प्रस्थान
२१ “तिमीले इस्राएलीहरूलाई मेरा यी फैसलाहरू सुनाउनू:+
२ “तिमीहरूले हिब्रू दास किन्यौ भने+ उसले छ वर्षसम्म सेवा गरोस्। तर सातौँ वर्षमा कुनै दाम नलिई उसलाई स्वतन्त्र छोडिदिनू।+ ३ यदि ऊ एक्लै आएको थियो भने एक्लै जाओस्। तर ऊसँग उसकी पत्नी पनि सँगै छ भने उसले आफ्नी पत्नीलाई आफूसितै लैजाओस्। ४ यदि मालिकले उसलाई पत्नी ल्याइदिएको हो र उसकी पत्नीले छोराछोरी जन्माइ भने त्यो पत्नी र छोराछोरी मालिककै हुनेछन्। तर त्यो दास भने स्वतन्त्र भएर एक्लै जाओस्।+ ५ तर त्यस दासले ‘म मेरो मालिक, मेरी पत्नी अनि छोराछोरीलाई माया गर्छु; त्यसैले म स्वतन्त्र हुन चाहन्नँ’ भन्छ भने+ ६ उसको मालिकले उसलाई साँचो परमेश्वरसामु ल्याओस् अनि ढोका वा ढोकाको चौकोसमा ल्याएर सियोले* उसको कान छेडोस्। त्यसपछि ऊ जिन्दगीभर त्यस मालिकको दास हुनेछ।
७ “कुनै मानिसले आफ्नी छोरीलाई दासीको रूपमा बेचेमा त्यो दासी पुरुष दासजस्तै स्वतन्त्र भएर जान पाउनेछैन। ८ मालिकले उसलाई मन पराएन र उसलाई उपपत्नी बनाउन चाहेन भने त्यस मालिकले उसलाई अरूको हातमा बेच्न सक्छ तर विदेशीको हातमा भने बेच्न पाउँदैन किनकि आफ्नी उपपत्नी नबनाएर मालिकले त्यस दासीलाई धोका दियो। ९ मालिकले त्यस दासीलाई आफ्नो छोरासित विवाह गरिदिएमा उसलाई छोरीले पाउने हक दिनुपर्छ। १० तर उसले* अर्की पत्नी ल्याएमा जेठी पत्नीलाई भोजन, लुगाफाटा र पत्नीलाई दिनुपर्ने हक*+ दिन नछोडोस्। ११ उसले जेठी पत्नीलाई यी तीन वटा कुरा नदिएमा कुनै मोल नतिरी त्यो स्त्री स्वतन्त्र हुन सक्छे।
१२ “कसैले कुनै मानिसलाई हिर्कायो र ऊ मऱ्यो भने त्यसलाई पनि मार्नै पर्छ।+ १३ उसले त्यस मानिसलाई जानाजानी मारेको होइन तर साँचो परमेश्वरले नै त्यस्तो हुन दिनुभएको हो भने ऊ भागेर जानको लागि म एउटा ठाउँ तोकिदिनेछु।+ १४ तर कुनै मानिस आफ्नो छिमेकीसित रिसले चूर भयो र छल गरेर उसलाई माऱ्यो भने+ त्यसले मेरो वेदीमा शरण लिए पनि त्यसलाई मार्नै पर्छ।+ १५ जसले आफ्नो बुबा वा आमालाई हिर्काउँछ, उसलाई मार्नै पर्छ।+
१६ “यदि कसैले कुनै मानिसलाई अपहरण गरेर+ बेच्यो अथवा त्यो मानिस अपहरणकारीसँगै फेला पऱ्यो भने+ त्यस अपहरणकारीलाई मार्नै पर्छ।+
१७ “जसले आफ्नो बुबा वा आमालाई सराप्छ, उसलाई मार्नै पर्छ।+
१८ “झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गाले वा मुक्काले* हिर्कायो र ऊ मर्न त मरेन तर ओछ्यान पऱ्यो १९ अनि ऊ फेरि उठेर लौरोको सहायताले बाहिर यताउता हिँडडुल गर्न सक्ने भयो भने उसलाई हिर्काउने मानिस सजायबाट मुक्त हुनेछ। तर ऊ थला परेर पूरा निको नहोउन्जेल काममा नगएर उसले जति नोक्सानी बेहोर्नुपऱ्यो, त्यसको क्षतिपूर्ति भने हिर्काउने मानिसले तिरोस्।
