यर्मिया
६ हे बिन्यामिनीहरू हो, आफ्नो सुरक्षाको निम्ति यरुसलेमबाट भागेर जाओ।
बेथ-हक्केरेममा खतराको जनाउ दिने आगो बाल!
किनकि उत्तरबाट विपत्ति, एउटा डरलाग्दो विपत्ति आउँदै छ।+
२ सियोनकी छोरी* सुन्दर र कोमल छे।+
३ गोठालाहरू आ-आफ्नो बगालसँगै आउनेछन्।
अनि त्यसको चारैतिर तिनीहरूले आफ्नो पाल टाँग्नेछन्+
र आ-आफ्नो बगाल चराउनेछन्।+
४ “त्यसविरुद्ध लड्न तयार होऊ!
उठ, हामी मध्यदिनमा त्यसमाथि हमला गरौँ!”
“तर हाय, दिन ढल्कँदै छ
र बेलुकीको छाया लम्बिँदै छ!”
५ “उठौँ, राती त्यसमाथि हमला गरौँ
र त्यसका किल्लाहरू ध्वस्त पारौँ।”+
६ किनकि सेनाहरूका यहोवा यसो भन्नुहुन्छ:
“रूखहरू काटेर ढाल र यरुसलेमविरुद्ध घेरा-मचान* तयार पार।+
यस सहरले दण्ड पाउनै पर्छ;
यो सहर अत्याचारै-अत्याचारले भरिएको छ।+
७ जसरी कुवामा पानी ताजा रहिरहन्छ,
त्यसरी नै त्यस सहरले दुष्टतालाई ताजा राखिरहेको छ।
त्यहाँ हिंसा र विनाशको आवाज सुनिन्छ;+
त्यहाँ म सधैँ बिमारी र महामारी देख्छु।
८ हे यरुसलेम, चेतावनी सुन नत्र त मलाई तिमीदेखि घिन लाग्नेछ र म तिमीलाई फर्केर पनि हेर्नेछैनँ;+
म तिमीलाई कोही पनि नबस्ने निर्जनभूमि बनाउनेछु।”+
९ सेनाहरूका यहोवा यसो भन्नुहुन्छ:
“इस्राएलका बाँकी रहेका मानिसहरू बोटमा बचेखुचेका अङ्गुरजस्तै छन्।
बचेखुचेका अङ्गुर टिपेर जम्मा गर्ने मानिसले जस्तै तिनीहरूलाई एउटै बाँकी नरहनेगरि जम्मा गर्नू।”
१० “म कसलाई भनूँ र चेतावनी दिऊँ?
कसले मेरो कुरा सुन्ला?
तिनीहरूको कान बन्द भएको छ,* त्यसैले तिनीहरू सुन्न सक्दैनन्।+
तिनीहरूले यहोवाको वचनको अपमान गरेका छन्;+
तिनीहरूलाई त्यो सुन्नै मन पर्दैन।
११ त्यसकारण मभित्र यहोवाको क्रोध दन्किरहेको छ
अनि यसलाई थाम्दा-थाम्दा म थाकिसकेको छु।”+
“यसलाई सडकमा भएका केटाकेटीमाथि+
अनि एकसाथ भेला भएका जवान मानिसहरूमाथि खन्याइदेऊ।
लोग्ने र स्वास्नी दुवैमाथि खन्याइदेऊ
अनि उमेर खाइसकेका र बूढाहरूमाथि पनि खन्याइदेऊ।+
१२ तिनीहरूका खेतबारी र स्वास्नीहरूसँगसँगै
तिनीहरूका घरहरू अरूलाई दिइनेछ।+
किनकि म यस देशका बासिन्दाहरूविरुद्ध आफ्नो हात पसार्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।
१३ “किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्;+
के भविष्यवक्ता, के पुजारी, सबैले ठगिरहेका छन्।+
१४ अनि तिनीहरू शान्ति नहुँदा पनि
‘शान्ति, शान्ति’ भनेर+
मेरा मानिसहरूको चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्।
१५ आफूले गरेका घिनलाग्दा कामहरूलाई सम्झँदा के तिनीहरू लज्जित हुन्छन्?
अहँ, रतीभर हुँदैनन्!
