लेवी
४ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: २ “इस्राएलीहरूलाई यसो भन्नू, ‘यदि कसैले यहोवाले नगर्नू भन्नुभएको कुनै काम गरेर अनजानमा पाप गऱ्यो भने+ यसो गर्नू:
३ “‘यदि अभिषिक्त पुजारीको+ पापले गर्दा+ सारा इस्राएलीहरू दोषी भए भने तिनले आफूले गरेको पापको निम्ति पापभेटीको* रूपमा यहोवा परमेश्वरलाई निष्खोट बहर चढाऊन्।+ ४ तिनले त्यो बहर भेट हुने पालको* अगाडि यहोवा परमेश्वरसामु ल्याऊन्,+ त्यसको टाउकोमा हात राखून् र त्यसलाई यहोवा परमेश्वरसामु काटून्।+ ५ अनि अभिषिक्त पुजारीले+ बहरको अलिकति रगत भेट हुने पालभित्र ल्याऊन्। ६ त्यसपछि पुजारीले रगतमा औँला चोपेर+ पवित्र ठाउँको पर्दाअगाडि यहोवा परमेश्वरसामु सात पल्ट छर्कून्।+ ७ पुजारीले भेट हुने पालभित्र यहोवा परमेश्वरसामु भएको सुगन्धित धूप बाल्ने वेदीका सिङहरूमा अलिकति रगत लगाइदेऊन्;+ बाँकी रगतचाहिँ भेट हुने पालको प्रवेशद्वारनजिकै भएको अग्निभेटी चढाउने वेदीको मुनिपट्टि खन्याइदेऊन्।+
८ “‘तिनले पापभेटीको रूपमा चढाउन ल्याइएको बहरको सबै बोसो झिकून्: आन्द्रा-भुँडी ढाक्ने बोसो, आन्द्रासँगै टाँसिएको बोसो, ९ दुइटै मिर्गौला र त्यसमा भएको बोसो अर्थात् कम्मरनेरको बोसो। तिनले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालून्।+ १० मेलबलिको बहरको बोसो झिकेझैँ यसको पनि झिकून्।+ अनि पुजारीले त्यसलाई अग्निभेटी चढाउने वेदीमा जलाऊन्।*
११ “‘तर बहरको छाला, मासु, टाउको, खुट्टा, आन्द्रा अनि गोबर+ १२ अर्थात् बाँकी सबै भाग छाउनीबाहिर खरानी* फ्याँक्ने सफा ठाउँमा लगियोस् र त्यहाँ दाउरामाथि राखेर जलाइयोस्।+ ती सबै खरानी फ्याँक्ने ठाउँमै जलाइयोस्।
१३ “‘यदि इस्राएलीहरूको सारा समुदायले अनजानमा कुनै पाप गरेर तिनीहरू त्यसको दोषी भए+ तर यहोवाले जे नगर्नू भन्नुभएको थियो, त्यो गरेको तिनीहरूले चाल पाएनन्+ १४ र पछि तिनीहरूको पाप प्रकट भयो भने समुदायले पापभेटीको रूपमा बहर चढाऊन् र त्यसलाई भेट हुने पालको अगाडि ल्याऊन्। १५ समुदायका नाइकेहरूले यहोवा परमेश्वरसामु त्यस बहरको टाउकोमा हात राखून् र त्यसलाई यहोवा परमेश्वरसामु काटियोस्।
१६ “‘अनि अभिषिक्त पुजारीले बहरको अलिकति रगत भेट हुने पालमा ल्याऊन्। १७ त्यसपछि पुजारीले रगतमा औँला चोपेर वासस्थानको पर्दाअगाडि यहोवा परमेश्वरसामु सात पल्ट छर्कून्।+ १८ पुजारीले भेट हुने पालभित्र यहोवा परमेश्वरसामु भएको वेदीका सिङहरूमा अलिकति रगत लगाइदेऊन्+ अनि बाँकी रगतचाहिँ भेट हुने पालको प्रवेशद्वारनजिकै भएको अग्निभेटी चढाउने वेदीको मुनिपट्टि खन्याइदेऊन्।+ १९ तिनले त्यसको सबै बोसो झिकून् र वेदीमा जलाऊन्।+ २० तिनले त्यस बहरलाई पनि पापभेटीको लागि चढाइएको अर्को बहरलाई जस्तै गरून्। तिनले यसै गरून्; तिनले समुदायको निम्ति प्रायश्चित गरिदेऊन्+ र तिनीहरूको पाप क्षमा हुनेछ। २१ यस बहरलाई पनि छाउनीबाहिर लगेर पापभेटीको पहिलो बहरलाई जस्तैगरि जलाइयोस्।+ यो समुदायको निम्ति चढाइने पापभेटी हो।+
