पहिलो समुएल
१ एप्रैमको पहाडी इलाकाको रामाथैम-जोफिममा*+ एल्काना+ नाम गरेका एक जना मानिस बस्थे। तिनी एप्रैमका बासिन्दा थिए।+ तिनी यरोहामका छोरा, एलिहुका नाति, तोहुका पनाति र जुपका खनाति थिए। २ तिनका दुई जना पत्नी थिए; एउटीको नाम हन्ना र अर्कीको नाम पनिन्नाह थियो। पनिन्नाहका छोराछोरी थिए तर हन्नाका भने थिएनन्। ३ एल्काना सेनाहरूका यहोवाको उपासना गर्न अनि उहाँको निम्ति बलि चढाउन हरेक वर्ष आफ्नो सहरदेखि सिलोसम्म जान्थे।+ सिलोमा एलिका दुई जना छोरा होप्नि र पिनहास+ पुजारीको रूपमा यहोवा परमेश्वरको सेवा गर्थे।+
४ एकदिन एल्कानाले बलि चढाइसकेपछि त्यस बलिको केही भाग आफ्नी पत्नी पनिन्नाह र उनका सबै छोराछोरीलाई दिए।+ ५ अनि तिनले हन्नालाई चाहिँ विशेष भाग दिए किनभने तिनी हन्नालाई असाध्यै माया गर्थे। तर यहोवा परमेश्वरले हन्नालाई सन्तान भने दिनुभएको थिएन।* ६ त्यति मात्र होइन, हन्नाकी सौताले उनको दिनरात खिल्ली उडाएर उनलाई दुःख दिइरहन्थिन् किनभने यहोवा परमेश्वरले हन्नालाई सन्तान दिनुभएको थिएन। ७ हरेक वर्ष हन्ना यहोवा परमेश्वरको मन्दिरमा* जाँदा पनिन्नाहले हन्नालाई यसरी नै दुःख दिइरहन्थिन्।+ पनिन्नाहले हन्नाको असाध्यै खिल्ली उडाउने भएकीले उनी केही नखाई रोएर बसिरहन्थिन्। ८ तब उनका पति एल्कानाले भने: “हन्ना, तिमी किन रोइरहन्छ्यौ? किन केही खाँदिनौ? निराश नहोऊ, म छँदै छु नि। म तिम्रो लागि १० जना छोराभन्दा उत्तम छैनँ र?”
९ अनि तिनीहरूले सिलोमा खानपिन गरिसकेपछि हन्ना उठिन्। त्यतिबेला पुजारी एलि यहोवा परमेश्वरको मन्दिरको ढोका+ छेउमा कुर्सीमा बसिरहेका थिए। १० हन्ना अत्यन्तै लाचार भएकी थिइन्; त्यसैले धुरुधुरु रुँदै उनले यहोवा परमेश्वरलाई प्रार्थना गर्न थालिन्।+ ११ अनि उनले यस्तो भाकल गरिन्: “हे सेनाहरूका यहोवा, यदि तपाईँले आफ्नी दासीको पीडा बुझेर मतर्फ ध्यान दिनुभयो र मेरो बिन्ती सुनेर मलाई एउटा छोरा दिनुभयो भने+ हे यहोवा, म मेरो छोरा तपाईँलाई अर्पण गर्नेछु र उसले जिन्दगीभर तपाईँको सेवा गर्नेछ। अनि उसको कपाल कहिल्यै काटिनेछैन।”+
१२ हन्नाले निकै लामो समयसम्म यहोवा परमेश्वरलाई प्रार्थना गरिरहँदा एलिले उनलाई हेरिरहेका थिए। १३ हन्नाले मनमनै प्रार्थना गरिरहेकी थिइन्। त्यसैले उनको मुखबाट कुनै आवाज निस्किएको थिएन; उनको ओठ मात्र चलिरहेको थियो। यो देखेर एलिले उनी रक्सीले मात्तिएछिन् भन्ठाने। १४ एलिले उनलाई भने: “तिमी कतिन्जेल रक्सीको नशामा डुबिरहन्छ्यौ? अहिले जाऊ, नशाले छोडेपछि आऊ।” १५ तब हन्नाले जवाफ दिइन्: “होइन प्रभु, मैले कुनै रक्सी वा मद्य पिएकी छैनँ। म साह्रै निराश भएकी छु। त्यसैले यहोवा परमेश्वरसामु आफ्नो मनको बह पोखाउँदै छु।