युहन्नाका अनुसार
९ अब बाटोमा जाँदै गर्दा उहाँले एक जना जन्मजात अन्धो मानिसलाई देख्नुभयो। २ अनि चेलाहरूले उहाँलाई सोधे: “रब्बी,+ कसले पाप गरेकोले यो मानिस अन्धो जन्मियो, यसले कि यसका आमाबुबाले?” ३ येसुले जवाफ दिनुभयो: “न यस मानिसले पाप गरेकोले न त यसका आमाबुबाले पाप गरेकोले तर यस मानिसको मामिलामा परमेश्वरका कामहरू प्रकट होऊन् भनेर यसो भएको हो।+ ४ मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ+ किनकि रात आउँदै छ, जब कुनै मानिसले काम गर्न सक्दैन। ५ जबसम्म म संसारमा छु, म संसारको ज्योति हुँ।”+ ६ यी कुराहरू भनेपछि उहाँले भुईँमा थुक्नुभयो अनि थुक र माटो मुछेर लेप बनाउनुभयो र त्यस मानिसको आँखामा लगाइदिनुभयो+ ७ अनि उसलाई भन्नुभयो: “जाऊ, सिलोआमको (जसको अनुवाद हो, “पठाइएको”) कुण्डमा गएर पखाल।” तब उसले गएर पखाल्यो अनि देख्ने भएर फर्कियो।+
८ तब छिमेकीहरूले अनि ज-जसले पहिला ऊ माग्न बसेको देख्ने गर्थे, तिनीहरूले यसो भन्न थाले: “के यो त्यही मानिस होइन र, जो पहिला माग्न बस्थ्यो?” ९ कोही-कोहीले भनिरहेका थिए: “त्यही हो।” अरूले यसो भनिरहेका थिए: “अहँ, होइन तर हेर्दा चाहिँ त्योजस्तै देखिन्छ।” त्यस मानिसले चाहिँ यसो भनिरहेको थियो: “म त्यही मानिस हुँ।” १० तब तिनीहरूले उसलाई सोधे: “त्यसोभए तिम्रो आँखा कसरी खुल्यो त?” ११ उसले जवाफ दियो: “येसु नाम गरेको एक जना मानिसले लेप बनाएर मेरो आँखामा लगाइदिनुभयो र मलाई ‘सिलोआममा गएर पखाल’ भन्नुभयो।+ त्यसैले मैले गएर पखालेँ अनि दृष्टि पाएँ।” १२ यो सुनेर तिनीहरूले उसलाई सोधे: “त्यो मानिस कहाँ छ?” उसले भन्यो: “मलाई थाह छैन।”
१३ तिनीहरूले त्यो मानिस, जो पहिला अन्धो थियो, उसलाई फरिसीहरूकहाँ लगे। १४ संयोगको कुरा, येसुले लेप बनाएर उसको आँखा खोलिदिनुभएको दिन+ विश्रामदिन* थियो।+ १५ त्यसकारण उसले कसरी दृष्टि पायो भनेर अब फरिसीहरूले पनि उसलाई सोध्न थाले। उसले तिनीहरूलाई भन्यो: “उहाँले मेरो आँखामा लेप लगाइदिनुभयो अनि मैले पखालेँ र देख्ने भएँ।” १६ तब केही फरिसीले भन्न लागे: “त्यो मानिस परमेश्वरबाट आएको होइन किनभने त्यसले विश्रामदिन मान्दैन।”+ अरूले चाहिँ यसो भने: “पापी मानिसले कसरी त्यस्ता किसिमका चमत्कारहरू गर्न सक्छ र?”+ यसरी तिनीहरूमाझ फूट उत्पन्न भयो।+ १७ तिनीहरूले त्यस अन्धो मानिसलाई फेरि सोधे: “तिमी उसको विषयमा के भन्छौ? किनकि उसले तिम्रै आँखा खोलिदिएको हो।” त्यस मानिसले भन्यो: “उहाँ भविष्यवक्ता हुनुहुन्छ।”
१८ तर त्यस अन्धो मानिसका आमाबुबालाई नबोलाएसम्म यहुदीहरूले ऊ अन्धो थियो र अहिले देख्न सक्ने भएको हो भनेर पत्याएनन्। १९ तब तिनीहरूले उसका आमाबुबालाई सोधे: “के यो तिमीहरूको छोरा हो, जो जन्मैदेखि अन्धो थियो भनी तिमीहरू भन्छौ? त्यसोभए अहिले उसले कसरी देख्न सक्यो त?” २० उसका आमाबुबाले जवाफ दिए: “यो हाम्रो छोरा हो र ऊ जन्मैदेखि अन्धो थियो भनेर हामीलाई थाह छ। २१ तर ऊ अहिले कसरी देख्ने भयो वा कसले उसको आँखा खोलिदियो, त्योचाहिँ हामीलाई थाह छैन। उसैलाई सोध्नुहोस्। ऊ बच्चा होइन। आफ्नो विषयमा ऊ आफैले बताउनुपर्छ।” २२ यहुदीहरूसित डराएर+ उसका आमाबुबाले यसो भनेका थिए किनकि जसले येसुलाई ख्रिष्टको रूपमा स्विकार्छ, उसलाई सभाघरबाट निकाल्ने* भनी यहुदीहरूले पहिल्यै सहमति गरिसकेका थिए।+ २३ यसैकारण उसका आमाबुबाले भने: “ऊ बच्चा होइन। उसैसित सोधपुछ गर्नुहोस्।”
