पहिलो इतिहास
११ केही समयपछि सबै इस्राएली हेब्रोनमा दाउदकहाँ भेला भए+ र भने: “हेर्नुहोस्! तपाईँ र हामीबीच रगतको नाता छ।*+ २ पहिला साउल राजा हुँदा तपाईँले नै लडाइँमा इस्राएलीहरूको नेतृत्व लिनुहुन्थ्यो।+ अनि यहोवा तपाईँका परमेश्वरले तपाईँलाई भन्नुभएको थियो: ‘तिमी मेरा प्रजा इस्राएलीहरूको गोठालो हुनेछौ; तिमी तिनीहरूको अगुवा हुनेछौ।’”+ ३ त्यसैले इस्राएलका सबै नाइके हेब्रोनमा राजा दाउदकहाँ आए र त्यहाँ राजाले तिनीहरूसित यहोवा परमेश्वरसामु करार गरे। अनि यहोवाले समुएलमार्फत भन्नुभएझैँ + तिनीहरूले दाउदलाई इस्राएलको राजा अभिषेक गरे।+
४ पछि दाउद र सबै इस्राएली यरुसलेम अर्थात् यबुसतर्फ+ लागे। त्यहाँ यबुसीहरू+ बसोबास गर्थे। ५ ती यबुसीहरूले दाउदको खिल्ली उडाउँदै यसो भने: “तिमी यहाँ कहिल्यै छिर्न सक्नेछैनौ!”+ तर दाउदले सियोनको गढी कब्जा गरे,+ जुन अहिले दाउदनगर भनेर चिनिन्छ।+ ६ दाउदले यसो भने: “जसले यबुसीहरूलाई सबैभन्दा पहिला आक्रमण गर्छ, ऊ नै सेनाको कप्तान हुनेछ।” तब जेरुयाहका छोरा योआब+ सबैभन्दा पहिला आक्रमण गर्न गए र तिनी नै कप्तान बने। ७ त्यसपछि दाउद त्यस गढीमा बस्न थाले। त्यसैले तिनीहरूले त्यसलाई दाउदनगर भन्ने नाम दिए। ८ त्यसपछि दाउदले त्यो सहर बनाउन थाले। तिनले ‘ढिस्को’-मा* र त्यसवरपरका ठाउँहरूमा पर्खालहरू र घरहरू बनाउन थाले। अनि योआबले चाहिँ सहरका बाँकी ठाउँहरू पुनर्निर्माण गरे। ९ यसरी दाउद झन्झन् शक्तिशाली हुँदै गए+ र सेनाहरूका यहोवाले तिनलाई साथ दिइरहनुभयो।
१० दाउदका वीर योद्धाहरूका नाइकेहरू यी थिए, जसले सबै इस्राएलीसित मिलेर दाउदलाई पूरा साथ दिए। अनि यहोवाले इस्राएलसित वाचा गर्नुभएझैँ तिनीहरूले दाउदलाई राजा बनाए।+ ११ दाउदका वीर योद्धाहरू यी थिए: यासोबाम,+ जो एक हाक्मोनिका छोरा थिए। तिनी तीन जना शूरवीर योद्धामध्ये प्रमुख थिए।+ एकपटक तिनले आफ्नो भालाले ३०० जनालाई मारेका थिए।+ १२ ती तीन जना शूरवीर योद्धामध्ये अर्काचाहिँ अहोही+ दोदोका छोरा एलियाजार थिए।+ १३ एक पटकको कुरा हो, तिनी दाउदसँगै पास-दम्मिममा थिए,+ जहाँ पलिस्तियालीहरू लडाइँ गर्न जम्मा भएका थिए। त्यहाँ जौको खेत थियो। त्यसबेला मानिसहरू पलिस्तियालीहरूसित डराएर भागे। १४ तर तिनी भने खेतको बीचमा खडा भए र त्यस खेतको रक्षा गरे। तिनले पलिस्तियालीहरूलाई प्रहार गरिरहे। त्यसैले यहोवा परमेश्वरले त्यो दिन इस्राएलीहरूलाई ठूलो जित हासिल गर्न मदत गर्नुभयो।*+
१५ दाउदको सेनाका ३० जना नाइकेमध्ये तीन जना चट्टानमा, अदुल्लामको गुफामा दाउदकहाँ गए।+ त्यसबेला पलिस्तियाली सेना रेफाई बेँसीमा छाउनी हालेर बसेको थियो।+ १६ दाउदचाहिँ आफ्नो लुक्ने ठाउँमा थिए र पलिस्तियाली सेनाको एउटा टुकडी बेतलेहेममा थियो। १७ तब दाउदले यस्तो इच्छा व्यक्त गरे: “बेतलेहेमको मूलढोकानजिकैको इनारको पानी खान पाए हुन्थ्यो!”+ १८ यो सुनेर दाउदका ती तीन जना योद्धा पलिस्तियालीहरूको छाउनी हुँदै गए र बेतलेहेमको मूलढोकानजिकैको इनारबाट पानी उघाएर दाउदकहाँ ल्याए। तर तिनले त्यो पानी पिउन मानेनन्। तिनले त्यसलाई यहोवा परमेश्वरसामु खन्याइदिए। १९ तिनले भने: “यो पानी पिउने कुरा म सोच्न समेत सक्दिनँ! यसो गर्नु परमेश्वरको नजरमा असाध्यै गलत हो। आफ्नो ज्यानको खतरा मोलेका यी मानिसहरूको रगत म कसरी पिउन सक्छु र?+ किनकि यिनीहरूले आफ्नो ज्यानको खतरा मोलेर यो ल्याए।” त्यसैले तिनले त्यो पानी पिउन मानेनन्। दाउदका तीन जना शूरवीर योद्धाले गरेका कामहरू यी नै हुन्।
