पहिलो राजा
५ जब टायरका राजा हिरामले+ सुलेमान आफ्नो बुबाको ठाउँमा राजा नियुक्त भएका छन् भनेर थाह पाए, तब तिनले आफ्ना सेवकहरूलाई सुलेमानकहाँ पठाए। किनकि हिराम लामो समयदेखि दाउदको मिल्ने साथी थिए।*+ २ सुलेमानले पनि हिरामकहाँ यस्तो खबर पठाए:+ ३ “मेरो बुबा दाउदले आफ्ना परमेश्वर यहोवाको नामको निम्ति भवन बनाउन सक्नुभएन भनेर त तपाईँलाई थाहै छ। किनकि उहाँले वरपरका शत्रुहरूसित युद्ध गरिरहनुपरेको थियो। अनि यहोवा परमेश्वरले मेरो बुबालाई उहाँका शत्रुहरूमाथि विजयी तुल्याउनुभयो।+ ४ तर अब मेरा परमेश्वर यहोवाले मलाई चारैतिरका शत्रुहरूबाट विश्राम दिनुभएको छ।+ मेरो विरुद्धमा उठ्ने कोही छैन र अहिले मेरो राज्यमा कुनै समस्या छैन।+ ५ त्यसैले अब म मेरा परमेश्वर यहोवाको नामको निम्ति एउटा भवन बनाउन चाहन्छु। यहोवा परमेश्वरले मेरा बुबा दाउदसित यस्तो प्रतिज्ञा गर्नुभएको थियो: ‘तिम्रो छोरा, जसलाई म तिम्रो ठाउँमा तिम्रो सिंहासनमा राख्नेछु, तिनले नै मेरो नाममा एउटा भवन बनाउनेछन्।’+ ६ अब तपाईँका सेवकहरूलाई मेरो निम्ति लेबनानको देवदारका रूखहरू काट्न हुकुम दिनुहोस्।+ मेरा सेवकहरूले पनि तपाईँका सेवकहरूसँगै काम गर्नेछन्। अनि तपाईँ जति भन्नुहुन्छ, म तपाईँका सेवकहरूलाई त्यति नै ज्याला दिनेछु। तपाईँलाई थाहै छ, सिदोनीहरूजस्तो रूख काट्न सिपालु मानिस यहाँ हामीसँग कोही पनि छैन।”+
७ सुलेमानको यो खबर हिरामकहाँ पुगेपछि हिराम असाध्यै खुसी भए र भने: “यहोवाको प्रशंसा होस्! किनकि यी असङ्ख्य मानिसमाथि शासन गर्न उहाँले दाउदलाई एक जना बुद्धिमान् छोरा दिनुभएको छ।”+ ८ त्यसैले हिरामले राजा सुलेमानलाई यस्तो खबर पठाए: “तपाईँले पठाउनुभएको खबर मैले पाएँ। म तपाईँको इच्छाअनुसारै गर्नेछु। म तपाईँको लागि देवदार र धुपीको काठको प्रबन्ध गरिदिनेछु।+ ९ मेरा सेवकहरूले ती काठहरू लेबनानबाट समुद्र किनारासम्म ल्याउनेछन्। अनि म त्यसलाई बाँधेर तपाईँले तोक्नुभएको ठाउँसम्म समुद्रबाट पठाइदिनेछु। ती काठहरू त्यहाँ पुगेपछि ती फुकाउन लगाउनेछु अनि तपाईँले ती लैजानुहोला। त्यसको सट्टा मेरो घरानाको लागि मेरो बिन्तीअनुसारै खानेकुरा पठाइदिनुहोस्।”+
१० हिरामले सुलेमानको मागअनुसारै देवदार र धुपीका काठहरू पठाइदिए। ११ अनि सुलेमानले पनि हिरामको घरानाको लागि २० हजार कोर* गहुँ र २० कोर जैतुनको शुद्ध तेल दिए। सुलेमानले हिरामलाई वर्षैपिच्छे यी सरसामानहरू पठाउने गर्थे।+ १२ अनि यहोवा परमेश्वरले आफ्नो वाचाअनुसारै सुलेमानलाई बुद्धि दिनुभयो।+ हिराम र सुलेमानबीच मेलमिलाप थियो अनि तिनीहरूले आपसमा सन्धि* पनि गरे।
१३ राजा सुलेमानले सारा इस्राएलबाट आफ्नो लागि मजदुरी गर्न ३० हजार मानिस खोजे।+ १४ राजाले ती मजदुरहरूलाई हरेक महिना १०-१० हजारको सङ्ख्यामा पालैपालो लेबनान पठाउँथे। तिनीहरू एक महिना लेबनानमा काम गर्थे अनि दुई महिनाचाहिँ आफ्नै घरमा बस्थे। अदोनिरामचाहिँ राजाको लागि काम गर्ने ती मजदुरहरूका हाकिम थिए।+ १५ सुलेमानका भारी बोक्ने मजदुरहरू ७० हजार थिए अनि पहाडमा ढुङ्गा काट्ने मजदुरहरू+ ८० हजार थिए।+ १६ त्यसबाहेक सुलेमानले ३ हजार ३ सय मानिसलाई मजदुरहरूको निरीक्षण गर्न खटाएका थिए।+ १७ राजाको आदेशअनुसारै मजदुरहरूले भवनको जग बसाल्न+ खानीबाट ठूलठूला ढुङ्गाहरू निकाले।+ ती ढुङ्गाहरू असाध्यै बहुमूल्य थिए।+ १८ यसरी सुलेमानका र हिरामका कामदारहरूले गेबालीहरूसितै मिलेर ढुङ्गा काटे।+ तिनीहरूले भवनको लागि काठहरू र ढुङ्गाहरू तयार पारे।