यसैया
३९ त्यसबेला बेबिलोनका राजा मरोदक-बलदान, जो बलदानका छोरा थिए, तिनले हिजकियाह बिरामी परेका थिए र अहिले निको भएका छन् भनेर सुने।+ त्यसैले तिनले आफ्ना दूतहरूको हातमा हिजकियाहकहाँ चिठी र उपहार पठाए।+ २ हिजकियाहले खुसी हुँदै उनीहरूलाई स्वागत गरे अनि आफ्नो पूरै ढुकुटी देखाए।+ तिनले सुन, चाँदी, बाल्सम तेल* र अन्य असल तेलका साथै आफ्नो हतियार-गृह र आफ्नो भण्डारमा भएका सबै थोक देखाए। तिनले उनीहरूलाई आफ्नो महलमा र आफ्नो राज्यमा नदेखाएको कुरा केही थिएन।
३ त्यसपछि भविष्यवक्ता यसैया राजा हिजकियाहकहाँ आए र तिनलाई सोधे: “यी मानिसहरूले के भने र यिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाहले यस्तो जवाफ दिए: “यिनीहरू टाढाको देश बेबिलोनबाट आएका हुन्।”+ ४ यसैयाले फेरि सोधे: “तिनीहरूले तपाईँको महलमा के-के देखे?” हिजकियाहले भने: “तिनीहरूले मेरो महलमा भएका सबै कुरा देखे। मेरो भण्डारमा मैले तिनीहरूलाई नदेखाएको कुरा केही थिएन।”
५ तब यसैयाले हिजकियाहलाई यसो भने: “सेनाहरूका यहोवाको वचन सुन्नुहोस्। ६ यहोवा परमेश्वर भन्नुहुन्छ, ‘हेर! यस्तो दिन आउँदै छ, जब तिम्रो महलमा भएका र तिम्रा पुर्खाहरूले अहिलेसम्म जम्मा गरेका सबै थोक बेबिलोनमा लगिनेछ। केही बाँकी छोडिनेछैन।+ ७ अनि तिमीबाट जन्मने तिम्रा छोराहरूमध्ये केहीलाई लगिनेछ र तिनीहरू बेबिलोनका राजाको दरबारमा अफिसर हुनेछन्।’”+ ८ तब हिजकियाहले यसैयालाई यसो भने: “तपाईँले सुनाउनुभएको यहोवा परमेश्वरको वचन न्यायोचित छ।” तिनले यसो पनि भने: “किनकि मेरो जीवनकालमा शान्ति र सुरक्षा छाउनेछ।”+