प्रस्थान
१५ तब मोसा र इस्राएलीहरूले यस्तो गीत गाउँदै यहोवा परमेश्वरको प्रशंसा गरे:+
“म यहोवाको गुणगान गाउँछु, उहाँले शानदार जित हासिल गर्नुभएको छ।+
घोडा र त्यसमा सवार हुनेलाई उहाँले समुद्रमा हुर्ऱ्याउनुभएको छ।+
२ याह* मेरो बल, मेरो शक्ति हुनुहुन्छ; उहाँ नै मेरो उद्धारक हुनुहुन्छ।+
उहाँ मेरो परमेश्वर हुनुहुन्छ, म उहाँको प्रशंसा गर्छु;+ उहाँ मेरो पुर्खाका परमेश्वर हुनुहुन्छ,+ म उहाँको जयजयकार गाउँछु।+
३ यहोवा वीर योद्धा हुनुहुन्छ।+ यहोवा हो उहाँको नाम।+
४ उहाँले फारोका रथहरू अनि उनको फौजलाई समुद्रमा फाल्नुभएको छ,+
उनका नामी योद्धाहरूलाई उहाँले लाल समुद्रमा डुबाउनुभएको छ।+
५ उर्लँदो छालले उनीहरूलाई छोप्यो; ढुङ्गा डुबेजस्तै उनीहरू समुद्रको गहिराइमा डुबे।+
६ हे यहोवा, तपाईँको दाहिने बाहुली कत्ति शक्तिशाली;+
हे यहोवा, तपाईँको दाहिने बाहुलीले शत्रुहरूलाई सखाप पार्छ।
७ तपाईँ महान् हुनुहुन्छ, आफूविरुद्ध खडा हुनेहरूलाई परास्त गर्नुहुन्छ;+
तपाईँको रिसको आगोमा उनीहरू परालझैँ स्वाहा हुन्छन्।
८ तपाईँको नाकको सासले गर्दा पानी एक ठाउँमा थुप्रियो;
ती पर्खालहरूझैँ खडा भए;
उर्लेर आएको पानी समुद्रको बीचमै जम्यो।
९ शत्रुले फुर्ती गऱ्यो: ‘म लखेट्नेछु र भेट्टाउनेछु!
म धीत नमरेसम्म लुटका माल बाँड्नेछु!
म आफ्नो तरबार थुत्नेछु र तिनीहरूलाई सर्वनाश गर्नेछु!’+
१० तर तपाईँले सास फुक्नुभयो र समुद्रले उनीहरूलाई निल्यो;+
विशाल समुद्रमा उनीहरू गह्रौँ धातुजस्तै डुबे।
११ हे यहोवा, तपाईँजस्तो ईश्वर अरू को छ र?+
तपाईँजस्तो महापवित्र अरू को छ र?+
तपाईँजस्तो भययोग्य र प्रशंसायोग्य अरू कोही छैन; तपाईँ अचम्मका कामहरू गर्नुहुन्छ।+
१२ तपाईँले आफ्नो दाहिने बाहुली पसार्नुभयो र पृथ्वीले उनीहरूलाई निल्यो।+
१३ आफ्नो अटल प्रेमले* गर्दा तपाईँले आफूले उद्धार गरेका मानिसहरूलाई डोऱ्याउनुभयो;+
आफ्नो शक्ति चलाएर तपाईँले तिनीहरूलाई पवित्र ठाउँसम्म डोऱ्याउनुहुनेछ।
१४ मानिसहरूले सुन्नेछन्+ र तिनीहरू काँप्नेछन्;
पलिस्तियाका बासिन्दाहरू आकुलव्याकुल हुनेछन्।
कनानका सबै बासिन्दा हताश हुनेछन्।+
१६ उनीहरूलाई डर र त्रासले छोप्नेछ।+
तपाईँको बाहुबलले गर्दा उनीहरू तबसम्म ढुङ्गाजस्तै अचल हुनेछन्,
जबसम्म हे यहोवा, तपाईँका मानिसहरू उनीहरूको इलाकाबाट निस्कँदैनन्,
तपाईँले उद्धार गर्नुभएका मानिसहरू+ उनीहरूको इलाकाबाट उम्कँदैनन्।+
१७ तपाईँले आफ्ना जनहरूलाई ल्याउनुहुनेछ र तपाईँको निजी सम्पत्ति आफ्नो डाँडामा रोप्नुहुनेछ,+
हे यहोवा, त्यही ठाउँ जसलाई तपाईँले आफ्नो वासस्थान बनाउनुभएको छ;
हे यहोवा, त्यही पवित्र स्थान* जुन तपाईँले आफ्ना हातले खडा गर्नुभएको छ।
१८ यहोवाले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।+
१९ फारोका घोडा, रथ अनि घोडचढीहरूले पानीमा पाइला टेक्दा+
यहोवाले समुद्रको पानी फर्काउनुभयो र उनीहरू सबै डुबे।+
तर इस्राएलीहरू भने समुद्रको बीचको सुक्खा जमिनबाट हिँडे।”+
२० हारुनकी दिदी, भविष्यवक्ता मरियमले खैँजडी लिइन् अनि अरू सबै स्त्री पनि खैँजडी बजाउँदै र नाच्दै मरियमको पछिपछि लागे। २१ ती पुरुषहरूले गाएको सुनेर मरियमले प्रतिउत्तरमा यसरी गाउन थालिन्:
“यहोवाको स्तुतिगान गाऔँ किनभने उहाँ विजयी हुनुभएको छ।+
घोडा र त्यसमा सवार हुनेलाई उहाँले समुद्रमा हुर्ऱ्याउनुभएको छ।”+
२२ मोसाले इस्राएलीहरूलाई लाल समुद्रबाट डोऱ्याएर सुरको निर्जनभूमितिर लगे। निर्जनभूमिमा तीन दिनसम्म यात्रा गर्दा पनि तिनीहरूले पानी भेट्टाएनन्। २३ तिनीहरू मारामा* पुगे।+ तर त्यहाँको पानी तीतो भएकोले तिनीहरूले पिउन सकेनन्। त्यसैले मोसाले त्यस ठाउँको नाम मारा राखे। २४ मानिसहरू मोसासित यसरी गनगन गर्न थाले:+ “अब हामीले के पिउने?” २५ त्यसपछि मोसाले यहोवा परमेश्वरलाई पुकारे।+ अनि उहाँले तिनलाई एउटा बोट देखाउनुभयो। तिनले त्यसलाई पानीमा फाले र पानी मीठो भयो।
यहोवा परमेश्वरले तिनीहरूलाई एउटा आज्ञा दिनुभयो र एउटा नियम तयार पारेर त्यहीँ तिनीहरूको परीक्षा लिनुभयो।+ २६ उहाँले भन्नुभयो: “यदि तिमीहरूले यहोवा परमेश्वरको कुरा ध्यान दिएर सुन्यौ, उहाँको नजरमा जे ठीक छ, त्यही गऱ्यौ, उहाँका आज्ञा पालन गऱ्यौ र उहाँले दिनुभएका नियमहरू मान्यौ भने+ मिश्रीहरूमाथि मैले ल्याएको कुनै पनि महामारी म तिमीहरूमाथि ल्याउनेछैनँ।+ म यहोवा तिमीहरूलाई निको पार्नेछु।”+
२७ त्यसपछि तिनीहरू एलिम आइपुगे। त्यहाँ पानीका १२ वटा मूल र खजुरका ७० वटा बोट थिए। तिनीहरूले त्यहीँ पानी भएको ठाउँमा पाल टाँगे।