२० “कसैले आफ्नो दास वा दासीलाई लट्ठीले हिर्कायो र ऊ त्यसको हातबाट मऱ्यो भने हिर्काउनेले सजाय पाउनै पर्छ।+ २१ तर ऊ एकदुई दिन बाँच्यो भने हिर्काउनेले सजाय नपाओस् किनभने उसले त्यस दास वा दासीलाई दाम तिरेर किनेको हो।
२२ “मानिसहरू आपसमा झगडा गर्दा गर्भवती स्त्रीलाई चोट लाग्यो र उसले महिना नपुगी बच्चा जन्माई+ तर आमा र बच्चाको ज्यान गएन* भने पनि चोट पुऱ्याउने मानिसले त्यस स्त्रीको पतिले मागेअनुसार क्षतिपूर्ति तिरोस्; त्यो क्षतिपूर्ति न्यायकर्ताहरूले तोकेअनुसारको होस्।+ २३ तर आमा र बच्चामध्ये कसैको ज्यान गयो भने ज्यानको साटो ज्यान,+ २४ त्यसैगरि आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात, खुट्टाको साटो खुट्टा,+ २५ डामको साटो डाम, चोटको साटो चोट अनि कुटाइको साटो कुटाइ होस्।
२६ “कुनै मानिसले आफ्नो दास वा दासीको आँखामा हिर्काएर उसको आँखा फुटाइदियो भने त्यो आँखाको क्षतिपूर्तिस्वरूप उसलाई स्वतन्त्र भएर जान देओस्।+ २७ त्यसले आफ्नो दास वा दासीको दाँत झारिदियो भने त्यो दाँतको क्षतिपूर्तिस्वरूप उसलाई स्वतन्त्र भएर जान देओस्।
२८ “गोरुले कुनै पुरुष वा स्त्रीलाई हानेर माऱ्यो भने त्यस गोरुलाई ढुङ्गाले हानेर मार्नू+ र त्यसको मासु नखानू; गोरुको मालिकलाई भने सजाय नदिइयोस्। २९ तर गोरुको पहिल्यैदेखि हान्ने बानी थियो र मालिकलाई खबर गरेको भए तापनि उसले आफ्नो गोरुलाई बाँधेर राखेन र त्यसले कुनै पुरुष वा स्त्रीलाई हानेर माऱ्यो भने गोरुलाई ढुङ्गाले हानेर मार्नू र त्यसको मालिकलाई पनि मार्नू। ३० तर गोरुको मालिकबाट फिरौती* मागिएको हो भने उसको ज्यानको फिरौतीस्वरूप जति रकम मागिएको हो, तिनले तिर्नुपर्छ। ३१ गोरुले सानो केटा वा सानी केटीलाई हानेर माऱ्यो भने पनि गोरुको मालिकलाई यही नियम लागू हुन्छ। ३२ यदि त्यस गोरुले कसैको दास वा दासीलाई हानेर माऱ्यो भने गोरुको मालिकले त्यस दासको मालिकलाई ३० शेकेल* तिरोस् र त्यस गोरुलाई चाहिँ ढुङ्गाले हानेर मारियोस्।
३३ “कसैले खाल्टो खनेर खुल्लै छोड्यो अथवा त्यसलाई छोपेन अनि त्यसमा गोरु वा गधा खस्यो भने ३४ त्यो खाल्टो जसको हो, उसले क्षतिपूर्ति तिरोस्।+ उसले गोरु वा गधाको मालिकलाई पैसा तिरोस्। त्यसपछि त्यो मरेको जनावर उसको हुनेछ। ३५ यदि कसैको गोरुले अर्काको गोरुलाई हानेर माऱ्यो भने तिनीहरूले जिउँदो गोरु बेचून् र पैसा बराबर बाँडून्; त्यो मरेको गोरुचाहिँ दुई जनाले बराबर भाग लगाऊन्। ३६ तर गोरुको हान्ने बानी छ भनेर थाह हुँदाहुँदै पनि मालिकले त्यसलाई बाँधेर राखेन र त्यसले अर्को गोरुलाई हानेर माऱ्यो भने त्यस मालिकले गोरुको साटो गोरु देओस्। तर त्यो मरेको गोरु भने उसको हुनेछ।