लेवी
११ अनि यहोवा परमेश्वरले मोसा र हारुनलाई भन्नुभयो: २ “इस्राएलीहरूलाई यसो भन्नू, ‘तिमीहरूले जमिनमा बस्ने यी जनावरहरू खान सक्छौ:+ ३ जसको खुर पूरै चिरिएको छ र जो उग्राउँछ।
४ “‘तर उग्राउने वा खुर चिरिएका यी जनावरहरू नखानू: उँट, जो उग्राउँछ तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूको निम्ति अशुद्ध छ।+ ५ भीरखरायो,+ जो उग्राउँछ तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूको निम्ति अशुद्ध छ। ६ जङ्गली खरायो, जो उग्राउँछ तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूको निम्ति अशुद्ध छ। ७ सुँगुर,+ जसको खुर पूरै चिरिएको हुन्छ तर त्यो उग्राउँदैन। त्यो तिमीहरूको निम्ति अशुद्ध छ। ८ तिमीहरूले यिनीहरूको मासु नखानू वा यिनीहरूको सिनु नछुनू। यिनीहरू तिमीहरूका निम्ति अशुद्ध छन्।+
९ “‘तिमीहरूले पानीमा बस्ने यी जीवजन्तुहरू खान सक्छौ: समुद्रमा होस् वा नदीनालामा, पखेटा र कत्ला भएका जीवजन्तु।+ १० तर समुद्रमा होस् वा नदीनालामा, झुन्डमा रहने र अन्य किसिमका जीवजन्तु जसको पखेटा र कत्ला हुँदैनन्, ती तिमीहरूका निम्ति घृणित कुरा हुन्। ११ हो, ती तिमीहरूका निम्ति घृणित कुरा हुन्, तिमीहरूले तिनीहरूको मासु नखानू+ र तिनीहरूको सिनुलाई घृणित ठान्नू। १२ पानीमा भएका जुनसुकै जीवजन्तु, जसको पखेटा र कत्ला हुँदैन, त्यो तिमीहरूको निम्ति घृणित कुरा हो।
१३ “‘तिमीहरूले घृणित ठान्नुपर्ने उड्ने जीवहरू यी हुन्; यिनीहरू घृणित भएकोले तिमीहरूले नखानू: चील,+ मलाहा चील, कालो गिद्ध,+ १४ रातो चील र सबै किसिमका कालो चील, १५ सबै किसिमका काग, १६ सुतुरमुर्ग,* लाटोकोसेरो, गङ्गाचील, सबै किसिमका बाज, १७ सानो खालको लाटोकोसेरो, जलेवा, लामो कान हुने लाटोकोसेरो, १८ राजहंस, घाउँके हावासील,* गिद्ध, १९ गरुड, सबै किसिमका बकुल्ला, फाप्रे चरा र चमेरो। २० पखेटा भएका चारखुट्टे किराफट्याङ्ग्रा, जो झुन्डमा रहन्छन्, ती तिमीहरूका निम्ति घृणित कुरा हुन्।
२१ “‘पखेटा भएका र झुन्डमा रहने चारखुट्टे किराफट्याङ्ग्रामध्ये तिमीहरूले उफ्रनको लागि लामो खुट्टा भएका किराफट्याङ्ग्रा मात्र खानू। २२ तिमीहरूले यी जीवहरू खान सक्छौ: विभिन्न किसिमका सलह+ र फट्याङ्ग्रा। २३ यीबाहेक पखेटा भएका र झुन्डमा रहने अरू सबै चारखुट्टे किराफट्याङ्ग्रा तिमीहरूका निम्ति घृणित कुरा हुन्। २४ यी किराफट्याङ्ग्रा खायौ भने तिमीहरू अशुद्ध हुनेछौ। जसले मरेका यी किराफट्याङ्ग्रालाई छुन्छ, ऊ साँझसम्म अशुद्ध रहनेछ।+ २५ जसले मरेका यी किराफट्याङ्ग्रा टिप्छ, उसले आफ्नो लुगा धोओस्;+ ऊ साँझसम्म अशुद्ध रहनेछ।
२६ “‘यदि कुनै जनावरको खुर चिरिएको त छ तर पूरै चिरिएको छैन र त्यसले उग्राउँदैन भने त्यो तिमीहरूको निम्ति अशुद्ध हो। त्यसलाई छुने व्यक्ति अशुद्ध हुनेछ।+ २७ चारखुट्टे जीवजन्तुमध्ये पन्जाले टेकेर हिँड्ने जीवजन्तु तिमीहरूको निम्ति अशुद्ध हो। तिनीहरूको सिनु छुने व्यक्ति साँझसम्म अशुद्ध रहनेछ। २८ जसले यी जीवजन्तुको सिनु उठाउँछ, उसले आफ्नो लुगा धोओस्;+ ऊ साँझसम्म अशुद्ध रहनेछ।+ यी जीवजन्तु तिमीहरूका निम्ति अशुद्ध छन्।
