यर्मिया
२१ यहोवाको वचन यर्मियाकहाँ आयो, जब राजा सिदकियाहले+ तिनीकहाँ मल्कियाहका छोरा पासुहर+ र मासेयाहका छोरा पुजारी सपन्याहलाई+ यस्तो बिन्ती गर्न पठाए: २ “बिन्ती! हाम्रो तर्फबाट यहोवा परमेश्वरसित कुरा गरिदिनुहोस्। बेबिलोनका राजा नबुकद्नेजर* हामीसित युद्ध लड्न आउँदै छन्।+ यहोवा परमेश्वरले उहिले-उहिले जस्तै अहिले पनि हाम्रो लागि कुनै आश्चर्यजनक काम गरिदिनुहोला कि? अनि राजा नबुकद्नेजर फर्केर जालान् कि?”+
३ यर्मियाले तिनीहरूलाई यसो भने: “गएर सिदकियाहलाई यसो भन, ४ ‘इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: “पर्खालबाहिर छाउनी हालेर बसेका बेबिलोनका राजा र कल्दियालीहरूसित लड्न तिमीहरू जुन हातहतियार प्रयोग गर्छौ, म त्यही हातहतियार तिमीहरूविरुद्ध चलाउनेछु।+ म तिनीहरूलाई यस सहरको बीचमा जम्मा गर्नेछु। ५ आफ्नो शक्तिशाली हात पसारेर म आफै तिमीहरूसित लड्नेछु।+ म आफ्नो रिस र भयङ्कर क्रोधमा तिमीहरूविरुद्ध जाइलाग्नेछु।+ ६ चाहे मानिस होस् या जनावर, यस सहरमा बस्ने सबैलाई म प्रहार गर्नेछु। तिनीहरू घातक महामारीले* मर्नेछन्।”’+
७ “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “त्यसपछि म यहुदाका राजा सिदकियाह, तिनका नोकरचाकर र यस सहरका मानिसहरूलाई अर्थात् महामारी, तरबार अनि अनिकालबाट बचेका सबैलाई बेबिलोनका राजा नबुकद्नेजरको हातमा सुम्पिदिनेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुहरूको, तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातमा दिनेछु।+ तिनले तिनीहरूलाई तरबारले काट्नेछन्; तिनीहरूलाई रतीभर दयामाया देखाउनेछैनन् न त करुणा नै देखाउनेछन्।”’+
८ “यी मानिसहरूलाई तिमीले यसो भन्नू, ‘यहोवा यसो भन्नुहुन्छ: “हेर, मैले तिमीहरूसामु दुई वटा बाटो राखिदिएको छु; एउटा जीवनको र अर्को मृत्युको। ९ तिमीहरूमध्ये जो यस सहरमा बसिरहन्छ, ऊ तरबार, अनिकाल र महामारीले मर्नेछ। तर जसले सहरबाहिर गएर तिमीहरूलाई घेरा हालेर बसिरहेका कल्दियालीहरूसामु आत्मसमर्पण गर्छ, ऊचाहिँ बाँच्नेछ र उसको ज्यान उसको निम्ति लुटको मालसरह हुनेछ।”’*+
१० “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “यस सहरको भलाइ गर्न होइन बरु यसमाथि विपत्ति ल्याउन म यसतिर फर्केको छु।+ यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ+ र तिनले यसलाई आगोले भस्म पार्नेछन्।”+
११ “‘यहुदाका राजाको घरानालाई यसो भन्नू: यहोवाको वचन सुन। १२ हे दाउदको घराना, यहोवा यसो भन्नुहुन्छ:
“हरेक बिहान न्याय कायम गर
अनि धोकेबाजहरूको हातबाट ठगिएकाहरूको उद्धार गर।+
नत्र त तिमीहरूको दुष्कर्मले गर्दा+
मेरो क्रोध तिमीहरूविरुद्ध आगोझैँ दन्कनेछ+
र कसैले त्यसलाई निभाउन सक्नेछैन।”’
१३ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘हे बेँसीका बासिन्दा,
समतल जमिनको चट्टान, म तिमीहरूविरुद्ध उठेको छु।
तिमीहरू यसो भन्छौ: “हामीलाई आक्रमण गर्न को आउला र?
हाम्रा घरहरूलाई कसले कब्जा गर्ला र?”
१४ तर म तिमीहरूको कामबमोजिम
तिमीहरूको लेखा लिनेछु।+
म तिमीहरूको जङ्गलमा डढेलो लगाइदिनेछु
र त्यसले तिमीहरूसित भएका सबै कुरा भस्म पार्नेछ,’+ यहोवा घोषणा गर्नुहुन्छ।”