पहिलो समुएल
२६ केही समयपछि जिफका+ मानिसहरू गिबाहमा+ आए र साउललाई भने: “दाउद यसिमोनको* अगाडि पर्ने हकिलाह डाँडामा लुकेको छ।”+ २ त्यसैले इस्राएलीहरूबाट छानिएका ३ हजार मानिसलाई लिएर साउल दाउदलाई खोज्न जिफको निर्जनभूमितिर झरे।+ ३ साउल यसिमोनको अगाडि पर्ने हकिलाह डाँडामा बाटोको छेउमै छाउनी हालेर बसे। त्यतिबेला दाउदचाहिँ निर्जनभूमिमा बसिरहेका थिए। साउल आफूलाई खोज्न निर्जनभूमिमा आएका छन् भनेर दाउदले थाह पाए। ४ साउल साँच्चै आएका हुन् कि होइनन् भनेर पक्का गर्न दाउदले जासुसहरू पठाए। ५ पछि दाउद आफै साउल छाउनी हालेर बसेको ठाउँमा गए। उनले साउल र नेरका छोरा, सेनापति अब्नेर+ सुतिरहेको ठाउँ देखे। साउल छाउनीमा सुतिरहेका थिए अनि तिनको चारैतिर सेनाका डफ्फा थिए। ६ अनि दाउदले हित्ती+ अहिमेलेकलाई र जेरुयाहका छोरा,+ योआबका दाइ अबिसैलाई+ सोधे: “साउलको छाउनीमा तिमीहरूमध्ये कोचाहिँ मसँग जान चाहन्छौ?” अबिसैले भने: “म जान्छु।” ७ त्यो रात दाउद र अबिसै साउलको छाउनीमा गए। उनीहरूले छाउनीको बीचतिर साउल सुतिरहेको देखे; तिनको सिरानीनजिकै जमिनमा भाला गाडेर राखिएको थियो। अब्नेर र सिपाहीहरू साउलको चारैतिर सुतिरहेका थिए।
८ यो देखेर अबिसैले दाउदलाई भने: “हेर्नुहोस्, आज परमेश्वरले तपाईँको शत्रुलाई तपाईँको हातमा सुम्पिदिनुभएको छ।+ अब कृपया मलाई आदेश दिनुहोस्, म साउललाई भाला हानेर एकै चोटिमा भुईँमा उनिदिन्छु, फेरि हान्नै पर्दैन।” ९ तर दाउदले अबिसैलाई भने: “उहाँलाई केही नगर। यहोवा परमेश्वरका अभिषिक्त जनविरुद्ध+ हात उठाउने कुनचाहिँ मानिस निर्दोष रहन सक्ला र?”+ १० दाउदले अझै भने: “जीवित परमेश्वर यहोवाको कसम खाएर म भन्छु, यहोवा परमेश्वरले नै साउललाई मार्नुहुनेछ+ वा युद्धमा साउलको मृत्यु हुनेछ+ वा अरू मानिसजस्तै एकदिन उहाँ मर्नुहुनेछ।+ ११ यहोवा परमेश्वरका अभिषिक्त जनविरुद्ध हात उठाउने कुरा म सोच्न पनि सक्दिनँ।+ यसो गर्नु यहोवा परमेश्वरको नजरमा गलत हो। साउलको सिरानीनजिकै भएको भाला र सुराही उठाऊ अनि हामी यहाँबाट जाऔँ।” १२ त्यसपछि दाउदले साउलको सिरानीनजिकै भएको भाला र सुराही लिए अनि उनीहरू त्यहाँबाट गए। उनीहरू गएको कसैले चाल पाएन,+ उनीहरूलाई कसैले देखेन अनि कोही पनि ब्युँझेन। किनभने साउल र तिनका मानिसहरू सबै जना मस्त निदाइरहेका थिए। यहोवा परमेश्वरले नै तिनीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको थियो। १३ त्यसपछि दाउद पारिपट्टि गएर डाँडाको टुप्पामा उभिए। दाउद उभिएको ठाउँ र साउलको छाउनीबीच निकै दूरी थियो।
