हबकुक
३ भविष्यवक्ता हबकुकले शोकगीतको रूपमा चढाएको प्रार्थना:
२ हे यहोवा, मैले तपाईँबारे एउटा कुरा सुनेको छु।
हे यहोवा, तपाईँका कामहरूले गर्दा ममा भय र श्रद्धा जागेको छ।
हाम्रो पालामा* ती पूरा गर्नुहोस्!
हाम्रो पालामा* त्यसबारे थाह दिनुहोस्।
विपत्तिको बेलामा कृपा देखाउन नभुल्नुहोस्।+
३ परमेश्वर तेमानबाट आउनुभयो,
पवित्र परमेश्वर पारान डाँडाबाट आउनुभयो।+ (सेला)*
उहाँको वैभवले आकाशलाई ढाक्यो+
अनि पृथ्वीचाहिँ उहाँको प्रशंसाले भरियो।
४ उहाँको चमक दिनको उज्यालोजस्तै थियो।+
उहाँको हातबाट दुई वटा किरण निस्कियो,
जसमा उहाँको शक्ति लुकेको थियो।
५ महामारी उहाँको अघिअघि गइरहेको थियो+
अनि निस्लोट ज्वरो उहाँको पछिपछि आइरहेको थियो।
६ उहाँ टक्क अडिनुभयो र पृथ्वीलाई हल्लाउनुभयो।+
उहाँको एक हेराइले राष्ट्रहरू डरले उफ्रिए।+
अनन्त कालका पहाडहरू चकनाचुर भए
अनि प्राचीनकालका डाँडाहरू निहुरिए।+
पहिलेदेखि नै उहाँका मार्गहरू यस्तै छन्।
७ कुसानको पालमा विपत्ति आएको मैले देखेँ।
मिद्यानको पालका कपडाहरू काँपिरहेका थिए।+
८ हे यहोवा, के तपाईँको रिस नदीहरूविरुद्ध हो?
के तपाईँको क्रोध नदीहरूविरुद्ध दन्किएको हो?
वा तपाईँ समुद्रदेखि क्रोधित हुनुभएको हो?+
किनकि तपाईँ आफ्ना घोडाहरूमा सवार हुनुभयो;+
९ तपाईँले आफ्नो धनु निकाल्नुभएको छ र तपाईँ काँड हान्न तयार हुनुहुन्छ।
शपथ पूरा गर्नलाई छडी* तयार छ।* (सेला)
तपाईँले पृथ्वीलाई नदीहरूले चिर्नुभयो।
१० तपाईँलाई देखेर पहाडहरू पीडाले छटपटाए।+
मुसलधारे पानी परेर भल बग्यो।
जमिनमुनि पानीको मूल ठूलो स्वरले गर्जियो।+
त्यसले आफ्नो हात माथि उचाल्यो।
११ सूर्य र चन्द्रमा आफ्नो उच्च ठाउँमा टक्क अडिरहे।+
तपाईँका काँडहरू प्रकाशजस्तै अघि बढे।+
तपाईँको भालाको चमक बिजुलीको चमकजस्तै तेजिलो थियो।
१२ क्रोधित हुँदै तपाईँ धर्तीमा पाइला टेक्दै जानुभयो।
आफ्नो रिसमा तपाईँले राष्ट्रहरूलाई कुल्चनुभयो।*
१३ तपाईँ आफ्ना मानिसहरूको उद्धार गर्न, आफूले अभिषेक गरेको जनलाई बचाउन निस्कनुभयो।
दुष्टको घरानाको शासकलाई तपाईँले कुल्चीमिल्ची पार्नुभयो।
तपाईँले त्यसलाई जगदेखि टुप्पोसम्मै* उदाङ्ग पार्नुभयो। (सेला)
१४ त्यसका योद्धाहरू मलाई तितरबितर पार्न आँधीहुरीजस्तै आउँदा
तपाईँले तिनीहरूको हतियार* तिनीहरूकै टाउकोमा रोपिदिनुभयो।
दुःखमा परेकाहरूलाई सुटुक्क नाश गर्न पाउँदा तिनीहरू साह्रै रमाउँथे।
१५ तपाईँ समुद्रमाथि, उर्लिरहेको विशाल सागरमाथि
आफ्ना घोडाहरूमा सवार भएर आउनुभयो।
१६ त्यो सुनेर म काँप्न थालेँ।*
मैले सुनेको आवाजले गर्दा मेरा ओठ थरथराए।
मेरा हड्डीहरू मक्किए;+
मेरा खुट्टाहरू काँप्न थाले।
तर म विनाशको दिनलाई चुपचाप पर्खिरहन्छु+
किनकि त्यो विनाश हामीलाई आक्रमण गर्नेहरूमाथि आइपर्नेछ।
१७ अन्जिरको रूखमा फूल नलागे पनि,
अङ्गुरको बोटमा फल नलागे पनि,
जैतुनको रूखले फल नदिए पनि
अनि खेतले* उब्जनी नदिए पनि,
खोरमा एउटै भेडाबाख्रा बाँकी नरहे पनि
अनि गोठमा कुनै वस्तुभाउ बाँकी नरहे पनि
१८ म भने यहोवालाई सम्झेर रमाउनेछु;
मेरो उद्धार गर्नुहुने परमेश्वरलाई सम्झेर म आनन्दित हुनेछु।+
१९ ब्रह्माण्डका मालिक यहोवा नै मेरो बल हुनुहुन्छ;+
उहाँले मेरो खुट्टालाई हरिणको खुट्टाजस्तै बनाउनुहुनेछ
र मलाई अग्ला-अग्ला ठाउँहरूमा हिँडाउनुहुनेछ।+
निर्देशकलाई: मेरो तारे बाजा बजाएर गाउने।