२२ “‘यदि कुनै कुलनायकले+ यहोवाले नगर्नू भन्नुभएको काम गरेर अनजानमा पाप गऱ्यो र दोषी भयो २३ अथवा परमेश्वरको आज्ञा तोडेर आफूले पाप गरेछु भनेर चाल पायो भने उसले भेटी चढाउन बाख्राको निष्खोट पाठो ल्याओस्। २४ उसले त्यस पाठोको टाउकोमा हात राखोस् र त्यसलाई अग्निभेटीको जनावर काट्ने ठाउँमा यहोवा परमेश्वरसामु काटोस्।+ यो पापभेटी हो। २५ पुजारीले पापभेटीको रगतमा आफ्नो औँला चोपून् र अग्निभेटीको वेदीका सिङहरूमा त्यो रगत लगाइदेऊन्+ अनि बाँकी रगतचाहिँ अग्निभेटी चढाउने वेदीकै मुनिपट्टि खन्याइदेऊन्।+ २६ मेलबलिको बोसो जस्तैगरि तिनले यसको सबै बोसो वेदीमा जलाऊन्।+ अनि तिनले ती कुलनायकको निम्ति प्रायश्चित गरिदिनेछन् र उसको पाप क्षमा हुनेछ।
२७ “‘यदि सर्वसाधारणमध्ये कसैले यहोवाले नगर्नू भन्नुभएको काम गरेर अनजानमा पाप गऱ्यो र दोषी भयो+ २८ अथवा परमेश्वरको आज्ञा तोडेर आफूले पाप गरेछु भनेर चाल पायो भने उसले भेटी चढाउन बाख्राको निष्खोट पाठी ल्याओस्। २९ पापभेटीको रूपमा चढाइने त्यस पाठीको टाउकोमा उसले हात राखोस् र त्यसलाई अग्निभेटीको जनावर काट्ने ठाउँमै काटोस्।+ ३० पुजारीले त्यसको रगतमा आफ्नो औँला चोपून् र अग्निभेटीको वेदीका सिङहरूमा त्यो रगत लगाइदेऊन् अनि बाँकी रगतचाहिँ अग्निभेटी चढाउने वेदीकै मुनिपट्टि खन्याइदेऊन्।+ ३१ तिनले मेलबलिको बोसोजस्तैगरि+ यसको पनि सबै बोसो झिकेर+ वेदीमा जलाऊन्; यसबाट निस्केको बास्ना यहोवा परमेश्वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ। अनि पुजारीले उसको निम्ति प्रायश्चित गरिदिनेछन् र उसको पाप क्षमा हुनेछ।
३२ “‘तर पापभेटीको रूपमा भेडा चढाउने हो भने उसले निष्खोट पाठी ल्याओस्। ३३ पापभेटीको रूपमा चढाइने त्यस पाठीको टाउकोमा उसले हात राखोस् र त्यसलाई अग्निभेटीको जनावर काट्ने ठाउँमै काटोस्।+ ३४ पुजारीले त्यसको रगतमा आफ्नो औँला चोपून् र अग्निभेटीको वेदीका सिङहरूमा त्यो रगत लगाइदेऊन्+ अनि बाँकी रगतचाहिँ अग्निभेटी चढाउने वेदीकै मुनिपट्टि खन्याइदेऊन्। ३५ तिनले मेलबलिको रूपमा चढाइएको भेडाको पाठोको बोसोजस्तैगरि यसको पनि सबै बोसो झिकून् र यहोवा परमेश्वरको निम्ति आगोमा जलाइएको भेटीमाथि राखेर यसलाई जलाऊन्+ अनि पुजारीले उसको निम्ति प्रायश्चित गरिदिनेछन् र उसको पाप क्षमा हुनेछ।+