याइदिनेछु। तिनीहरूलाई शत्रुहरूको तरबारले मर्न दिनेछु र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातमा सुम्पिदिनेछु। तिनीहरूको लासलाई आकाशका चराचुरुङ्गी अनि पृथ्वीका जनावरहरूका निम्ति आहारा बनाइदिनेछु।+ ८ म यो सहरको हालत यस्तो बनाइदिन्छु कि यो सहर भएर जाने जो कोही पनि यसको हालत देखेर डरले हेरेको हेऱ्यै हुनेछ र खिसी गर्दै सिटी बजाउनेछ।+ ९ तिनीहरूका शत्रुहरू अनि तिनीहरूको ज्यान लिन खोज्नेहरूले घेरा हाल्दा तिनीहरू आकुलव्याकुल हुनेछन् र म तिनीहरूलाई आफ्नै छोराछोरी अनि छिमेकीको मासु खान बाध्य पार्नेछु।”’+
१० “अनि तिमीसँगै जाने मानिसहरूको अगाडि त्यो माटोको भाँडो फुटाऊ ११ र तिनीहरूलाई यसो भन, ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “जसरी कुनै मानिसले माटोको भाँडोलाई जोड्नै नसकिनेगरि फुटाउँछ, यी मानिसहरू अनि यस सहरलाई म त्यसैगरि नाश गर्नेछु। तिनीहरूले तोफेथमा यति धेरै लास गाड्नेछन् कि त्यहाँ पाइला राख्ने ठाउँसमेत हुनेछैन।”’+
१२ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘म यो सहर अनि यहाँ बस्ने मानिसहरूको हालत तोफेथको जस्तै बनाइदिनेछु। १३ यरुसलेमका घरहरू अनि यहुदाका राजाहरूका महलहरू तोफेथजस्तै अशुद्ध हुनेछन्।+ हो, जुन-जुन घरका छतमा तिनीहरूले आकाशका सारा सेनाका लागि* बलि चढाए+ र अरू देवताहरूका लागि मद्यभेटी चढाए,+ ती सबै अशुद्ध हुनेछन्।’”
१४ यहोवाले भविष्यवाणी गर्न पठाउनुभएको ठाउँ तोफेथबाट फर्केपछि यर्मिया यहोवाको भवनको चोकमा गएर उभिए र सबै मानिसलाई यसो भने: १५ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘म यो सहर अनि यसका सबै इलाकामा मैले भनेका सबै विपत्ति ल्याउनेछु किनकि तिनीहरूले हठी हुँदै मेरो वचन पालन गर्न इन्कार गरे।’”+