मत्तिका अनुसार
१७ छ दिनपछि येसुले पत्रुस, याकुब र तिनको भाइ युहन्नालाई एउटा अग्लो डाँडामा लैजानुभयो र त्यहाँ तिनीहरूबाहेक अरू कोही थिएन।+ २ तब तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो। उहाँको मुहार सूर्यजस्तै उज्यालो र लुगाचाहिँ ज्योतिजस्तै चहकिलो* भयो।+ ३ अनि हेर! तिनीहरूसामु मोसा र एलिया देखिए, जो उहाँसित कुराकानी गर्दै थिए। ४ तब पत्रुसले येसुलाई भने: “प्रभु, हामी यहाँ हुनु हाम्रो लागि खुसीको कुरा हो। यदि तपाईँ चाहनुहुन्छ भने म यहाँ तीन वटा पाल टाँग्नेछु, एउटा तपाईँको लागि, एउटा मोसाको लागि अनि एउटा एलियाको लागि।” ५ तिनी बोल्दै गर्दा हेर! चहकिलो बादलले तिनीहरूलाई ढाक्यो अनि बादलबाट यस्तो आवाज आयो: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु।+ तिमीहरूले उनको कुरा सुन।”+ ६ यो सुनेर चेलाहरू घोप्टो परे अनि असाध्यै डराए। ७ तब नजिकै गएर येसुले तिनीहरूलाई छुँदै भन्नुभयो: “नडराओ, उठ।” ८ तिनीहरूले आफ्नो शिर उठाएर हेर्दा त्यहाँ येसुबाहेक अरू कसैलाई देखेनन्। ९ अनि डाँडाबाट ओर्लँदै गर्दा येसुले तिनीहरूलाई यस्तो आज्ञा दिनुभयो: “मानिसको छोरालाई मृत्युबाट नब्युँताइएसम्म यस दर्शनबारे* कसैलाई नभन्नू।”+
१० तर चेलाहरूले उहाँलाई प्रश्न गरे: “त्यसोभए पहिला एलिया आउनु आवश्यक छ भनेर शास्त्रीहरू किन भन्छन् त?”+ ११ उहाँले जवाफ दिनुभयो: “एलिया पक्कै पहिला आउनेछन् र सबै कुरा पुनर्स्थापना गर्नेछन्।+ १२ तर म तिमीहरूलाई भन्छु, एलिया आइसकेका छन्। तैपनि तिनीहरूले उनलाई चिन्न सकेनन् र उनीसित मनपरी व्यवहार गरे।+ मानिसको छोराले पनि यसरी नै तिनीहरूको हातबाट दुःख भोग्नेछ।”+ १३ तब चेलाहरूले उहाँले बप्तिस्मा गराउने युहन्नाको विषयमा कुरा गरिरहनुभएको रहेछ भनेर बुझे।
१४ जब उहाँहरू भीडको नजिकै पुग्नुभयो,+ तब एक जना मानिस उहाँकहाँ आयो र घुँडा टेकेर यसो भन्न थाल्यो: १५ “प्रभु, मेरो छोरामाथि कृपा देखाउनुहोस् किनभने छारे रोग लागेर उसले साह्रै दुःख पाएको छ। ऊ कहिले आगोमा त कहिले पानीमा लड्छ।+ १६ मैले उसलाई तपाईँका चेलाहरूकहाँ लगेँ तर उनीहरूले निको पार्न सकेनन्।” १७ तब येसुले भन्नुभयो: “ए अविश्वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? उसलाई मकहाँ ल्याओ।” १८ अनि येसुले त्यस केटोमा बास गरेको प्रेतलाई* हप्काउनुभयो र त्यो प्रेत त्यस केटोबाट निस्क्यो अनि उत्तिखेरै ऊ निको भइहाल्यो।+ १९ त्यसपछि चेलाहरू सुटुक्क येसुकहाँ आएर सोधे: “हामीले किन त्यसलाई धपाउन सकेनौँ?” २० उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूसित विश्वास थोरै* भएकोले। किनकि म तिमीहरूलाई साँच्चै भन्छु, यदि तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्वास छ भने पनि तिमीहरूले यस डाँडालाई ‘यहाँबाट त्यहाँ सरिजा’ भन्यौ भने त्यो सरिजानेछ र तिमीहरूको लागि कुनै कुरा असम्भव हुनेछैन।”+ २१ *—
२२ गालिलमा भेला भएको बेला येसुले तिनीहरूलाई भन्नुभयो: “मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ+ २३ र तिनीहरूले उसलाई मार्नेछन् अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।”+ यो सुनेर तिनीहरू अत्यन्तै दुःखी भए।
२४ उहाँहरू कफर्नहुममा पुगेपछि मन्दिरको कर* उठाउने मानिसहरू पत्रुसकहाँ आएर सोधे: “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्नुहुन्न?”+ २५ तिनले भने: “तिर्नुहुन्छ।” तर जब तिनी घरभित्र पसे, तब तिनले केही भन्नुअघि येसुले तिनलाई सोध्नुभयो: “तिमीलाई कस्तो लाग्छ सिमोन? पृथ्वीका राजाहरूले राजस्व वा कर कसबाट उठाउँछन्? आफ्ना छोराहरूबाट कि पराईबाट?” २६ तिनले भने, “पराईबाट।” तब येसुले तिनलाई भन्नुभयो: “उसोभए छोराहरूले त कर तिर्नु नपर्ने रहेछ। २७ तर हामीले गर्दा तिनीहरूलाई ठेस नलागोस्।+ त्यसैले तिमी समुद्रमा जाऊ र बल्छी हान अनि बल्छीमा परेको पहिलो माछा लेऊ। तिमीले त्यसको मुख खोल्दा चाँदीको एउटा सिक्का* भेट्टाउनेछौ। त्यो लिएर मेरो र तिम्रो तर्फबाट तिनीहरूलाई तिरिदेऊ।”