पहिलो राजा
३ सुलेमानले मिश्रका* फारोसित* वैवाहिक नाता गाँसे। तिनले फारोकी छोरीसित विवाह गरे+ अनि उनलाई दाउदनगरमा ल्याए।+ तिनले आफ्नो महल,+ यहोवा परमेश्वरको भवन+ र यरुसलेमको वरिपरि पर्खाल+ बनाएर नसिद्ध्याएसम्म फारोकी छोरीलाई त्यहीँ राखे। २ मानिसहरू अझै पनि उपासनाको लागि बनाइएका अग्ला थानहरूमा* बलि चढाउने गर्थे+ किनभने त्यतिबेलासम्म यहोवा परमेश्वरको नामको निम्ति कुनै भवन बनाइएको थिएन।+ ३ आफ्ना बुबा दाउदले बताएको विधि-विधानअनुसार हिँडेर सुलेमानले यहोवा परमेश्वरलाई प्रेम गरिरहे। तर उनले ती अग्ला थानहरूमा आगोमा बलि चढाउन भने छोडेका थिएनन्।+
४ राजा बलि चढाउन गिबोन गए किनभने उपासनाको लागि बनाइएका अग्ला थानहरूमध्ये सबैभन्दा मुख्य अग्लो थान त्यही नै थियो।+ सुलेमानले त्यहाँको वेदीमा १ हजार जनावर अग्निभेटी* चढाए।+ ५ यहोवा परमेश्वर गिबोनमा राती सुलेमानकहाँ सपनामा प्रकट हुनुभयो अनि उहाँले भन्नुभयो: “तिमी के चाहन्छौ, भन।”+ ६ सुलेमानले यस्तो जवाफ दिए: “तपाईँले मेरा बुबा दाउदलाई अपार प्रेम* देखाउनुभएको छ किनभने उहाँ तपाईँको सामुन्ने विश्वासयोग्य, धर्मी* र शुद्ध हृदयको भएर हिँड्नुभयो। अनि उहाँको सिंहासनमा बस्न उहाँलाई छोरा दिएर तपाईँले आजसम्म उहाँलाई अपार प्रेम देखाइरहनुभएको छ।+ ७ हे मेरा परमेश्वर यहोवा, म भर्खरको ठिटो हुँ र मसँग त्यत्ति अनुभव पनि छैन।+ तैपनि तपाईँले मेरा बुबा दाउदको साटो मलाई राजा बनाउनुभएको छ। ८ आफूले रोजेका यी असङ्ख्य मानिसमाथि शासन गर्न तपाईँले यस दासलाई नियुक्त गर्नुभएको छ।+ ९ त्यसैले तपाईँका मानिसहरूको न्याय गर्न+ अनि सही र गलत छुट्ट्याउन+ यस दासलाई आज्ञाकारी हृदय दिनुहोस्। किनकि तपाईँको यो अनगिन्ती* प्रजामाथि कसले पो न्याय गर्न सक्छ र?”
