नहेम्याह
५ केही पुरुष आ-आफ्नी पत्नीसितै आफ्ना यहुदी दाजुभाइको विरुद्धमा ठूलठूलो गुनासो लिएर आए।+ २ तिनीहरूमध्ये केही यसो भन्दै थिए: “हाम्रो परिवार ठूलो छ; हाम्रा बालबच्चा धेरै छन्। बाँच्नका लागि हामीलाई अन्न त अवश्य चाहिन्छ।” ३ अरू केहीचाहिँ यसो भन्दै थिए: “अहिले यस्तो अनिकालको बेला अन्न पाउन हामीले आफ्नो खेत, अङ्गुर बगान र घर धितो राख्नुपरेको छ।” ४ अझै अरूचाहिँ यसो भन्दै थिए: “राजालाई तिरो तिर्न हामीले आफ्नो खेत र अङ्गुर बगान धितो राखेर पैसा सापटी लिएका छौँ।+ ५ हामी पराई होइनौँ; हाम्रा ती दाजुभाइहरू र हामी एउटै शरीर, एउटै रगत हौँ। तिनीहरूका बालबच्चा हाम्रै बालबच्चा हुन्। तैपनि हामी तिनीहरूलाई आफ्ना छोराछोरी दासदासीको रूपमा दिन बाध्य छौँ। हाम्रा केही छोरी त पहिल्यै तिनीहरूको दासी भइसकेका छन्।+ तर यो सब रोक्न हामी केही गर्न सक्दैनौँ किनकि हाम्रा खेत र अङ्गुर बगान अरूकै भइसके।”
६ जब मैले ती मानिसहरूको बिलौना सुनेँ, तब मलाई साह्रै रिस उठ्यो। ७ मैले यी कुराहरूबारे गहिरिएर विचार गरेँ अनि यस विषयमा गण्यमान्य मानिसहरू र उप-शासकहरूसित कुरा गरेँ। मैले उनीहरूलाई सोधेँ: “म यो के सुन्दै छु, तपाईँहरू आफ्नै दाजुभाइबाट ब्याज* लिँदै हुनुहुन्छ?”+
उनीहरूको कारण मैले एउटा ठूलो सभा पनि बोलाउनुपऱ्यो। ८ मैले उनीहरूलाई यसो भनेँ: “हाम्रा यहुदी दाजुभाइ अरू राष्ट्रहरूमा बेचिएका थिए। तर हामीले सक्दो गऱ्यौँ अनि तिनीहरूलाई छुटाएर ल्यायौँ। तर अब तपाईँहरू आफ्नै दाजुभाइलाई बेच्दै हुनुहुन्छ।+ तिनीहरूलाई तपाईँहरूको हातबाट छुटाउन के हामीले तपाईँहरूलाई पनि दाम तिर्नुपऱ्यो?” यो सुनेर उनीहरूले केही बोल्नै सकेनन्। ९ तब मैले भनेँ: “तपाईँहरू जे गर्दै हुनुहुन्छ, त्यो ठीक छैन। तपाईँहरूले त हाम्रा परमेश्वरको डर मान्नुपर्ने हो+ ताकि अरू राष्ट्रहरू, हाम्रा शत्रुहरूले हाम्रो निन्दा गर्ने कुनै कारण नपाऊन्। १० त्यसैले बिन्ती छ, ब्याज लिन बन्द गर्नुहोस्। म, मेरा दाजुभाइ अनि मेरा सेवकहरूले पनि कुनै ब्याज नलिई मानिसहरूलाई पैसा र अन्न सापटी दिँदै छौँ।+ ११ बिन्ती छ, मानिसहरूको खेत,+ अङ्गुर बगान, जैतुन बगान र घर आजै फिर्ता गरिदिनुहोस्। साथै तपाईँहरूले तिनीहरूबाट ब्याजस्वरूप जति पनि पैसा,* अन्न, नयाँ मद्य र तेल लिनुभएको छ, ती सबै फिर्ता गरिदिनुहोस्।”
१२ तब उनीहरूले यसो भने: “हामी मानिसहरूको सबै थोक फिर्ता गरिदिनेछौँ र तिनीहरूबाट केही माग्नेछैनौँ। तपाईँले भन्नुभएको एक-एक कुरा हामी पालन गर्नेछौँ।” त्यसैले मैले पुजारीहरूलाई बोलाएँ र ती मानिसहरूलाई ‘हामी आफूले भनेअनुसारै गर्नेछौँ’ भनी कसम खान लगाएँ। १३ साथै मैले आफ्नो लुगाको पोल्टो टकटक्याएर यसो भनेँ: “आफ्नो यो प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसलाई साँचो परमेश्वरले यसरी नै टकटक्याइदेऊन् र कङ्गाल बनाइदेऊन्। उहाँले त्यसलाई त्यसको घर र धनसम्पत्तिबाट अलग गरिदेऊन्।” तब पूरै समुदायले भन्यो: “आमिन!”* उनीहरूले यहोवा परमेश्वरको प्रशंसा गरे र आफ्नो प्रतिज्ञा पूरा गरे।
१४ राजा आर्टजारसेजले+ आफ्नो शासनकालको २० औँ वर्षमा+ मलाई यहुदाको इलाकाका राज्यपाल नियुक्त गर्नुभएको थियो+ र उहाँको शासनकालको ३२ औँ वर्षसम्म म यहुदाको राज्यपाल भइरहेँ।+ तर यी १२ वर्षसम्म म र मेरा दाजुभाइले खानेकुराको भत्ता मागेनौँ, जुन एक राज्यपालको हक थियो।+ १५ मभन्दा अघिका राज्यपालहरूले मानिसहरूलाई निकै सताएका थिए। तिनीहरू खानेकुरा र मद्यको निम्ति मानिसहरूबाट हरेक दिन ४० शेकेल* चाँदी उठाउने गर्थे। तिनीहरूका सेवकहरूले पनि मानिसहरूमाथि निकै अत्याचार गरेका थिए। तर मैले भने त्यसो गरिनँ+ किनकि म परमेश्वरको भय मान्थेँ।+
१६ साथै मैले पर्खाल बनाउने काममा सघाएँ र मेरा सबै सेवकले पनि यस काममा मदत गरे। तर हामीले कसैबाट एक टुक्रा जमिन पनि लिएनौँ।+ १७ मसँगै १५० जना यहुदी तथा उप-शासकले मेरो टेबुलमा खाने गर्थे। यसबाहेक अरू राष्ट्रबाट आएका मानिसहरूले पनि मसँगै खाने गर्थे। १८ हरेक दिन मैले एउटा बहर र छ वटा असल-असल भेडाका साथै पन्छीहरूको मासु तयार पार्न लगाउँथेँ।* हरेक १० दिनमा एक पटक हाम्रो निम्ति प्रशस्त मात्रामा सबै किसिमका मद्य टक्य्राइन्थ्यो। तैपनि मैले कहिल्यै खानेकुराको भत्ता मागिनँ, जुन एक राज्यपालको हक थियो। किनकि राजाको सेवा गर्दा-गर्दा मानिसहरूमाथि पहिल्यै ठूलो भार परिसकेको थियो। १९ हे मेरा परमेश्वर! मैले यी मानिसहरूको खातिर जे-जे गरेँ, ती सबै सम्झनुहोस् र मलाई कृपा देखाउनुहोस्।*+