२४ त्यसैले तिनीहरूले त्यो मानिस, जो पहिला अन्धो थियो, उसलाई दोस्रो चोटि बोलाएर भने: “सत्य बोलेर परमेश्वरको महिमा गर; यो मानिस पापी हो भनेर हामीलाई थाह छ।” २५ उसले जवाफ दियो: “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, मलाई थाह छैन। मलाई यति मात्र थाह छ, म पहिला अन्धो थिएँ तर अहिले देख्ने भएको छु।” २६ तब तिनीहरूले उसलाई सोधे: “उसले तिमीलाई के गऱ्यो? उसले तिम्रो आँखा कसरी खोलिदियो?” २७ उसले तिनीहरूलाई जवाफ दियो: “मैले तपाईँहरूलाई पहिल्यै भनेको थिएँ तर तपाईँहरूले सुन्नुभएन। तपाईँहरू किन फेरि सुन्न चाहनुहुन्छ? कतै तपाईँहरू पनि उहाँको चेला बन्न त चाहनुहुन्न?” २८ यो सुनेर तिनीहरूले उसलाई होच्याउँदै यसो भने: “त्यस मानिसको चेला तिमी नै हौ; हामी त मोसाका चेला हौँ। २९ परमेश्वरले मोसासित कुरा गर्नुभएको थियो भनेर हामीलाई थाह छ तर यस मानिसको विषयमा भने ऊ कहाँबाट आएको हो, हामीलाई थाह छैन।” ३० त्यस मानिसले तिनीहरूलाई जवाफ दियो: “कस्तो अचम्मको कुरा! उहाँले मेरो आँखा खोलिदिनुभयो तैपनि उहाँ कहाँबाट आउनुभएको हो भनेर तपाईँहरूलाई थाह छैन। ३१ हामीलाई थाह छ, परमेश्वरले पापीहरूको कुरा सुन्नुहुन्न+ तर यदि कसैले परमेश्वरको डर मान्छ अनि उहाँको इच्छाअनुसार गर्छ भने उहाँले उसको कुरा सुन्नुहुन्छ।+ ३२ जन्मजात अन्धो मानिसको आँखा कसैले खोलिदियो भनेर आजसम्म सुनिएको छैन। ३३ यदि उहाँ परमेश्वरबाट आउनुभएको नहुँदो हो त उहाँले केही पनि गर्न सक्नुहुने थिएन।”+ ३४ तब तिनीहरूले उसलाई जवाफ दिए: “पापैमा जन्मेको मानिस भएर पनि के तिमी हामीलाई सिकाउँदै छौ?” अनि तिनीहरूले उसलाई बाहिर निकालिदिए।+
३५ तिनीहरूले उसलाई बाहिर निकाले भनी येसुले सुन्नुभयो र उसलाई भेटेपछि उहाँले सोध्नुभयो: “के तिमी मानिसको छोरामाथि विश्वास गर्छौ?” ३६ त्यस मानिसले जवाफ दियो: “उहाँ को हुनुहुन्छ हजुर? मलाई भन्नुहोस् ताकि मैले उहाँमाथि विश्वास गर्न सकूँ।” ३७ येसुले भन्नुभयो: “तिमीले उसलाई देखेका छौ र वास्तवमा तिमी अहिले उसैसित कुरा गरिरहेका छौ।” ३८ तब उसले भन्यो: “प्रभु, म उहाँमाथि विश्वास गर्छु।” अनि उसले उहाँलाई दण्डवत् गऱ्यो। ३९ येसुले भन्नुभयो: “म न्याय गर्न संसारमा आएको हुँ ताकि ज-जसले देख्दैनन्, तिनीहरूले देखून्+ र ज-जसले देख्छन्, तिनीहरू अन्धा होऊन्।”+ ४० उहाँसँगै भएका फरिसीहरूले जब यो कुरा सुने, तब तिनीहरूले उहाँलाई सोधे: “के हामी पनि अन्धा हौँ त?” ४१ येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू अन्धा हुँदा हौ त तिमीहरूमा पाप हुने थिएन। तर अब तिमीहरू भन्छौ: ‘हामी देख्छौँ।’ त्यसैले तिमीहरूको पाप रहिरहन्छ।”+