न्यायकर्ता
७ त्यसपछि यरुब्बाआल अर्थात् गिदोन+ र तिनीसँगै भएका मानिसहरू बिहान सबेरै उठे र ‘हारोदको मूल’-नजिकै छाउनी हाले; मिद्यानीहरूको छाउनीचाहिँ गिदोनको छाउनीको उत्तरतिर मोरे डाँडाको बेँसीमा थियो। २ यहोवा परमेश्वरले गिदोनलाई भन्नुभयो: “तिमीसँग अति धेरै मानिस छन्। यदि मैले मिद्यानीहरूलाई इस्राएलीहरूको हातमा सुम्पिदिएँ+ भने तिनीहरूले फुर्ती लगाएर मलाई यसो भन्नेछन्, ‘हामीले आफ्नै बलले यो जित हासिल गऱ्यौँ।’+ ३ अब सबै मानिससामु यस्तो घोषणा गर: ‘जो-जो डरले थरथर काँपिरहेका छन्, तिनीहरू घर फर्कून्।’”+ जब गिदोनले यसबारे घोषणा गरेर मानिसहरूलाई जाँचे, तब २२ हजार मानिस घर फर्के र १० हजार मात्र बाँकी रहे।
४ तैपनि यहोवा परमेश्वरले गिदोनलाई भन्नुभयो: “तिमीसँग अझै पनि धेरै मानिस छन्। त्यसैले तिनीहरूलाई तल खोलामा लैजाऊ र तिनीहरूमध्ये केहीलाई छान्न म तिमीलाई मदत गर्नेछु। मैले जसबारे ‘यो मानिस तिमीसँग जानेछ’ भनूँला, ऊ तिमीसँग जानेछ तर जसबारे ‘यो मानिस तिमीसँग जानेछैन’ भनूँला, ऊ तिमीसँग जानेछैन।” ५ तब तिनले मानिसहरूलाई तल खोलामा लगे।
अनि यहोवा परमेश्वरले गिदोनलाई भन्नुभयो: “ज-जसले कुकुरले जस्तै जिब्रोले चाटेर पानी पिउँछ, तिनीहरूलाई घुँडा टेकेर पानी पिउने मानिसहरूबाट अलग्गै छुट्ट्याऊ।” ६ हातमा पानी लिएर कुकुरले जस्तै पानी चाट्नेहरू जम्मा ३०० जना थिए। तर बाँकीले भने घुँडा टेकेर निहुरिएर पानी पिए।
७ तब यहोवा परमेश्वरले गिदोनलाई भन्नुभयो: “चाटेर पानी पिउने यी ३०० जनालाई चलाएर म तिमीहरूलाई बचाउनेछु र मिद्यानीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु।+ तर बाँकी सबै जना घर फर्कून्।” ८ त्यसैले गिदोनले ती ३०० जनालाई मात्र आफ्नो साथमा राखे। अनि बाँकी इस्राएलीहरूबाट खानेकुरा र सिङहरू लिएर तिनीहरूलाई घर फर्काइदिए। मिद्यानीहरूको छाउनी गिदोनको छाउनीभन्दा तलतिर बेँसीमा थियो।+
९ त्यो रात यहोवा परमेश्वरले गिदोनलाई भन्नुभयो: “उठ! गएर मिद्यानीहरूको छाउनीमा आक्रमण गर किनकि मैले तिनीहरूलाई तिम्रो हातमा सुम्पिदिएको छु।+ १० तर तिनीहरूमाथि आक्रमण गर्न तिमीलाई डर लाग्छ भने आफ्नो सेवक पुराहलाई लिएर तल तिनीहरूको छाउनीमा जाऊ ११ अनि तिनीहरूको कुरा सुन। त्यसपछि तिनीहरूको छाउनीमा आक्रमण गर्न तिमीलाई आँट आउनेछ।”* तब तिनी आफ्नो सेवक पुराहलाई लिएर तल मिद्यानीहरूको छाउनीनजिकै गए।
१२ मिद्यानी, अमालेकी र पूर्वका मानिसहरू+ तल बेँसीमा सलहको बथानजस्तै जम्मा भएका थिए। तिनीहरूका उँटहरू समुद्र किनारका बालुवासरी गन्नै नसकिने थिए।+ १३ जब गिदोन मिद्यानीहरूको छाउनीनजिक पुगे, तब त्यहाँ एक जना मानिसले आफ्नो साथीलाई आफूले देखेको सपनाबारे बताइरहेको थियो। त्यस मानिसले भन्यो, “मैले यस्तो सपना देखेँ: ‘जौको एउटा रोटी मिद्यानीहरूको छाउनीमा गुड्दै आयो। अनि त्यो रोटी एउटा पालमा बेसरी बजारियो र पाललाई लडाइदियो।+ त्यसले पाललाई उल्टाइदियो र पाल भुईँमा तेर्सियो।’” १४ तब त्यस मानिसको साथीले भन्यो: “यो रोटी अरू केही होइन, इस्राएली योआसको छोरा गिदोनकै तरबार हुनुपर्छ।+ परमेश्वरले मिद्यान र त्यसका सबै सेनालाई गिदोनको हातमा सुम्पिदिनुभएको छ।”+
