दोस्रो राजा
५ सिरियाका राजाका सेनापति नामान गण्यमान्य पुरुष थिए। राजाले* तिनको निकै इज्जत गर्थे किनकि यहोवा परमेश्वरले तिनीमार्फत सिरियालाई विजयी तुल्याउनुभएको* थियो। तिनी एक वीर योद्धा थिए तर तिनलाई कुष्ठरोग* लागेको थियो। २ एकपटक इस्राएलीहरूलाई आक्रमण गर्न जाँदा सिरियालीहरूले इस्राएलबाट एउटी ठिटीलाई पनि बन्दी बनाएर ल्याएका थिए। ती ठिटी नामानकी पत्नीकी दासी भइन्। ३ उनले आफ्नी मालिक्नीलाई भनिन्: “मेरा मालिक सामरियाका भविष्यवक्तालाई भेट्न जानुभए हुन्थ्यो।+ ती भविष्यवक्ताले उहाँलाई निको पारिदिने थिए।”+ ४ त्यसैले तिनी* गए र ती इस्राएली ठिटीले भनेको कुरा आफ्ना मालिकलाई सुनाए।
५ तब सिरियाका राजाले भने: “तिमी तुरुन्तै जाऊ! म इस्राएलका राजालाई पत्र पठाउँछु।” त्यसैले नामान गए। तिनले आफूसँग १० टालेन्ट* चाँदी, ६ हजार टुक्रा सुन र १० जोर लुगा पनि लगे। ६ तिनले इस्राएलका राजालाई त्यो पत्र दिए। पत्रमा यस्तो लेखिएको थियो: “म मेरा सेवक नामानलाई यो पत्रसहित तपाईँकहाँ पठाउँदै छु। तिनको कुष्ठरोग निको पारिदिनुहोस्।” ७ पत्र पढ्नेबित्तिकै इस्राएलका राजाले आफ्नो लुगा च्याते र यसो भने: “कसैलाई मृत्यु वा जीवन दिन सक्ने के म ईश्वर हुँ र?+ हेर त! तिनले यी मानिसलाई मकहाँ पठाएका छन्; मैले उसको कुष्ठरोग निको पारिदिनुपऱ्यो अरे! तिनी हामीसँग लडाइँ गर्न निहुँ खोज्दै छन्।”
८ इस्राएलका राजाले आफ्नो लुगा च्याते भनेर सुन्नेबित्तिकै साँचो परमेश्वरका सेवक एलिसाले राजाकहाँ यो सन्देश पठाए: “तपाईँले किन आफ्नो लुगा च्यात्नुभयो? कृपया ती मानिसलाई मकहाँ पठाउनुहोस् र तिनले इस्राएलमा भविष्यवक्ता रहेछन् भनी थाह पाऊन्।”+ ९ त्यसैले नामान आफ्ना घोडाहरू र रथहरू लिएर एलिसाकहाँ गए अनि एलिसाको घरको ढोकामा उभिए। १० तर एलिसाले एक जना सन्देशवाहकलाई यसो भन्न लगाए: “गएर यर्दन+ नदीमा सात पटक डुबुल्की मार्नुहोस्+ अनि तपाईँको शरीर स्वस्थ हुनेछ र तपाईँ शुद्ध हुनुहुनेछ।” ११ यो सुनेर नामान रिसले चूर भए र यसो भन्दै फर्कन खोजे: “मैले त सोचेको थिएँ, ‘तिनी मलाई भेट्न बाहिर आउनेछन् र यहाँ उभिएर आफ्ना परमेश्वर यहोवाको नाम पुकार्नेछन् अनि कुष्ठरोग लागेको ठाउँमाथि आफ्नो हात हल्लाएर मलाई निको पारिदिनेछन्।’ १२ के हाम्रो दमिसकका+ अबाना नदी र फारपर नदी इस्राएलका सबै नदीभन्दा असल छैनन् र? के म त्यहीँ डुबुल्की मारेर शुद्ध हुन सक्दिनँ र?” यति भनेर तिनी रिसको झोँकमा त्यहाँबाट गए।
१३ तब नामानका सेवकहरूले तिनीकहाँ आएर भने: “हे मेरा मालिक!* यदि ती भविष्यवक्ताले कुनै गाह्रो काम गर्न लगाएका भए के तपाईँले गर्नुहुने थिएन र? तिनले त केवल यति भनेका छन्, ‘नदीमा गएर डुबुल्की मार्नुहोस् र शुद्ध हुनुहोस्।’ यति सजिलो काम गर्न तपाईँ किन पछि हट्नुहुन्छ?” १४ तब तिनी गए र साँचो परमेश्वरका सेवकले भनेअनुसारै यर्दन नदीमा सात पटक डुबुल्की मारे।+ त्यसपछि तिनको छाला बालकको जस्तै+ भयो र तिनी शुद्ध भए।+
