गन्ती
१३ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: २ “मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशमा जासुसहरू पठाउनू। हरेक कुलबाट त्यस कुलका कुलनायकलाई छान्नू।”+
३ त्यसैले यहोवा परमेश्वरको आज्ञाबमोजिमै मोसाले तिनीहरूलाई पारान निर्जनभूमिबाट+ कनान पठाए। तिनीहरू सबै जना इस्राएलीहरूका नाइके थिए। ४ तिनीहरूका नाम यी नै हुन्: रुबेनको कुलबाट जक्कुरको छोरा साम्मुअ; ५ सिमियोनको कुलबाट होरिको छोरा सापात; ६ यहुदाको कुलबाट यपुन्नेको छोरा कालेब;+ ७ इस्साकारको कुलबाट युसुफको छोरा इगाल; ८ एप्रैमको कुलबाट नुनको छोरा होसिया;+ ९ बिन्यामिनको कुलबाट रफुको छोरा पल्ति; १० जबुलुनको कुलबाट सोदिको छोरा गाद्दिएल; ११ युसुफको कुल+ अर्थात् मनस्सेको कुलबाट+ सुसिको छोरा गाद्दि; १२ दानको कुलबाट गेमल्लिको छोरा अम्मिएल; १३ असेरको कुलबाट माइकलको छोरा सिथर; १४ नप्तालिको कुलबाट बोफ्सिको छोरा नहबि; १५ गादको कुलबाट माकिको छोरा गुएल। १६ मोसाले कनान देशमा जासुसी गर्न पठाएका पुरुषहरूका नाम यी नै हुन्। मोसाले नुनको छोरा होसियाको नाम यहोसु* राखे।+
१७ मोसाले तिनीहरूलाई कनान देशको जासुसी गर्न पठाउँदा यसो भने: “तिमीहरू यहाँबाट नेगेबतिर जानू अनि त्यसपछि पहाडी इलाकातिर उक्लनू।+ १८ त्यो देश कस्तो छ,+ त्यहाँ बस्ने मानिसहरू बलिया छन् कि कमजोर, धेरै छन् कि थोरै १९ अनि त्यो देश राम्रो छ कि छैन, त्यहाँका मानिसहरू बसोबास गरिरहेका सहरहरू खुला छन् कि पर्खालले घेरिएका छन्, त्यो पत्ता लगाउनू। २० अनि त्यहाँको जमिन उर्वर छ कि बाँझो,+ त्यहाँ रूखहरू छन् कि छैनन्, त्यो पनि हेरेर आउनू। तिमीहरू साहसी हुनू+ अनि त्यहाँको केही उब्जनी लिएर आउनू।” त्यो अङ्गुरको पहिलो फसलको समय थियो।+
२१ त्यसपछि तिनीहरू त्यहाँबाट निस्के र तिनीहरूले जिन निर्जनभूमिबाट+ लेबो-हमाथनजिकै*+ पर्ने रेहोबसम्म+ गएर त्यहाँका सबै कुरा बुझे। २२ त्यसपछि तिनीहरू नेगेबतिर उक्लेर हेब्रोन आइपुगे,+ जहाँ अहिमन, सेसै र तल्मैका+ सन्तान बस्थे। यिनीहरू अनाकीहरू थिए।+ अनि यो हेब्रोन सहर मिश्रको जोअनभन्दा सात वर्षअघि नै स्थापना भइसकेको थियो। २३ अनि एस्कोल बेँसीमा* पुगेपछि+ तिनीहरूले अङ्गुरको झुप्पा भएको एउटा हाँगा काटे र त्यसलाई लट्ठीमा झुन्ड्याएर दुई जनाले बोके। तिनीहरूले त्यससँगै केही अनार र अन्जिर पनि झुन्ड्याए।+ २४ तिनीहरूले त्यो ठाउँको नाम एस्कोल* बेँसी राखे+ किनकि ती इस्राएलीहरूले त्यहाँ अङ्गुरको झुप्पा काटेका थिए।
२५ तिनीहरू त्यो देशको सबै कुरा जाँचबुझ गरेर ४० दिनपछि फर्के।+ २६ अनि तिनीहरू पारान निर्जनभूमिमा भएको कादेस+ आइपुगे। त्यहाँ तिनीहरूले मोसा, हारुन र इस्राएलीहरूका सारा समुदायलाई सबै विवरण सुनाए अनि त्यहाँबाट ल्याएका फलफूल पनि देखाए। २७ तिनीहरूले मोसालाई यस्तो खबर सुनाए: “हामी तपाईँले पठाउनुभएको देशमा गयौँ। त्यहाँ साँच्चै दूध र मह बग्दो रहेछ!+ अनि हेर्नुहोस्, त्यहाँबाट ल्याएको फल!+ २८ तर त्यहाँका मानिसहरू एकदमै बलिया रहेछन्। त्यहाँका सहरहरू पर्खालले घेरिएका र एकदम ठूलठूला रहेछन्। हामीले त्यहाँ अनाकीहरूलाई पनि देख्यौँ।+ २९ अमालेकीहरू+ नेगेबमा+ अनि हित्ती, यबुसी+ र एमोरीहरूचाहिँ+ पहाडी इलाकामा बस्दा रहेछन्। कनानीहरू + भने समुद्रको छेउछाउमा र यर्दन नदीको किनारमा बस्दा रहेछन्।”+
३० तब कालेबले मोसासामु उभिरहेका मानिसहरूलाई यसो भन्दै शान्त पार्न खोजे: “तुरुन्तै गएर त्यो देश कब्जा गरौँ किनभने हामी अवश्य विजयी हुनेछौँ।”+ ३१ तर तिनीसँगै गएका पुरुषहरूले भने: “हामी तिनीहरूसित लड्न सक्दैनौँ किनभने तिनीहरू हामीभन्दा धेरै बलिया छन्।”+ ३२ आफू गएको देशबारे तिनीहरूले इस्राएलीहरूलाई यस्तो नराम्रो खबर सुनाइरहे:+ “हामी जासुसी गर्न गएको देशले त आफ्नै बासिन्दालाई सखाप पार्दो रहेछ अनि त्यहाँका मानिसहरू बडेमाका रहेछन्।+ ३३ हामीले त्यहाँ नपिलहरू* देख्यौँ, तिनीहरू अनाकीहरू+ अर्थात् नपिलका सन्तान हुन्। तिनीहरूको अगाडि त हामी फट्याङ्ग्राजस्तै देखिन्थ्यौँ अनि तिनीहरू पनि हामीलाई पक्कै त्यस्तै ठान्छन्।”