१० सुलेमानको यस्तो बिन्ती सुनेर यहोवा परमेश्वर प्रसन्न हुनुभयो।+ ११ अनि परमेश्वरले भन्नुभयो: “तिमीले यस्तो बिन्ती गऱ्यौ अनि आफ्नो लामो आयु अथवा धनसम्पत्ति अथवा शत्रुहरूको विनाश होस् भनेर मागेनौ तर तिमीले न्याय गर्न बुद्धि माग्यौ।+ १२ त्यसैले म तिमीले मागेकै आशिष् दिनेछु।+ तिमीलाई बुद्धि र समझले भरिएको हृदय दिनेछु।+ तिमीजस्तो बुद्धिमान् मानिस न पहिले थियो न पछि नै हुनेछ।+ १३ यसबाहेक तिमीले नमागेको धनसम्पत्ति र मानसम्मान+ पनि म दिनेछु+ अनि तिम्रो जीवनकालमा* तिमीजस्तो राजा अरू कोही हुनेछैन।+ १४ मेरो मार्गमा हिँड्न तिमीले आफ्ना बुबा दाउदले जस्तै मेरा विधि-विधान र आज्ञाहरू पालन गऱ्यौ भने+ म तिमीलाई दीर्घायु बनाउनेछु।”*+
१५ त्यसपछि सुलेमान निद्राबाट ब्युँझिए र आफूले दर्शन* देखेको रहेछु भनेर थाह पाए। त्यसपछि तिनी यरुसलेम गए अनि यहोवा परमेश्वरको करारको सन्दुकअगाडि* उभिए। त्यहाँ तिनले अग्निभेटी र मेलबलि*+ चढाए र आफ्ना सबै सेवकलाई भोज दिए।
१६ एकपटकको कुरा हो, दुई वेश्या राजाकहाँ आए। १७ पहिलीले भनी: “हे महाराज! म र यो आइमाई एउटै घरमा बस्छौँ अनि ऊ घरमै छँदा मैले बच्चा जन्माएँ। १८ मेरो बच्चा जन्मेको तेस्रो दिनमा उसले पनि बच्चा जन्माई। त्यस घरमा हामी दुई जनाबाहेक अरू कोही पनि थिएन। १९ राती सुतिरहेको बेला उसकै जीउले थिचिएर उसको छोराचाहिँ मरेछ। २० हजुरकी यो दासी सुतिरहेकी बेला उसले मध्यरातमा उठेर मेरो छोरा लगिछे र उसको मरेको छोराचाहिँ मेरो छेउमा* सुताएर गइछे। २१ मेरो छोरालाई दूध खुवाउन म बिहान उठ्दा त ऊ मरिसकेको रहेछ। अनि मैले उसलाई नियालेर हेरेँ र ऊ मैले जन्माएको छोरा होइन रहेछ भनेर थाह पाएँ।” २२ तर दोस्रीले भनी: “होइन, जिउँदोचाहिँ मेरै छोरा हो। मरेकोचाहिँ तेरो हो!” तर पहिलीले यसो भन्न थाली: “होइन, तेरो छोराचाहिँ मरेको हो। त्यो जिउँदोचाहिँ मेरो हो!” यसरी तिनीहरू राजाकै सामुन्ने बाझाबाझ गर्न थाले।
२३ अन्तमा राजाले भने: “एउटीले ‘जिउँदो छोरा मेरो हो, मरेकोचाहिँ तेरो हो’ भन्छे अनि अर्कीले पनि ‘होइन, मरेकोचाहिँ तेरो हो, जिउँदोचाहिँ मेरो हो’ भन्छे।” २४ अनि राजाले भने: “मलाई एउटा तरबार देओ।” तब राजालाई एउटा तरबार दिइयो। २५ त्यसपछि राजाले भने: “यो बच्चालाई दुई टुक्रा पार। अनि दुवैलाई आधा-आधा देओ।” २६ यो सुन्नेबित्तिकै जिउँदो बच्चाकी आमाको मन मायाले भरियो अनि उसले राजालाई यस्तो बिन्ती गरी: “हे मेरा प्रभु! यो बच्चा उसैलाई दिनुहोस्। बिन्ती छ, बच्चालाई नमार्नुहोस्।” तर अर्कीले यसो भन्न थाली: “यो बच्चा न मेरो हुन्छ न त तेरो! यसलाई आधा-आधा पारियोस्।” २७ तब राजाले भने: “यस बच्चालाई नमार। यसलाई पहिली आइमाईलाई देऊ। ऊ नै यसकी आमा हो।”
२८ राजाले गरेको यस्तो फैसलाबारे सबै इस्राएलीले सुने अनि तिनीहरूले राजाको भय मान्न थाले।+ आफ्नो प्रजाको न्याय गर्न परमेश्वरले राजालाई बुद्धि दिनुभएको छ भनेर तिनीहरूले देखे।+