१५ त्यस मानिसको सपना र त्यसको अर्थ सुन्नेबित्तिकै+ गिदोनले घोप्टो परेर परमेश्वरलाई दण्डवत् गरे। त्यसपछि तिनले इस्राएलीहरूको छाउनीमा फर्केर यसो भने: “उठ! यहोवा परमेश्वरले मिद्यानीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुभएको छ।” १६ त्यसपछि गिदोनले ती ३०० जनालाई तीन दलमा बाँडे र प्रत्येकलाई एउटा-एउटा सिङ+ र भित्र राँको हालेको एउटा-एउटा गाग्रो दिए। १७ तब तिनले तिनीहरूलाई भने: “मलाई हेर! म जे गर्छु, तिमीहरू पनि त्यसै गर। छाउनीको नजिक पुगेपछि म जे गर्छु, तिमीहरूले पनि ठीक त्यसै गर। १८ जब म र मसँगै भएकाहरूले सिङ फुक्छौँ, तब तिमीहरूले पनि छाउनीको चारैतिर आफू उभिरहेको ठाउँबाट सिङ फुक्नू र यसो भनेर कराउनू, ‘यो लडाइँ यहोवाको र गिदोनको हो!’”
१९ गिदोन र तिनीसँगै भएका १०० जना पुरुष मध्यरात* नहुँदै मिद्यानीहरूको छाउनीको नजिकै आइपुगे; त्यतिबेला त्यहाँका पहरेदारहरूले भर्खरै मात्र आफ्नो पालो फेरेका थिए। तब गिदोन र तिनीसँगै आएका पुरुषहरूले आ-आफ्नो सिङ फुके+ र हातमा बोकेको गाग्रो फुटाए।+ २० यसरी ती तीनै दलले आ-आफ्नो सिङ फुके र गाग्रो फुटाए। तिनीहरूले बायाँ हातले राँको समाए, दायाँ हातमा भएको सिङ फुके र यसो भन्दै कराए: “यहोवाको र गिदोनको तरबार!” २१ गिदोन र तिनका मानिसहरूले छाउनीको चारैतिर आ-आफ्नै ठाउँमा उभिएर यो सबै गरे; मिद्यानीहरूका सैनिकहरूचाहिँ कराउँदै भागे।+ २२ यतिन्जेल ती ३०० जनाले सिङ फुकिरहे। यहोवा परमेश्वरले शत्रुहरूको छाउनीमा खलबली मच्चाइदिनुभयो र तिनीहरूले एकअर्काविरुद्ध तरबार उठाउन थाले।+ तब शत्रुहरूको सेना जेरेराहतर्फ बेथ-सित्ताहसम्म र तब्बाथनजिकै हाबिल-मेहोलाहको+ छेउछाउसम्मै भाग्यो।
२३ तब नप्तालि, असेर र मनस्सेको+ कुलबाट इस्राएली सिपाहीहरूलाई बोलाइयो अनि तिनीहरूले मिद्यानीहरूलाई खेदे। २४ गिदोनले एप्रैमको सम्पूर्ण पहाडी इलाकामा सन्देशवाहकहरूमार्फत यस्तो खबर पठाए: “मिद्यानीहरूलाई आक्रमण गर्न तल जाऊ अनि यर्दन नदीको जँघार* र बेथ-बराहसम्मका त्यसका शाखा नदीहरू कब्जा गर।” त्यसैले एप्रैमका सबै मानिसलाई बोलाइयो अनि तिनीहरूले यर्दन नदीको जँघार र बेथ-बराहसम्मका शाखा नदीहरू कब्जा गरे। २५ तिनीहरूले मिद्यानका दुई जना नाइके ओरेब र जिबलाई पनि पक्रे। तिनीहरूले ओरेबलाई+ एउटा ठूलो चट्टानमा मारे र त्यसलाई ओरेबको चट्टान भन्ने नाम दिइयो। त्यसैगरि तिनीहरूले जिबलाई अङ्गुर पेल्ने कोलमा मारे र त्यसलाई जिबको कोल भन्ने नाम दिइयो। तिनीहरूले मिद्यानीहरूलाई खेद्न छोडेनन्+ अनि तिनीहरूले ओरेब र जिबको टाउको यर्दनको इलाकामा गिदोनकहाँ ल्याए।