यहोसु
२४ त्यसपछि यहोसुले इस्राएलका सबै कुललाई सकेममा भेला गराए अनि इस्राएलका नाइकेहरू, मुखियाहरू, न्यायकर्ताहरू र अफिसरहरूलाई+ बोलाए अनि तिनीहरू साँचो परमेश्वरसामु हाजिर भए। २ तब यहोसुले त्यहाँ भेला भएका सबैलाई भने: “इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: ‘धेरै वर्षअघि अब्राहामका र नाहोरका बुबा तेरहलगायत तिमीहरूका अरू पुर्खाहरू+ युफ्रेटिस नदीपारि बस्थे+ अनि तिनीहरू अर्कै देवताहरूलाई पुज्थे।+
३ “‘पछि मैले तिमीहरूका पुर्खा अब्राहामलाई युफ्रेटिस नदीपारिबाट ल्याएँ+ र तिनलाई कनान देशको पूरै यात्रा गराएँ अनि तिनका सन्तान धेरै बढाइदिएँ।+ मेरो आशिष्ले तिनको छोरा इसहाक + जन्मियो ४ अनि इसहाकका दुई जना छोरा याकुब र एसाव भए।+ मैले एसावलाई सम्पत्तिको रूपमा सेइर डाँडा दिएँ;+ याकुब र उनका छोराहरूचाहिँ मिश्र देशतिर लागे।+ ५ पछि मैले तिमीहरूका पुर्खालाई बचाउन मोसा र हारुनलाई पठाएँ+ अनि मैले मिश्रीहरूमाथि एकपछि अर्को विपत्ति ल्याएँ+ र तिमीहरूका पुर्खालाई त्यहाँबाट छुटाएँ। ६ मैले तिमीहरूका पुर्खालाई मिश्रबाट छुटाएर+ लाल समुद्रसम्म ल्याएँ तर मिश्रीहरू आफ्ना रथ अनि घोडचढी लिएर तिनीहरूलाई खेद्दै त्यहीँ आइपुगे।+ ७ यो देखेपछि तिमीहरूका पुर्खाले यहोवालाई पुकार्न थाले।+ त्यसैले मैले तिमीहरूका पुर्खालाई बचाउन तिनीहरू र मिश्रीहरूबीच कालो बादल राखिदिएँ। त्यसपछि समुद्र उर्लेर आयो र सबै मिश्री डुबेर मरे।+ मिश्रमा छँदा मैले के-के गरेँ, त्यो तिमीहरूका पुर्खाले आफ्नै आँखाले देखे।+ त्यहाँबाट निस्केपछि तिमीहरूले निर्जनभूमिमा धेरै वर्ष* बितायौ।+
८ “‘मैले तिमीहरूलाई एमोरीहरूको देशमा ल्याएँ, जो यर्दनपारि* बसोबास गर्थे अनि एमोरीहरूले तिमीहरूसित लडाइँ गरे।+ तर तिमीहरूले एमोरीहरूको इलाका कब्जा गर्न सक भनेर मैले एमोरीहरूलाई तिमीहरूको हातमा सुम्पिदिएँ। मैले ती एमोरीहरूलाई तिमीहरूकै सामने नाश गरिदिएँ।+ ९ त्यसपछि जिप्पोरका छोरा अर्थात् मोआबका राजा बालाक तिमीहरूसित लडाइँ गर्न आए। बालाकले तिमीहरूलाई सराप्न बेअरका छोरा बालामलाई बोलाए।+ १० तर मैले बालामको कुरा सुनिनँ।+ बरु तिनले उल्टै तिमीहरूलाई धेरै चोटि आशिष् दिए+ अनि मैले तिमीहरूलाई तिनको हातबाट बचाएँ।+
११ “‘त्यसपछि तिमीहरू यर्दन+ तरेर यरिहोमा+ आइपुग्यौ। अनि यरिहोका अगुवाहरू,* एमोरी, परिज्जी, कनानी, हित्ती, गिर्गासी, हिव्वी र यबुसीहरू तिमीहरूसित लडाइँ गर्न आए। तर मैले तिनीहरू सबैलाई तिमीहरूको हातमा सुम्पिदिएँ।+ १२ तिमीहरू ती जातिहरू बसोबास गरिरहेको इलाकामा पुग्नुभन्दा पहिल्यै मैले त्यहाँका मानिसहरूलाई हतोत्साहित तुल्याइदिएँ।* अनि त्यही डरले गर्दा जसरी एमोरीहरूका दुई जना राजा भागेका थिए, त्यसरी नै ती मानिसहरू पनि भागे।+ तिमीहरूले आफ्नो तरबार र धनुले तिनीहरूलाई जितेका होइनौ।+ १३ मैले तिमीहरूलाई यस्तो देश दिएँ, जसको निम्ति तिमीहरूले मेहनतै गर्नुपरेन अनि यस्ता सहरहरू दिएँ, जसलाई तिमीहरूले बसाल्नै परेन।+ तिमीहरू यहाँ आयौ र बसोबास गर्न थाल्यौ। अनि तिमीहरू आफूले नरोपेको अङ्गुर र जैतुनको बगानको फल खाँदै छौ।’+
