गन्ती
१९ यहोवा परमेश्वरले मोसा र हारुनलाई फेरि यसो भन्नुभयो: २ “यहोवा परमेश्वरले यस्तो आज्ञा दिनुभएको छ: ‘इस्राएलीहरूलाई कुनै खोट नभएको+ र जुवा नलगाइएको रातो गाई तिमीहरूकहाँ ल्याउन लगाओ। ३ तिमीहरूले त्यो गाई पुजारी एलियाजारलाई दिनू र तिनले त्यसलाई छाउनीबाहिर लानेछन् अनि तिनकै अगाडि त्यो मारियोस्। ४ त्यसपछि पुजारी एलियाजारले त्यसको अलिकता रगतमा आफ्नो औँला चोपेर सीधै भेट हुने पालको* अगिल्तिर सात पल्ट छर्कून्।+ ५ त्यसपछि तिनकै आँखाअगाडि त्यो गाई जलाइयोस्। त्यसको छाला, मासु, रगत र गोबर सँगै जलाइयोस्।+ ६ अनि पुजारीले देवदारको हाँगा, हिसप*+ र सिन्दूरे रङ्गको कपडा लिएर ती सबैलाई गाई जलिरहेको आगोमा फालिदेऊन्। ७ अनि पुजारीले आफ्नो लुगा धोऊन् र नुहाऊन्। त्यसपछि तिनी छाउनी फर्कन सक्छन्। तर तिनी साँझसम्म अशुद्ध रहनेछन्।
८ “‘गाई जलाउनेले आफ्नो लुगा धोओस् र नुहाओस्; ऊ साँझसम्म अशुद्ध रहोस्।
९ “‘एक जना शुद्ध मानिसले त्यो गाईको खरानी बटुलेर+ छाउनीबाहिर सफा ठाउँमा राखोस्। चोख्याउने पानी तयार पार्न इस्राएलीहरूले त्यो खरानी राखिराखून्।+ यो पापभेटी हो। १० गाईको खरानी बटुल्नेले आफ्नो लुगा धोओस् र साँझसम्म अशुद्ध रहोस्।
“‘इस्राएलीहरू र तिनीहरूमाझ बसोबास गर्ने विदेशीका लागि यो नियम सधैँ लागू हुनेछ।+ ११ कसैले लास छोएमा ऊ सात दिनसम्म अशुद्ध रहोस्।+ १२ तेस्रो दिन उसले चोख्याउने पानीले आफूलाई चोख्याओस् अनि ऊ सातौँ दिनमा शुद्ध हुनेछ। तर तेस्रो दिन उसले आफूलाई चोख्याएन भने सातौँ दिनमा ऊ शुद्ध हुनेछैन। १३ जसले कुनै मान्छेको लास छुन्छ र आफूलाई चोख्याउँदैन, उसले यहोवा परमेश्वरको वासस्थानलाई* अशुद्ध पार्छ।+ उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनै पर्छ।*+ ऊमाथि चोख्याउने पानी नछर्किएकोले ऊ अशुद्धै रहनेछ।+ उसको अशुद्धता हट्नेछैन।
१४ “‘कोही मानिस पालभित्र मऱ्यो भने यो नियम लागू हुनेछ: पालभित्र छिर्ने र पालभित्र हुनेहरू सात दिनसम्म अशुद्ध रहनेछन्। १५ ढकनी नलगाइएको सबै खुला भाँडा अशुद्ध हुनेछ।+ १६ यदि खुला मैदानमा छँदा कसैले तरबारले मारिएको मानिस, कुनै लास, मरेको मानिसको हड्डी वा चिहानलाई छोएमा ऊ सात दिनसम्म अशुद्ध हुनेछ।+ १७ यसरी अशुद्ध भएको मानिसको निम्ति तिनीहरूले पापभेटीको रूपमा जलाइएको गाईको अलिकता खरानी भाँडोमा लेऊन् र त्यसमा खोलाको पानी खन्याऊन्। १८ त्यसपछि एक जना शुद्ध मानिसले+ यो पानीमा हिसप चोपोस्+ अनि यो पानी लिएर मानिस मरेको पाल, त्यहाँ भएका सबै भाँडाकुँडा र त्यतिखेर पालभित्र भएका मानिसहरूमाथि छर्कोस्। साथै त्यो मानिसमाथि पनि छर्कोस्, जसले तरबारले मारिएको मानिस, कुनै लास, मरेको मानिसको हड्डी वा चिहानलाई छोएको थियो। १९ तेस्रो र सातौँ दिनमा शुद्ध मानिसले अशुद्ध भएको मानिसमाथि यो पानी छर्कोस् अनि सातौँ दिनमा उसको पाप हटाएर उसलाई शुद्ध पारोस्।+ त्यसपछि उसले आफ्नो लुगा धोओस्, नुहाओस् अनि साँझ ऊ शुद्ध हुनेछ।
२० “‘तर जो अशुद्ध छ अनि जसले आफूलाई चोख्याउँदैन, उसलाई समुदायबाट हटाउनै पर्छ*+ किनभने उसले यहोवा परमेश्वरको पवित्र स्थानलाई* अशुद्ध पारेको छ। ऊमाथि चोख्याउने पानी नछर्किएकोले ऊ अशुद्ध रहनेछ।
२१ “‘यो नियम तिनीहरूलाई सधैँ लागू हुनेछ: चोख्याउने पानी छर्कने मानिसले+ आफ्नो लुगा धोओस् अनि जसले त्यो चोख्याउने पानी छुन्छ, ऊ साँझसम्म अशुद्ध रहनेछ। २२ अशुद्ध मानिसले छोएको जुनसुकै कुरा अशुद्ध हुनेछ अनि जसले त्यो अशुद्ध कुरा छुन्छ, ऊ पनि साँझसम्म अशुद्ध हुनेछ।’”+