प्रस्थान
३३ त्यसपछि यहोवा परमेश्वरले मोसालाई यसो भन्नुभयो: “तिमीले मिश्रबाट छुटाएर ल्याएका मानिसहरूलाई लिएर यहाँबाट जाऊ। तिमीहरू त्यस देशमा जाओ, जुन देश ‘तिमीहरूको सन्तानलाई दिनेछु’ भनेर मैले अब्राहाम, इसहाक र याकुबसित शपथ खाएको थिएँ।+ २ म तिमीहरूको अघिअघि स्वर्गदूत पठाउनेछु+ र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबुसीहरूलाई त्यहाँबाट धपाउनेछु।+ ३ तिमीहरू दूध र मह बग्ने देशमा जाओ।+ तर म तिमीहरूसित जान्नँ किनकि तिमीहरू हठी मानिसहरू हौ।+ तिमीहरूसँगै गएँ भने त म तिमीहरूलाई बाटैमा नाश गरूँला।”+
४ यो कठोर वचन सुनेपछि मानिसहरूले बिलौना गर्न थाले। अनि तिनीहरू कसैले पनि आफ्नो गरगहना लगाएनन्। ५ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “इस्राएलीहरूलाई यसो भन, ‘तिमीहरू हठी मानिसहरू हौ।+ मैले चाहेँ भने तिमीहरूलाई एकै पलमा नाश गर्न सक्छु।+ तिमीहरूलाई के गर्नुपर्ने हो, त्यसबारे मैले निर्णय नगरेसम्म तिमीहरू गहना नलगाओ।’” ६ त्यसैले होरेब डाँडादेखि इस्राएलीहरूले गहना लगाएनन्।*
७ अनि मोसाले छाउनीभन्दा अलि बाहिर आफ्नो पाल टाँगे। अनि तिनले त्यसलाई भेट हुने पाल* भने। कुनै विषयमा यहोवा परमेश्वरको इच्छा के रहेछ भनेर जान्न चाहने व्यक्ति+ छाउनीबाहिर भएको त्यस पालमा जान्थ्यो। ८ मोसा त्यस पालमा जाँदा सबै मानिस आ-आफ्नो पालको प्रवेशद्वारमा उभिरहन्थे र तिनी पालभित्र नछिरेसम्म तिनलाई हेरिरहन्थे। ९ मोसा पालभित्र छिर्नेबित्तिकै बादलको खामो+ तल आउँथ्यो र परमेश्वर मोसासित कुरा गरुन्जेल त्यो खामो पालको प्रवेशद्वारमा रहन्थ्यो।+ १० जब मानिसहरूले त्यस पालको प्रवेशद्वारमा बादलको खामो देख्थे, तब तिनीहरूले आ-आफ्नै पालको प्रवेशद्वारबाट दण्डवत् गर्थे। ११ मानिसहरू आपसमा कुरा गरेझैँ यहोवा परमेश्वर मोसासित आमनेसामने कुरा गर्नुहुन्थ्यो।+ परमेश्वरसित कुरा गरेर मोसा छाउनीभित्र पस्दा तिनका सेवक+ अर्थात् नुनका छोरा यहोसुचाहिँ+ मोसा नफर्केसम्म भेट हुने पालको प्रवेशद्वारमै उभिरहन्थे।
१२ तब मोसाले यहोवा परमेश्वरलाई भने: “तपाईँ मलाई ‘यी मानिसहरू लिएर जाऊ’ त भन्नुहुन्छ तर मसित कसलाई पठाउनुहुन्छ, त्यसबारे केही भन्नुभएको छैन। अझ तपाईँ यसो पनि भन्नुहुन्छ, ‘मैले तिमीलाई रोजेको छु* र तिमीले मेरो निगाह पाएका छौ।’ १३ यदि मैले तपाईँको निगाह पाएको छु भने कृपया मलाई तपाईँको मार्ग देखाउनुहोस्+ र मैले तपाईँलाई चिन्न सकूँ र तपाईँको निगाह पाइरहन सकूँ। यी मानिसहरू तपाईँको आफ्नै जाति हो भनेर पनि नबिर्सनुहोस्।”+ १४ अनि परमेश्वरले यसो भन्नुभयो: “म आफै तिमीसित जानेछु+ र तिमीलाई आराम दिनेछु।”+ १५ अनि मोसाले उहाँलाई भने: “हुन्छ, तर यदि तपाईँ हामीसित जानुहुन्न भने हामीलाई यहीँ रहन दिनुहोस्। १६ मैले र तपाईँका यी मानिसहरूले तपाईँको निगाह पाएका छौँ भनेर कसरी थाह पाउने? तपाईँ हाम्रो साथमा हुनुभएकोले नै होइन र?+ नत्र त पृथ्वीका अरू मानिसहरूभन्दा म र तपाईँका यी मानिसहरू कसरी फरक देखिन्छौँ र?”+
१७ यहोवा परमेश्वरले मोसालाई यसो भन्नुभयो: “ठीक छ, म पनि तिमीले भनेअनुसारै गर्नेछु किनकि तिमीले मेरो निगाह पाएका छौ र मैले तिमीलाई राम्रोसँग चिनेको छु।”* १८ अनि मोसाले भने: “कृपया मलाई तपाईँको गौरव देखाउनुहोस्।” १९ तर उहाँले भन्नुभयो: “म तिम्रै सामने मेरा सारा वैभव देखाउनेछु अनि तिम्रै सामने यहोवा भन्ने मेरो नाम प्रकट गर्नेछु+ अनि जसलाई निगाह देखाउन चाहन्छु, उसलाई निगाह देखाउनेछु र जसलाई कृपा देखाउन चाहन्छु, उसलाई कृपा देखाउनेछु।”+ २० तर उहाँले यसो पनि भन्नुभयो: “तिमीले मेरो अनुहार देख्न सक्दैनौ किनकि मेरो अनुहार हेरेर कोही पनि जिउँदो रहन सक्दैन।”
२१ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “यहाँ मेरो नजिक आऊ र यस चट्टानमाथि खडा होऊ। २२ मेरो महिमाको ज्योति तिमीसामु भएर जाँदा म तिमीलाई यस चट्टानको धाँजोमा राख्नेछु र म नजाउन्जेल तिमीलाई आफ्नो हातले छोपिराख्नेछु। २३ त्यसपछि म आफ्नो हात हटाउनेछु र तिमीले मेरो पिठिउँ देख्नेछौ। तर मेरो अनुहारचाहिँ देख्नेछैनौ।”+