२९ “‘जमिनमा बस्ने जीवजन्तु, जो झुन्डमा रहन्छन्, ती तिमीहरूका निम्ति अशुद्ध छन्: खन्ने मुसा, उफ्रने मुसा,+ सबै किसिमका छेपारो, ३० माउसुली, गोहोरो, भालेमुङ्ग्रो, बालुवामा बस्ने छेपारो र रङ्ग बदल्ने छेपारो। ३१ यी जीवजन्तु तिमीहरूका निम्ति अशुद्ध छन्।+ जसले मरेका यी जीवजन्तुलाई छुन्छ, ऊ साँझसम्म अशुद्ध रहनेछ।+
३२ “‘यीमध्ये कुनै जीवजन्तु मरेर केही चिजमा खस्यो भने त्यो अशुद्ध हुनेछ, चाहे त्यो काठको भाँडा, लुगा, छाला वा भाङ्ग्रा नै किन नहोस्। त्यसलाई पानीमा डुबाउनू र साँझसम्म त्यो अशुद्ध रहनेछ अनि मात्र त्यो शुद्ध हुनेछ। ३३ त्यो मरेको जीव माटोको भाँडोमा खस्यो भने त्यसलाई फुटाइदिनू; त्यसभित्र भएको चिजबीज पनि अशुद्ध हुनेछ।+ ३४ त्यस भाँडोभित्र भएको पानी कुनै खानेकुरामा पऱ्यो भने त्यो अशुद्ध हुनेछ; त्यस भाँडोमा भएको पिउने पदार्थ पनि अशुद्ध हुनेछ। ३५ मरेको त्यो जीव जुनसुकै चिजमा खसे पनि त्यो अशुद्ध हुनेछ। चाहे तन्दुरमा खसोस् वा सानो चुलोमा, त्यसलाई भत्काइदिनू। ती अशुद्ध हुन् र तिमीहरूका लागि पनि अशुद्धै होऊन्। ३६ त्यो मरेको जीव पानीको मुहान वा कुवामा खस्यो भने त्यो मुहान र कुवा शुद्धै रहनेछ तर त्यो जीव निकाल्ने व्यक्तिचाहिँ अशुद्ध हुनेछ। ३७ रोप्न राखिएको सुक्खा बिउमा त्यो मरेको जीव खस्यो भने त्यो बिउ शुद्धै हुन्छ। ३८ तर त्यो जीवको केही भाग भिजेको बिउमा खस्यो भने त्यो बिउ तिमीहरूको निम्ति अशुद्ध हुन्छ।
३९ “‘तिमीहरूले भोजनको रूपमा खाने कुनै जनावर मऱ्यो भने त्यसको सिनु छुने व्यक्ति साँझसम्म अशुद्ध रहनेछ।+ ४० मरेको त्यो जनावर कसैले खायो भने उसले आफ्नो लुगा धोओस्; ऊ साँझसम्म अशुद्ध रहनेछ।+ जसले त्यो सिनु उठाउँछ, उसले पनि आफ्नो लुगा धोओस्; ऊ साँझसम्म अशुद्ध रहनेछ। ४१ “‘जमिनमा बस्ने सबै जीवजन्तु, जो झुन्डमा रहन्छन्, ती घृणित कुरा हुन्;+ ती नखानू। ४२ आफ्नो पेटको भरले घस्रने जीव, चारखुट्टे जीव वा झुन्डमा रहनेहरूमध्ये धेरै खुट्टा भएका जीव तिमीहरूले नखानू किनकि ती घृणित हुन्।+ ४३ तिमीहरूले झुन्डमा रहने कुनै जीवजन्तुद्वारा आफूलाई घृणित नपार; ती जीवजन्तुद्वारा आफूलाई दूषित र अशुद्ध नपार।+ ४४ तिमीहरूले आफूलाई चोख्याएर पवित्र पार+ किनकि म तिमीहरूको परमेश्वर यहोवा हुँ+ र म पवित्र छु।+ त्यसैले तिमीहरूले जमिनमा बस्ने जुनसुकै जीवजन्तु, जो झुन्डमा रहन्छन्, तिनीहरूद्वारा आफूलाई अशुद्ध नपार। ४५ म यहोवा हुँ। म तिमीहरूका परमेश्वर हुँ भनेर प्रमाणित गर्न मैले तिमीहरूलाई मिश्रबाट* निकालेर ल्याएको छु।+ म पवित्र छु,+ त्यसैले तिमीहरू पनि पवित्र होओ।+
४६ “‘जनावर, चराचुरुङ्गी, पानीमा चलहल गर्ने जीवजन्तु र झुन्ड बनाएर जमिनमा बस्ने सबै किसिमका जीवजन्तुमा यो नियम लागू हुन्छ। ४७ तिमीहरूले शुद्ध र अशुद्ध अनि खान हुने र खान नहुने जीवजन्तुबीचको भिन्नता छुट्ट्याउन सक भनेर यो नियम दिइएको हो।’”+