२० योआबका+ दाइ अबिसै+ अरू तीन जना योद्धाका कप्तान बने। एकपटक तिनले आफ्नो भालाले ३०० जनालाई मारेका थिए। तिनले ती तीन जना शूरवीर योद्धाले जस्तै नाम कमाएका थिए।+ २१ अरू तीन जना योद्धामध्ये तिनले नै सबैभन्दा धेरै नाम कमाएका थिए र तिनी उनीहरूका कप्तान थिए। तर तिनी सुरुका तीन जना शूरवीर योद्धाको बराबरीमा पुग्न सकेनन्।
२२ यहोयादाका छोरा बेनायाह+ वीर पुरुष थिए। तिनले कब्जिलमा थुप्रै वीरतापूर्ण काम गरेका थिए।+ तिनले मोआबमा बस्ने अरिएलका दुई जना छोरालाई मारेका थिए अनि हिउँ परेको दिनमा एउटा खाडलमा छिरेर सिंहलाई मारेका थिए।+ २३ तिनले पाँच हात* अग्लो अजङ्गको मिश्रीलाई पनि मारेका थिए।+ त्यस मिश्रीसित कपडा बुन्ने तानको डन्डाजत्रै ठूलो भाला थियो+ तर तिनी भने एउटा लौरो लिएर त्यससित भिड्न गए। तिनले त्यस मिश्रीको हातबाट भाला खोसेर त्यसकै भालाले त्यसलाई मारिदिए।+ २४ यहोयादाका छोरा बेनायाहले यस्ता कामहरू गरेका थिए र तिनले तीन जना वीर योद्धाले जस्तै नाम कमाएका थिए। २५ हुनत तिनले ती तीस जना योद्धाले भन्दा धेरै नाम कमाएका थिए तर तिनी सुरुका तीन जना शूरवीर योद्धाको बराबरीमा पुग्न सकेनन्।+ तैपनि दाउदले तिनलाई आफ्नो अङ्गरक्षकका कप्तान बनाए।
२६ सेनामा भएका वीर योद्धाहरू यी थिए: योआबका भाइ* आसाहेल,+ बेतलेहेममा बस्ने दोदोका छोरा एल्हानान,+ २७ हारोरमा बस्ने साम्मोथ, पेलोनी हेलेस, २८ तेकोमा बस्ने इक्केसका छोरा इरा,+ अनातोतमा बस्ने अबिएजेर,+ २९ हुसाही सिब्बकै,+ अहोही इलै, ३० नेतोफाहमा बस्ने महरै,+ नेतोफाहमा बस्ने बानाहका छोरा हेलेद,+ ३१ बिन्यामिनीहरूको इलाकाको गिबाहमा+ बस्ने रिबैका छोरा इथै, पिराथोनमा बस्ने बेनायाह, ३२ गासका+ वादीहरूमा* बस्ने हुरै, अराबाहमा बस्ने अबिएल, ३३ बाहुरिममा बस्ने अज्मावेथ, सालबोनी एलियाबा, ३४ गिजोनी हासेमका छोराहरू, हारारी सागिका छोरा जोनाथन, ३५ हारारी साकारका छोरा अहिआम, उरका छोरा एलिपाल, ३६ मेकेराथी हेपेर, पेलोनी अहियाह, ३७ कर्मेली हेज्रो, एज्बैका छोरा नारै, ३८ नातानका भाइ योएल, हाग्रिका छोरा मिभार, ३९ अम्मोनी जिलेक, बेरोथी नहरै, जो जेरुयाहका छोरा योआबको हतियार बोक्ने सिपाही थिए; ४० इथ्री इरा, इथ्री गारेब, ४१ हित्ती उरियाह,+ अहलैका छोरा जबाद, ४२ रुबेनको कुलका सिजाका छोरा अदिना, जो रुबेन कुलका नाइके थिए अनि तिनीसँग भएका ३० जना मानिस; ४३ माकाहका छोरा हानान, मिथ्नी योसापात, ४४ अस्तारोथमा बस्ने उज्जिया, अरोएरमा बस्ने होतामका छोराहरू सामा र यइएल, ४५ सिम्रिको छोरा यदिएल र तिनका भाइ तिजी योहा; ४६ महाबी एलिएल, एल्नामका छोराहरू यरिबै र योसब्याह, मोआबी इथ्माह; ४७ एलिएल, ओबेद र मेजोबी यासिएल।