पहिलो समुएल
२१ केही समयपछि दाउद पुजारी अहिमेलेकलाई भेट्न नोब गए।+ दाउदलाई देखेपछि अहिमेलेक डरले काँप्न लागे र तिनले भने: “तपाईँ यहाँ किन एक्लै आउनुभयो? तपाईँसित किन अरू कोही छैन?”+ २ दाउदले पुजारी अहिमेलेकलाई भने: “राजाले मलाई एउटा काम अह्राउनुभएको छ र यसो भन्नुभएको छ, ‘यो काम र यसबारे मैले जे-जे निर्देशन दिएको छु, त्यो कसैलाई पनि नभन्नू।’ त्यसैले मैले आफ्ना मानिसहरूलाई मलाई एउटा ठाउँमा भेट्नू भनेको छु। ३ अहिले तपाईँसित पाँच वटा रोटी छ भने मलाई दिनुहोस्। रोटी छैन भने तपाईँसित जे खानेकुरा छ, त्यही दिनुहोस्।” ४ तर पुजारीले दाउदलाई भने: “मसँग साधारण रोटी छैन, पवित्र रोटी+ मात्र छ। तपाईँका मानिसहरू स्त्रीहरूसँग बिटुलिएका छैनन्* भने मात्र म त्यो रोटी तपाईँलाई दिन सक्छु।”+ ५ दाउदले पुजारीलाई भने: “पहिला-पहिला युद्धमा जाँदा पनि हामी स्त्रीहरूसँग बिटुलिने गरेका थिएनौँ।+ युद्धहरूमा जाँदा त हामी बिटुलिने गर्दैनथ्यौँ भने अहिले यो विशेष कामको लागि त झन् कत्ति शुद्ध छौँ होला!” ६ त्यसैले पुजारीले दाउदलाई पवित्र रोटी दिए+ किनभने त्यहाँ भेटीको रोटीबाहेक* अरू रोटी थिएन। त्यो रोटी यहोवा परमेश्वरको सामनेबाट हटाइसकिएको थियो र त्यही दिन त्यसको सट्टा ताजा रोटी राखिएको थियो।
७ त्यो दिन साउलको एक जना सेवक पनि त्यहीँ थियो; उसलाई यहोवा परमेश्वरसामु उपस्थित हुनदेखि रोकेर राखिएको थियो। उसको नाम दोएग+ थियो। ऊ एदोमी+ थियो र साउलका गोठालाहरूको नाइके थियो।
८ दाउदले अहिमेलेकलाई सोधे: “तपाईँसँग भाला वा तरबार छ? राजाले अह्राउनुभएको काम गर्न तुरुन्तै निस्कनुपरेकोले मैले आफ्नो तरबार, हतियार केही ल्याउन पाइनँ।” ९ अनि पुजारीले भने: “तपाईँले एलाह बेँसीमा+ मार्नुभएको पलिस्तियाली गोल्यतको तरबार+ यहाँ छ। त्यो तरबार कपडामा बेरेर एपोदको*+ पछाडि राखिएको छ। त्यो लैजान चाहनुहुन्छ भने लैजानुहोस् किनभने यहाँ त्योबाहेक अरू केही छैन।” यो सुनेर दाउदले भने: “त्यो जस्तो तरबार त अर्को कुनै छैन; मलाई त्यही दिनुहोस्।”
१० त्यो दिन दाउद त्यहाँबाट निस्केर गए। अनि साउलदेखि भाग्दा भाग्दै+ उनी गाथका+ राजा आकिसकहाँ पुगे। ११ राजा आकिसका सेवकहरूले आकिसलाई भने: “ऊ इस्राएलको राजा दाउद होइन र? उसकै बारेमा मानिसहरूले नाच्दै यस्तो गीत गाएका थिए:
‘साउलले हजारौँलाई मारे,
दाउदले लाखौँलाई मारे।’”+
१२ दाउदले ती सेवकहरूले भनेको कुरा विचार गरे र उनी गाथका राजा आकिससित असाध्यै डराए।+ १३ त्यसैले तिनीहरूको सामने दाउदले आफू बौलाएको+ नाटक गर्न थाले। उनले सहरका ढोकाहरूमा कोर्न थाले र दाह्रीमा राल चुहाए। १४ अनि राजा आकिसले आफ्ना सेवकहरूलाई भने: “हेर, यो मान्छे त बौलाहा रहेछ! यस्तो मान्छेलाई किन मकहाँ ल्यायौ? १५ मकहाँ बौलाहाहरूको कमी छ र? अब के यसलाई मेरो घरमा राख्नुपऱ्यो?”