यहोसु
२ त्यसपछि नुनका छोरा यहोसुले सित्तिमबाट+ सुटुक्क दुई जना मानिसलाई जासुसी गर्न पठाए। यहोसुले तिनीहरूलाई भने: “जाओ र त्यो देश, खासगरि यरिहोबारे सबै कुरा बुझेर आओ।” ती दुई जना जासुस गए अनि राहाब+ नाम गरेकी वेश्याको घरमा पुगे र तिनीहरू त्यहीँ बसे। २ तब यरिहोका राजाकहाँ यस्तो खबर पुऱ्याइयो: “महाराज! हाम्रो देशको जासुसी गर्न इस्राएली पुरुषहरू आज साँझ यहाँ आएका छन्।” ३ यो सुनेपछि यरिहोका राजाले राहाबकहाँ यस्तो खबर पठाए: “तेरो घरमा बसिरहेका ती पुरुषहरूलाई बाहिर निकाल् किनकि तिनीहरू हाम्रो पूरै देशको जासुसी गर्न आएका हुन्।”
४ तर राहाबले ती दुई जना पुरुषलाई लुकाइसकेकी थिइन्। तिनले भनिन्: “हो, ती मानिसहरू मकहाँ आएका थिए तर तिनीहरू कहाँबाट आएका हुन्, मलाई थाह भएन। ५ अँध्यारो भएपछि सहरको ढोका बन्द हुनुअघि नै तिनीहरू यहाँबाट निस्के। त्यसपछि तिनीहरू कहाँ गए, मलाई थाह छैन। तपाईँहरू तुरुन्तै खोज्न जानुभयो भने तिनीहरूलाई भेट्टाउनुहुनेछ।” ६ (वास्तवमा राहाबले ती जासुसहरूलाई छतमा लगेर आलसका डाँठहरूमुनि लुकाएकी थिइन्।) ७ त्यसैले राजाका मानिसहरू ती जासुसहरूलाई खोज्न यर्दन नदीको जँघारतिर* दौडेर गए+ अनि राजाका मानिसहरू सहरबाहिर निस्केपछि सहरका ढोकाहरू बन्द गरियो।
८ अनि जासुसहरू निदाउनुअघि राहाब तिनीहरूलाई भेट्न छतमा गइन्। ९ तिनले ती जासुसहरूलाई भनिन्: “यहोवा परमेश्वरले तपाईँहरूलाई यो देश दिनुहुनेछ भनेर मलाई थाह छ।+ तपाईँहरूले गर्दा हामी सबै डराएका छौँ + र यहाँका सबै मानिस आत्तिएका छन्।+ १० किनभने तपाईँहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा यहोवा परमेश्वरले कसरी तपाईँहरूकै अगाडि लाल समुद्रको पानी सुकाउनुभयो+ अनि यर्दनपारि* तपाईँहरूले एमोरीहरूका दुई जना राजा सिहोन+ र ओगलाई+ कसरी मार्नुभयो, त्यो हामीले सुनेका छौँ। ११ त्यो सुनेर हामी असाध्यै डरायौँ। तपाईँहरूले गर्दा हामी सबैको हौसला टुटिसकेको छ किनभने तपाईँहरूका परमेश्वर यहोवा नै स्वर्ग र पृथ्वीको ईश्वर हुनुहुन्छ।+ १२ मैले तपाईँहरूलाई दया* देखाएँ। त्यसैले तपाईँहरूले पनि मेरो बुबाको घरानालाई दया* देखाउनुहुनेछ भनेर यहोवा परमेश्वरको नाममा कृपया कसम खानुहोस् अनि तपाईँहरूले आफ्नो वचन पूरा गर्नुहुनेछ भनेर मलाई एउटा भरपर्दो चिन्ह दिनुहोस्। १३ तपाईँहरूले मेरा बुबा, आमा, दाजुभाइ, दिदीबहिनी र तिनीहरूको घरमा भएका सबैलाई जोगाइदिनुहोस्; हामीलाई मृत्युको मुखमा पर्न नदिनुहोस्।”+
