यहोसु
१४ इस्राएलीहरूले कनान देशमा पैतृक सम्पत्तिको रूपमा पाएका इलाकाहरू यी नै हुन्। यी इलाकाहरू तिनीहरूलाई पुजारी एलियाजार, नुनका छोरा यहोसु र इस्राएलका कुलका घरानाहरूका नाइकेहरूले बाँडिदिएका थिए।+ २ यहोवा परमेश्वरले मोसामार्फत आज्ञा गर्नुभएझैँ यी इलाकाहरू नौ वटा कुल र अर्को आधा कुललाई+ गोला हालेर बाँडियो।+ ३ मोसाले दुई कुल र बाँकी आधा कुललाई यर्दनपारि* पैतृक सम्पत्ति दिइसकेका थिए;+ तिनले लेविको कुललाई भने कुनै पैतृक सम्पत्ति दिएनन्।+ ४ युसुफका सन्तानलाई दुई वटा कुल मानिन्थ्यो,+ मनस्सेको कुल र एप्रैमको कुल।+ लेवीहरूलाई बसोबास गर्न सहरहरू+ अनि तिनीहरूका वस्तुभाउको लागि चरन मात्र दिइयो; तिनीहरूलाई यसबाहेक अरू कुनै जग्गाजमिन दिइएन।+ ५ यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले जमिन बाँडे।
६ तब यहुदाको कुलका पुरुषहरू गिलगालमा+ यहोसुकहाँ आए अनि केनाज वंशका यपुन्नेका छोरा कालेबले+ यहोसुलाई भने: “साँचो परमेश्वर यहोवाले कादेस-बर्नेमा+ आफ्ना सेवक मोसालाई+ तपाईँको र मेरो विषयमा के भन्नुभएको थियो, तपाईँलाई राम्ररी थाह छ।+ ७ म ४० वर्षको हुँदा यहोवा परमेश्वरका सेवक मोसाले यस देशको जासुसी गर्न मलाई कादेस-बर्नेबाट पठाएका थिए+ अनि मैले जे देखेँ, त्यही तिनलाई बताइदिएँ।+ ८ मसँगै गएका मेरा दाजुभाइले मानिसहरूलाई त्रसित तुल्याउने कुराहरू बताए। तर मैले भने आफ्नो सारा हृदयले यहोवा परमेश्वरको आज्ञा मानेँ।+ ९ अनि त्यही दिन मोसाले यस्तो कसम खाएका थिए: ‘तिमीले जुन भूमिमा पाइला टेक्यौ, त्यो भूमि पैतृक सम्पत्तिको रूपमा तिमी र तिम्रा सन्तानले सधैँभरिका लागि पाउनेछौ किनभने तिमीले आफ्नो सारा हृदयले मेरा परमेश्वर यहोवाको आज्ञा मान्यौ।’+ १० इस्राएलीहरू निर्जनभूमिमा भौँतारिरहेको बेला यहोवा परमेश्वरले मोसासित यो प्रतिज्ञा गर्नुभएको ४५ वर्ष बितिसक्यो+ अनि यहोवा परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसारै+ मलाई सम्हालिरहनुभएको छ।+ हेर्नुहोस्, म अहिले ८५ वर्ष पुगिसकेँ र जीवितै छु। ११ मोसाले मलाई जासुसी गर्न पठाएको बेलामा जस्तै अहिले पनि म बलियो छु। लडाइँ लड्ने र अरू काम गर्ने मेरो तागत अझै घटेको छैन। १२ त्यसैले यो पहाडी इलाका मलाई दिनुहोस्, जसबारे यहोवा परमेश्वरले त्यो दिन प्रतिज्ञा गर्नुभएको थियो। त्यहाँ अनाकीहरू+ ठूलठूला पर्खालले घेरिएका सहरहरूमा बस्छन्+ भनेर तपाईँले त्यतिबेला सुन्नुभएको थियो। तर यहोवा परमेश्वर अवश्य मसित हुनुहुनेछ+ अनि यहोवा परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ म तिनीहरूलाई त्यहाँबाट धपाउनेछु।”+
१३ तब यहोसुले यपुन्नेका छोरा कालेबलाई आशिष् दिए र तिनलाई पैतृक सम्पत्तिको रूपमा हेब्रोन दिए।+ १४ त्यसैले हेब्रोन आजसम्म पनि केनाज वंशका यपुन्नेका छोरा कालेबको पैतृक सम्पत्ति हो किनभने तिनले आफ्नो सारा हृदयले इस्राएलका परमेश्वर यहोवाको आज्ञा पालन गरे।+ १५ हेब्रोनको पुरानो नाम किर्यथ-अर्बा थियो।+ (अर्बा अनाकीहरूमध्ये एक महान् पुरुष थिए।) अनि देशमा शान्ति छायो र इस्राएलीहरूले लडाइँ गर्नुपरेन।+