भजनसङ्ग्रह
निर्देशकलाई। दाउदले रचेको भजन।
६४ हे परमेश्वर, मैले बिन्ती गर्दा मेरो स्वर सुन्नुहोस्।+
शत्रुहरूको खतरनाक हमलाबाट मेरो जीवन बचाउनुहोस्।
३ तिनीहरू आफ्नो जिब्रो तरबारजस्तै धारिलो बनाउँछन्;
काँड ताकेझैँ तिनीहरू क्रूर शब्दहरूले ताक्छन्
४ र ढुकेर निर्दोषलाई हान्छन्;
कुनै डरविना तिनीहरू उसलाई अचानक हान्छन्।
५ तिनीहरू आफ्ना दुष्ट विचारहरूमै अडिग रहन्छन्;*
तिनीहरू आफूले बिछ्याएका पासोहरू कसरी लुकाउने भनेर सल्लाह गर्छन्।
अनि तिनीहरू भन्छन्: “ती कसले देख्छ र?”+
६ खराब काम गर्न तिनीहरू नयाँ-नयाँ तरिका सोच्छन्;
धूर्त चाल चल्न तिनीहरू गुप्तमा योजनाहरू बुन्छन्;+
तिनीहरूको मनको विचार बुझ्नै सकिँदैन।
७ तर परमेश्वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ;+
अचानक तिनीहरू काँडले घाइते हुनेछन्।
८ आफ्नै जिब्रोले गर्दा तिनीहरूको पतन हुनेछ;+
तिनीहरूलाई हेर्नेहरू सबैले मुन्टो हल्लाउनेछन्।
९ अनि सबै मानिस डराउनेछन्;
परमेश्वरले जे गर्नुभयो, तिनीहरूले त्यसको घोषणा गर्नेछन्
अनि उहाँका कामहरू तिनीहरूले बुझ्नेछन्।+