१५ त्यसपछि नामान लावालस्करसाथ साँचो परमेश्वरका सेवककहाँ फर्केर गए+ अनि उनीसामु खडा भएर यसो भने: “अब मैले थाह पाएँ, सारा पृथ्वीमा केवल इस्राएलमा मात्र परमेश्वर हुनुहुँदो रहेछ।+ बिन्ती छ, आफ्नो सेवकको हातबाट केही उपहार लिनुहोस्।” १६ तर एलिसाले भने: “जीवित परमेश्वर यहोवा, जसको म सेवा गर्छु,* उहाँको कसम खाएर भन्छु, म यो उपहार लिन्नँ।”+ नामानले उनलाई उपहार लिन कर गरिरहे तर उनले मान्दै मानेनन्। १७ आखिरमा नामानले यसो भने: “तपाईँ उपहार लिनुहुन्न भने ठीकै छ। तर बिन्ती छ, आफ्नो यस सेवकलाई दुई वटा खच्चरले बोक्न सक्नेजति माटो यहाँबाट लैजाने अनुमति दिनुहोस्। किनकि अब म यहोवा परमेश्वरलाई बाहेक अरू कुनै देवीदेवतालाई अग्निभेटी* वा बलि चढाउँदिनँ। १८ तर यहोवा परमेश्वरले तपाईँको यस सेवकलाई केवल एउटा कुराको लागि क्षमा देऊन्: रिम्मोनलाई दण्डवत् गर्न मेरा मालिक मन्दिरमा जाँदा उहाँ मेरो पाखुरा समातेर आड लिनुहुन्छ। त्यसैले म पनि त्यहाँ उहाँसँगै निहुरिनुपर्ने हुन्छ। जब म रिम्मोनसामु निहुरिन्छु, तब यहोवा परमेश्वरले ममाथि कृपा गरेर मलाई क्षमा गरिदेऊन्।” १९ तब एलिसाले भने: “ढुक्क भएर जानुहोस्।” त्यसपछि नामान त्यहाँबाट गए। जब तिनी यात्रा गरेर अलि पर पुगे, २० तब साँचो परमेश्वरका सेवक+ एलिसाका चाकर गेहजिले+ मनमनै सोचे: ‘मेरो मालिकले यो के गर्नुभयो? उहाँले ती सिरियाली नामानले+ ल्याएको उपहार नलिईकन तिनलाई त्यसै जान दिनुभयो! जीवित परमेश्वर यहोवाको कसम खाएर म भन्छु, म तिनको पछि दौडेर जान्छु र तिनीबाट केही उपहार लिन्छु।’ २१ त्यसैले गेहजि नामानलाई भेट्न दौडेर गए। आफ्नो पछिपछि कोही दौडेर आइरहेको देखेपछि नामान रथबाट ओर्लिए र उनलाई यसो भने: “के भयो? सबै ठीक त छ?” २२ गेहजिले जवाफ दिए: “हजुर, सबै ठीक छ। मेरा मालिकले तपाईँलाई यो खबर पठाउनुभएको छ, ‘एप्रैमको पहाडी इलाकाबाट ‘भविष्यवक्ताहरूका छोराहरू’-मध्ये* दुई जना भर्खरै मकहाँ आएका छन्। कृपया ती दुई जना युवकको लागि एक टालेन्ट चाँदी र दुई जोर लुगा दिनुहोस्।’”+ २३ नामानले भने: “भइहाल्छ नि! एक होइन, दुई टालेन्ट चाँदी लैजानुहोस्।”+ नामानले गेहजिलाई कर गरे। तब गेहजिले दुई टालेन्ट चाँदी र दुई जोर लुगा लिएर दुई वटा बोरामा हाले र आफ्नो दुई जना सेवकलाई दिए। तिनीहरू ती बोकेर उनको अघिअघि गए।
२४ ओफेल* आइपुगेपछि गेहजिले ती दुई जना सेवकको हातबाट बोराहरू लिएर आफ्नो घरमा राखे अनि तिनीहरूलाई पठाइदिए। तिनीहरू त्यहाँबाट गएपछि २५ उनी आफ्नो मालिकसामु गएर उभिए। एलिसाले उनलाई सोधे: “गेहजि, तिमी कहाँ गएका थियौ?” उनले जवाफ दिए: “तपाईँको यो सेवक कतै गएको थिएन।”+ २६ तब एलिसाले उनलाई भने: “तिमी ती मानिसको पछिपछि गएको र तिनी तिमीलाई भेट्न आफ्नो रथबाट ओर्लेको मलाई थाह छैन भन्ठानेको? के अहिले चाँदी, लुगा, जैतुनको बारी, अङ्गुरको बगान, भेडा, गाईवस्तु अथवा दासदासी थुपार्ने समय हो र?+ २७ अब नामानको कुष्ठरोगले+ तिमी र तिम्रो सन्तानलाई कहिल्यै छोड्नेछैन।” एलिसाले यसो भन्नेबित्तिकै गेहजिलाई कुष्ठरोग लाग्यो र उनी हिउँजस्तै सेता भए।+ तब उनी त्यहाँबाट निस्के।