गलाती
१ म पावल, न मानिसहरूको तर्फबाट न त कुनै मानिसद्वारा तर येसु ख्रिष्ट अनि परमेश्वर, हाम्रा बुबाद्वारा प्रेषित* नियुक्त भएको हुँ,+ जसले ख्रिष्टलाई मृत्युबाट ब्युँताउनुभयो। २ म अनि मसित हुने सबै भाइहरूको तर्फबाट गलातियाका मण्डलीहरूलाई:
३ परमेश्वर, हाम्रा बुबाबाट र प्रभु येसु ख्रिष्टबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्। ४ हाम्रा परमेश्वर अनि बुबाको इच्छाबमोजिम+ हामीलाई वर्तमान दुष्ट युगबाट*+ उद्धार गर्न सकियोस् भनेर हाम्रा पापहरूको निम्ति ख्रिष्टले आफैलाई अर्पण गर्नुभयो।+ ५ हाम्रा परमेश्वर अनि बुबाले सदासर्वदा महिमा पाऊन्। आमिन।
६ ख्रिष्टको असीम अनुग्रहद्वारा बोलाउनुहुने परमेश्वरबाट तर्केर* तिमीहरूले यति छिट्टै अर्कै किसिमको सुसमाचार ग्रहण गर्न थालेको देख्दा+ म छक्क पर्छु। ७ वास्तवमा अर्को सुसमाचारै छैन बरु केही मानिसले तिमीहरूलाई दुःख दिनुका+ साथै ख्रिष्टसित सम्बन्धित सुसमाचारलाई बङ्ग्याउन खोजिरहेका छन्। ८ तथापि हामीमध्ये कसैले वा स्वर्गबाट आएको दूतले समेत तिमीहरूलाई हामीले सुनाएको सुसमाचारभन्दा फरक अरू कुनै सुसमाचार सुनाउँछ भने ऊ श्रापित होस्। ९ हामीले पहिला पनि भनिसकेका छौँ अनि म फेरि भन्छु, तिमीहरूले स्विकारेको सुसमाचारभन्दा फरक अरू कुनै सुसमाचार कसैले सुनाउँछ भने ऊ श्रापित होस्।
१० अब म कसलाई मनाउने कोसिस गर्दै छु, मानिसहरूलाई कि परमेश्वरलाई? अथवा के म मानिसहरूलाई खुसी पार्न खोज्दै छु? यदि मैले अहिले पनि मानिसहरूलाई खुसी पारिरहेको भए त म ख्रिष्टको दास हुने थिइनँ। ११ ए भाइहरू हो, तिमीहरूले यो कुरा थाह पाएको म चाहन्छु, मैले तिमीहरूलाई सुनाएको सुसमाचार मानिसहरूबाट आएको होइन।+ १२ किनकि न त्यो मैले कुनै मानिसबाट पाएको हुँ न त कसैले मलाई सिकाएको हो तर येसु ख्रिष्टले मलाई प्रकट गर्नुभएको हो।
१३ पहिला यहुदी धर्म मान्दा+ म कस्तो व्यवहार गर्थेँ, तिमीहरूले पक्कै पनि सुनेका छौ कि कसरी मैले परमेश्वरको मण्डलीलाई गर्नुसम्म खेदो गर्थेँ अनि ध्वंस पार्थेँ।+ १४ अनि आफ्नै जातिका मेरा दौँतरीहरूले भन्दा मैले यहुदी धर्ममा धेरै प्रगति गर्दै थिएँ किनकि म आफ्ना पुर्खाहरूले बसालेका परम्पराहरू असाध्यै जोसिलो भएर पालन गर्थेँ।+ १५ तर यस संसारमा मेरो जन्म गराउनुहुने अनि ममाथि आफ्नो असीम अनुग्रह देखाउनुहुने परमेश्वरलाई+ जब यो असल लाग्यो कि १६ ममार्फत उहाँको छोरा प्रकट होऊन् ताकि अन्यजातिका मानिसहरूलाई मैले उहाँको छोराको सुसमाचार सुनाऊँ,+ तब म उत्तिखेरै कुनै मानिससित सरसल्लाह लिन गइनँ १७ न त म आफूभन्दा पहिला प्रेषित भइसकेकाहरूलाई भेट्न यरुसलेम नै उक्लेँ बरु म अरबी भूमितिर लागेँ र पछि फेरि दमिसक फर्केँ।+
१८ त्यसको तीन वर्षपछि केफासलाई*+ भेट्न म यरुसलेम उक्लेँ + र तिनीसित १५ दिन बसेँ। १९ तर मैले प्रभुको भाइ याकुबबाहेक+ अरू कुनै प्रेषितलाई देखिनँ। २० म जे लेख्दै छु, त्यो झूट होइन भन्ने कुराको साक्षी परमेश्वर हुनुहुन्छ।
२१ त्यसपछि म सिरिया अनि सिलिसियाका इलाकाहरूमा गएँ।+ २२ तर यहुदियाका ख्रिष्टियन मण्डलीहरूले पहिले मलाई देखेका थिएनन्। २३ तिनीहरूले यति मात्र सुनेका थिए: “पहिले हाम्रो खेदो गर्ने मानिसले+ अहिले यही विश्वासबारे सुसमाचार प्रचार गर्दै छ, जुन विश्वासलाई उसले पहिले ध्वंस पारेको थियो।”+ २४ त्यसैले मेरो कारणले गर्दा तिनीहरूले परमेश्वरको महिमा गर्न थाले।