+ १६ तपाईँकी दासीलाई निकम्मा आइमाई नठान्नुहोस्। किनभने मेरो मन पीडाले छटपटाइरहेको छ; पीडा सहनै नसकेर म यहाँ प्रार्थना गर्दै छु।” १७ अनि एलिले जवाफ दिए: “ढुक्क भएर जाऊ! इस्राएलका परमेश्वरले तिम्रो मनोकामना पूरा गरिदेऊन्।”+ १८ यो सुनेपछि हन्नाले भनिन्: “तपाईँकी यस दासीले तपाईँको नजरमा निगाह पाइरहन सकोस्।” उनी त्यहाँबाट गइन् र केही खाइन्। त्यसपछि उनी फेरि उदास भइनन्।
१९ अनि बिहान सबेरै उठेर तिनीहरूले यहोवा परमेश्वरको उपासना गरे। त्यसपछि तिनीहरू आफ्नो सहर रामा फर्के।+ पछि एल्कानाले आफ्नी पत्नी हन्नासित यौनसम्बन्ध राखे। अनि यहोवा परमेश्वरले हन्नातर्फ आफ्नो ध्यान लगाउनुभयो।*+ २० त्यसको एक वर्षभित्रै* हन्ना गर्भवती भइन् र एउटा छोरा जन्माइन्। उनले छोराको नाम+ समुएल* राखिन् किनभने उनले भनिन्, “मैले उसलाई यहोवा परमेश्वरसित मागेकी हुँ।”
२१ केही समयपछि एल्काना आफ्नो सबै परिवारलाई लिएर यहोवा परमेश्वरलाई हरेक वर्ष चढाइने बलि+ र आफ्नो भाकलभेटी* चढाउन गए। २२ तर हन्ना भने गइनन्+ बरु उनले आफ्नो पतिलाई भनिन्: “बच्चालाई दूध छुटाउनेबित्तिकै म उसलाई लिएर जानेछु र यहोवा परमेश्वरलाई अर्पण गर्नेछु। अनि ऊ सधैँभरि त्यहीँ बस्नेछ।”+ २३ उनका पति एल्कानाले भने: “ठीकै छ, तिमीलाई जे सही लाग्छ, त्यही गर। उसलाई दूध नछुटाउन्जेल घरमै बस। तिमीले बोलेको कुरा पूरा गर्न यहोवा परमेश्वरले तिमीलाई मदत गरून्।” त्यसैले उनी घरमै बसिन् र बच्चालाई दूध नछुटाउन्जेल उसको स्याहारसुसार गरिन्।
२४ दूध छुटाउनेबित्तिकै उनी आफ्नो छोरालाई लिएर सिलो गइन्। अनि उनले तीन वर्ष पुगेको बहर, एक एपा* पीठो र एक घ्याम्पो दाखमद्य* पनि लगिन्।+ उनी आफ्नो सानो छोरालाई लिएर सिलोमा+ यहोवा परमेश्वरको वासस्थानमा गइन्। २५ त्यसपछि तिनीहरूले बहर काटे र आफ्नो सानो छोरालाई एलिकहाँ लगे। २६ अनि हन्नाले एलिलाई भनिन्: “प्रभु, म तपाईँको नाममा कसम खाएर भन्छु, म त्यही स्त्री हुँ, जसले यही ठाउँमा तपाईँको छेउमा उभिएर यहोवा परमेश्वरलाई प्रार्थना गरेकी थिई।+ २७ मैले यही छोराको लागि प्रार्थना गरेकी थिएँ र यहोवा परमेश्वरले मेरो मनोकामना पूरा गरिदिनुभयो।+ २८ त्यसैले अब म मेरो छोरा यहोवा परमेश्वरलाई अर्पण गर्दै छु।* बाँचुन्जेल ऊ यहोवाकै हुनेछ।”
अनि तिनले* यहोवा परमेश्वरलाई दण्डवत् गरे।