१४ यो सुनेपछि ती जासुसहरूले राहाबलाई भने: “यदि हामीले आफ्नो वाचा पूरा गरेनौँ भने तिम्रो सट्टा हाम्रै ज्यान जाओस्! हाम्रो विषयमा तिमीले कसैलाई भनिनौ भने यहोवा परमेश्वरले हामीलाई यो देश दिनुहुँदा तिमीलाई दया* देखाउनेछौँ र हामीले दिएको वचन पूरा गर्नेछौँ।” १५ त्यसपछि राहाबले झ्यालमा डोरी बाँधेर तिनीहरूलाई त्यहीँबाट तल ओरालिदिइन् किनभने तिनको घर सहरको पर्खालमै जोडिएको थियो। वास्तवमा तिनको घर सहरको पर्खालमाथि बनाइएको थियो।+ १६ अनि तिनले ती जासुसहरूलाई भनिन्: “तपाईँहरू भागेर पहाडी इलाकातिर जानुहोस् र त्यहाँ तीन दिनसम्म लुकेर बस्नुहोस् नत्र त राजाका मानिसहरूले तपाईँहरूलाई भेट्टाउनेछन्। अनि ती मानिसहरू सहरमा फर्किसकेपछि तपाईँहरू आफ्नो बाटो लाग्नुहोस्।”
१७ ती जासुसहरूले राहाबलाई भने: “तिमीले हामीलाई जे शपथ खान लगाएकी छ्यौ, त्यो हामी अवश्य पूरा गर्नेछौँ र हामीलाई कुनै दोष लाग्नेछैन।+ १८ तर जुन झ्यालबाट तिमीले हामीलाई तल ओराल्यौ, हामी फेरि आउँदा त्यही झ्यालमा तिमीले यो रातो डोरी बाँधिराख्नुपर्छ। अनि तिम्रा बुबा, आमा, दाजुभाइ र तिम्रो बुबाको घरानाका सबैलाई तिमीले यहीँ भेला गर्नुपर्छ।+ १९ यदि कोही तिम्रो घरबाट निस्केर बाहिर खुला ठाउँमा गयो भने उसको रगतको दोष उसकै थाप्लोमा पर्नेछ र हामी त्यसको दोषबाट मुक्त हुनेछौँ। तर तिम्रो घरभित्र हुनेहरूमध्ये कसैलाई हानि पुग्यो भने उसको रगतको दोष हाम्रो थाप्लोमा परोस्। २० अनि यदि तिमीले हाम्रो विषयमा कसैलाई बतायौ भने+ तिमीले हामीलाई जुन शपथ खान लगाएकी छ्यौ, त्यसबाट हामी मुक्त हुनेछौँ र हामीलाई कुनै दोष लाग्नेछैन।” २१ तब राहाबले तिनीहरूलाई भनिन्: “तपाईँहरूले भनेअनुसारै होस्।”
यति भनेर तिनले ती जासुसहरूलाई पठाइदिइन् अनि तिनीहरू आफ्नो बाटो लागे। त्यसपछि राहाबले आफ्नो घरको झ्यालमा त्यो रातो डोरी बाँधिन्। २२ अनि तिनीहरू त्यहाँबाट पहाडी इलाकातिर गए र तिनीहरूलाई खोज्न आएका मानिसहरू फर्केर नजाउन्जेल तीन दिनसम्म त्यहीँ बसे। राजाका मानिसहरूले तिनीहरूलाई त्यहाँका सबै बाटोमा गएर धुइँधुइँती खोजे तर भेट्टाउन सकेनन्। २३ तब ती दुई जना जासुस पहाडी इलाकाबाट तल ओर्लेर नदी तरे अनि नुनका छोरा यहोसुकहाँ गए। जासुसी गर्न जाँदा के-के भयो भनी तिनीहरूले यहोसुलाई सबै कुरा बताए। २४ अनि तिनीहरूले यहोसुलाई भने: “यहोवा परमेश्वरले पूरै देश हामीलाई सुम्पनुभएको छ।+ वास्तवमा त्यस देशका सबै मानिस हामीले गर्दा आत्तिएका छन्।”+