१४ “त्यसैले यहोवा परमेश्वरको भय मान अनि सत्यनिष्ठ* र वफादार भई उहाँको सेवा गर।+ तिमीहरूका पुर्खाले युफ्रेटिस नदीपारि अनि मिश्रमा छँदा पुजेका देवताहरू हटाएर+ यहोवा परमेश्वरको उपासना गर। १५ तर तिमीहरू यहोवा परमेश्वरको उपासना गर्न चाहँदैनौ भने कसको उपासना गर्न चाहन्छौ, आजै रोज:+ तिमीहरूका पुर्खाले युफ्रेटिस नदीपारि पुजेका देवताहरूको+ कि अहिले तिमीहरू बसोबास गरिरहेको एमोरीहरूको इलाकाका देवताहरूको?+ तर म र मेरो परिवारले भने यहोवा परमेश्वरकै उपासना गर्नेछौँ।”
१६ यो सुनेपछि मानिसहरूले भने: “यहोवा परमेश्वरलाई छोडेर अरू देवताहरूलाई पुज्ने कुरा हामी सोच्न समेत सक्दैनौँ। १७ यहोवा हाम्रा परमेश्वरले नै हामी र हाम्रा पुर्खालाई दासत्वको घर+—मिश्रबाट छुटाएर ल्याउनुभयो+ अनि उहाँले हाम्रै आँखाअगाडि ठूलठूला चमत्कारहरू गरेर देखाउनुभयो+ अनि पूरै यात्राभरि उहाँले हामीलाई डोऱ्याउनुभयो र हामी जुन-जुन जातिहरूको इलाका भएर हिँड्यौँ, त्यहाँ तिनीहरूको हातबाट जोगाउनुभयो।+ १८ यहाँ हामीभन्दा अघि बसोबास गर्ने एमोरी र अरू जातिहरू सबैलाई यहोवा परमेश्वरले धपाउनुभयो। त्यसैले हामी पनि यहोवा परमेश्वरकै उपासना गर्नेछौँ किनभने उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ।”
१९ तब यहोसुले मानिसहरूलाई भने: “के तिमीहरू साँच्चै यहोवा परमेश्वरको मात्र उपासना गरिरहन सक्छौ? उहाँ पवित्र परमेश्वर हुनुहुन्छ;+ उहाँबाहेक अरू कसैको भक्ति गरिएको उहाँ सहनुहुन्न।+ उहाँले तिमीहरूका अपराध* र पापहरू क्षमा गर्नुहुनेछैन।+ २० यहोवा परमेश्वरले तिमीहरूको भलो गर्नुभएको छ। तर यदि तिमीहरूले उहाँलाई त्यागेर अरू देवताहरूलाई पुज्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ र तिमीहरूलाई सर्वनाश गर्नुहुनेछ।”+
२१ यो सुनेपछि मानिसहरूले यहोसुलाई भने: “होइन, हामी यहोवा परमेश्वरकै उपासना गर्नेछौँ!”+ २२ तब यहोसुले मानिसहरूलाई भने: “तिमीहरू आफैले यहोवा परमेश्वरको मात्र उपासना गर्ने छनौट गरेका छौ र तिमीहरू नै यस कुराको साक्षी पनि हौ।”+ यो सुनेपछि तिनीहरूले भने: “हो, हामी साक्षी हौँ।”
२३ “त्यसोभए तिमीहरूमाझ भएका विदेशी देवताहरू हटाओ र आफ्नो सारा हृदयले इस्राएलका परमेश्वर यहोवाको उपासना गर।” २४ तब मानिसहरूले यहोसुलाई भने: “हामी यहोवा हाम्रा परमेश्वरको उपासना गर्नेछौँ र उहाँको कुरा मान्नेछौँ!”