१४ त्यहाँबाट दाउदले साउलका मानिसहरूलाई र नेरको छोरा सेनापति अब्नेरलाई+ ठूलो स्वरले बोलाए। दाउदले भने: “अब्नेर! तिमी सुन्दै छौ?” अब्नेरले जवाफ दिए: “राजाको नाम लिएर बोलाउने तिमी को हौ?” १५ दाउदले भने: “के तिमी वीर पुरुष होइनौ र? इस्राएलमा तिमीजस्तो योद्धा अरू कोही छ र? तिमीले किन तिम्रा प्रभु, तिम्रा महाराजको सुरक्षा गरेनौ? तिम्रा प्रभु, तिम्रा महाराजलाई मार्न एउटा सिपाही त्यहाँ आएको थियो।+ १६ तिमीले आफ्नो जिम्मेवारी पूरा गरेनौ। जीवित परमेश्वर यहोवाको कसम खाएर म भन्छु, तिमी मारिनै पर्छ। किनभने यहोवा परमेश्वरका अभिषिक्त जन,+ तिम्रा प्रभुको तिमीले रक्षा गरेनौ। राजाको सिरानीनजिकै राखेको भाला र सुराही खोइ कहाँ छ?”+
१७ तब साउलले दाउदको स्वर चिने र उनलाई भने: “हे मेरो छोरा दाउद! मसित बोल्ने तिमी नै हौ?”+ दाउदले भने: “हे मेरा प्रभु, मेरा महाराज, म नै हुँ।” १८ उनले अझै भने: “मेरा प्रभु, तपाईँ मलाई किन खेद्दै हुनुहुन्छ?+ मैले तपाईँलाई के गरेको छु? मेरो के दोष छ र?+ १९ हे मेरा प्रभु, मेरा महाराज, कृपया आफ्नो दासको कुरा सुन्नुहोस्: यदि यहोवा परमेश्वरले नै तपाईँलाई मेरो विरुद्धमा सुऱ्याउनुभएको हो भने उहाँले मेरो अन्नभेटी स्विकारून्।* तर यदि मानिसहरूले तपाईँलाई सुऱ्याएका हुन् भने+ यहोवा परमेश्वरसामु तिनीहरू श्रापित होऊन्। किनभने यहोवा परमेश्वरले पैतृक सम्पत्तिको+ रूपमा दिनुभएको देशबाट तिनीहरूले मलाई धपाएका छन् र यसो भनेका छन्, ‘जा! अरू देवताको पूजा गर्!’ २० बिन्ती छ, म यहोवा परमेश्वरको उपस्थितिबाट टाढा गएर मर्नु नपरोस्।* पहाडहरू हुँदो च्याखुरोलाई खेदेझैँ इस्राएलका राजाले जाबो एउटा उपियाँलाई खेद्दै हुनुहुन्छ।”+
२१ त्यसपछि साउलले भने: “मैले पाप गरेँ।+ हे मेरो छोरा दाउद, फर्केर आऊ! म तिमीलाई अब केही गर्दिनँ किनभने तिमी मेरो जीवनलाई अनमोल ठान्छौ+ भनेर आज देखियो। मैले मूर्खता देखाएँ, मैले ठूलो गल्ती गरेँ।” २२ अनि दाउदले भने: “राजाको भाला यहाँ छ। तपाईँका जवानहरूमध्ये एक जनालाई यो लिन पठाउनुहोस्। २३ यहोवा परमेश्वर हरेक मानिसलाई उसको धार्मिकता* र वफादारीको इनाम दिनुहुन्छ।+ आज यहोवा परमेश्वरले तपाईँलाई मेरो हातमा सुम्पिदिनुभएको थियो तर मैले यहोवा परमेश्वरका अभिषिक्त जनविरुद्ध हात उठाउन चाहिनँ।+ २४ जसरी मैले आज तपाईँको जीवनलाई अनमोल सम्झेँ, त्यसैगरि यहोवा परमेश्वरले पनि मेरो जीवनलाई अनमोल सम्झून् र उहाँले मलाई सबै सङ्कष्टबाट बचाऊन्।”+ २५ साउलले दाउदलाई भने: “हे मेरो छोरा दाउद, परमेश्वरले तिमीलाई आशिष् देऊन्! तिमीले साँच्चै ठूलठूला काम गर्नेछौ अनि तिमी विजयी हुनेछौ।”+ त्यसपछि दाउद आफ्नो बाटो लागे र साउल पनि आफ्नो ठाउँ फर्के।+