लाज के हो, तिनीहरूलाई थाहै छैन!+
त्यसैले लडिसकेकाहरूजस्तै तिनीहरू पनि लड्नेछन्।
मैले तिनीहरूलाई दण्ड दिँदा तिनीहरू लर्खराउनेछन्,” यहोवा भन्नुहुन्छ।
१६ यहोवा यसो भन्नुहुन्छ:
“चौबाटोमा उभिएर हेर।
पुराना बाटोहरूको विषयमा सोध,
असल बाटो कहाँ छ, सोध र त्यसमै हिँड+
र तिमीहरूलाई चैन हुनेछ।”
तर तिनीहरूले भने: “हामी त्यस बाटोमा हिँड्नेछैनौँ।”+
१७ “अनि मैले तिनीहरूमाथि पहरेदारहरू नियुक्त गरेँ,+ जसले यसो भने,
‘सिङ फुकेको आवाज ध्यानसित सुन!’”+
तर तिनीहरूले भने: “हामी सुन्नेछैनौँ।”+
१८ “त्यसकारण तिनीहरूलाई के हुनेछ,
हे जातिजातिका मानिस हो, सुन!
हे समुदाय हो, थाह पाइराख।
१९ हे पृथ्वीका सबै मानिस हो, सुन!
यी मानिसहरूले मेरो कुरा सुनेनन्
अनि मेरो आज्ञा* पालन गरेनन्।
त्यसैले यी मानिसहरूको कुबुद्धिले गर्दा
म यी मानिसहरूमाथि विपत्ति ल्याउँदै छु।”+
२० “तिमीहरूले सेबादेखि ल्याएको सेतो धूप*
र टाढाको देशबाट ल्याएको बोझोको* मलाई के मतलब?
तिमीहरूको अग्निभेटीमा* मलाई कुनै चासो छैन
अनि तिमीहरूले चढाएको बलिदानले मलाई खुसी बनाउँदैन।”+
२१ त्यसकारण यहोवा यसो भन्नुहुन्छ:
“म यी मानिसहरूको अगाडि ठेस लाग्ने ढुङ्गाहरू राखिदिनेछु;
तिनीहरूले त्यसमा ठेस खानेछन्
अनि बुबा र छोरा,
साथीभाइ र छरछिमेक
सबै नाश हुनेछन्।”+
२२ यहोवा भन्नुहुन्छ:
“हेर उत्तरको देशबाट मानिसहरू आउँदै छन्।
पृथ्वीको पल्लो छेउबाट आउन एउटा जाति सुरिँदै छ।+
२३ तिनीहरू धनु र भाला लिएर आउनेछन्।
तिनीहरू क्रूर छन्; तिनीहरूले कुनै दयामाया देखाउनेछैनन्।
तिनीहरूको आवाज समुद्रको गर्जनजस्तै छ।
हे सियोनकी छोरी, घोडामा सवार भएर+
तिनीहरू तिमीविरुद्ध पङ्क्ति बाँधेर लड्न आउनेछन्।”
२४ यो खबर सुनेपछि
हाम्रा हातहरू लल्याकलुलुक भए;+
हामी पीडाले छटपटायौँ;
हाम्रो हालत बेथा लागेकी स्त्रीको जस्तै भयो।+
२५ खेततिर नजाऊ,
बाटोतिर पनि ननिस्क
किनभने शत्रुहरू तरबार लिएर उभिएका छन्;
चारैतिर आतङ्क छाएको छ।
२६ हे मेरा मानिसहरूकी छोरी,*
भाङ्ग्रा लगाऊ;+ खरानीमा लडीबुडी गर।
एक्लो छोराको मृत्यु हुँदा शोक गरेजस्तै रोइकराइ गर+
किनभने हामीलाई नाश गर्नेहरू हामीमाथि एक्कासि आइलाग्नेछन्।+
२७ “मेरा मानिसहरूको चालढाल जाँच्न
अनि तिनीहरूलाई राम्ररी केलाउन
मैले तिमीलाई* धातु जाँच्ने मानिससरह तुल्याएको छु।
२८ तिनीहरू सबै जना साह्रै कठोर छन्,+
तिनीहरू अरूको निन्दा गर्दै हिँड्छन्।+
तिनीहरू तामा र फलामजस्तै छन्;
तिनीहरू सबै भ्रष्ट भएका छन्।
२९ खलाँती* कामै नलाग्ने भएको छ।
आगोबाट सीसाबाहेक अरू केही निस्केन।
तिनीहरूलाई शुद्ध पार्न निक्कै कोसिस गरियो तर केही फाइदा भएन+
किनभने जो दुष्ट छन्, उनीहरूलाई अलग पारिएको छैन।+
३० तिनीहरू काम नलाग्ने चाँदी कहलाइनेछन्
किनभने यहोवाले तिनीहरूलाई त्याग्नुभएको छ।”+