२५ त्यसैले यहोसुले त्यो दिन सकेममा मानिसहरूसित करार गरे अनि तिनीहरूको निम्ति नियम र कानुन दिए। २६ त्यसपछि यहोसुले यी सबै कुरा परमेश्वरको व्यवस्थाको पुस्तकमा लेखे+ अनि तिनले एउटा ठूलो ढुङ्गा लिए+ र त्यसलाई यहोवा परमेश्वरको पवित्र स्थानको* छेउमा भएको विशाल रूखमुनि राखे।
२७ त्यहाँ भेला भएका सबै मानिसलाई यहोसुले भने: “हेर! यो ढुङ्गा हाम्रो साक्षी हो+ किनभने यहोवा परमेश्वरले हामीलाई भन्नुभएको सबै कुरा यसले सुनेको छ र तिमीहरूले परमेश्वरलाई मान्न इन्कार गऱ्यौ भने यसले तिमीहरूविरुद्ध साक्षी दिनेछ।” २८ यति भनेपछि यहोसुले मानिसहरूलाई पठाइदिए र तिनीहरू पैतृक सम्पत्तिको रूपमा पाएको आ-आफ्नो इलाकामा फर्के।+
२९ त्यसपछि नुनका छोरा, यहोवा परमेश्वरका सेवक यहोसुको ११० वर्षको उमेरमा मृत्यु भयो।+ ३० तिनीहरूले यहोसुलाई तिम्नाथ-सेरहमा गाडे। यो ठाउँ गास डाँडाको उत्तरतिर यहोसुले पैतृक सम्पत्तिको रूपमा पाएको+ एप्रैमको पहाडी इलाकामा पर्थ्यो। ३१ इस्राएलीहरूले यहोसु बाँचुन्जेल यहोवा परमेश्वरको सेवा गरिरहे। साथै तिनीहरूले ती नाइकेहरू बाँचुन्जेल पनि उहाँको सेवा गरिरहे, जो यहोसुको मृत्युपछि पनि जीवितै थिए र जसले यहोवा परमेश्वरले इस्राएलीहरूको खातिर गर्नुभएको सबै काम देखेका थिए।+
३२ मिश्र देशबाट निस्कँदा इस्राएलीहरूले आफूसँगै ल्याएको युसुफका हड्डीहरू+ सकेम भन्ने ठाउँको एउटा जमिनमा गाडे। त्यो जमिन याकुबले हामोरका छोराहरूबाट १०० टुक्रा चाँदीमा किनेका थिए।+ हामोरका एक जना छोराको नाम सकेम थियो। पछि त्यो जमिन युसुफका छोराहरूको पैतृक सम्पत्ति भयो।+
३३ पछि हारुनका छोरा एलियाजारको पनि मृत्यु भयो।+ त्यसैले तिनीहरूले एलियाजारलाई ‘पिनहासको डाँडा’-मा गाडे।+ एप्रैमको पहाडी इलाकामा पर्ने त्यो डाँडा एलियाजारका छोरा पिनहासलाई दिइएको थियो।