मलाकि
२ “अब हे पुजारीहरू हो, यो आज्ञा तिमीहरूको लागि हो।+ २ यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गरेनौ र मेरो नामको महिमा गर्नमा मन लगाएनौ भने,” सेनाहरूका यहोवा भन्नुहुन्छ, “म तिमीहरूमाथि सराप पठाउनेछु+ अनि तिमीहरूले पाएका आशिष्हरूलाई सरापमा परिणत गरिदिनेछु।+ हो, मैले आशिष्लाई सरापमा परिणत गरिदिएको छु किनकि तिमीहरूले मेरा आज्ञाहरूमा मन लगाएनौ।”
३ “हेर! तिमीहरूले छरेको बिउलाई म तिमीहरूकै कारण नाश गरिदिनेछु।*+ अनि म तिमीहरूको अनुहारमा गोबर फ्याँकिदिनेछु, हो, तिमीहरूले चाडको बेला बलि चढाएका जनावरहरूको गोबर। अनि तिमीहरूलाई त्यससँगसँगै उठाएर लगिनेछ।* ४ त्यसपछि लेविसित मैले गरेको करार कायम रहिरहोस् भनेर मैले नै तिमीहरूलाई यो आज्ञा दिएको हुँ भनी तिमीहरूले थाह पाउनेछौ,”+ सेनाहरूका यहोवा भन्नुहुन्छ।
५ “मैले तिनीसित गरेको करारले गर्दा तिनले जीवन र शान्ति पाए। तिनले मेरो डर मानून्* भनेर मैले तिनलाई यो आशिष् दिएँ। तिनले मेरो डर माने र मेरो नामको आदर गरे। ६ तिनको मुखमा सत्यको व्यवस्था* थियो+ र तिनको ओठमा कुनै छल पाइएन। तिनी मसित शान्तिमा रहे र मसित इमानदार भई हिँडे+ अनि तिनले थुप्रैलाई गलत बाटोबाट फर्काए। ७ पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ अनि मानिसहरूले तिनको मुखबाट व्यवस्थाका कुराहरू* सिक्नुपर्छ+ किनकि तिनी सेनाहरूका यहोवाका सन्देशवाहक हुन्।
८ “तर तिमीहरू आफै भने सही मार्गबाट तर्किएका छौ। तिमीहरूले गर्दा धेरै जना व्यवस्था पालन गर्नबाट चुकेका छन्।*+ लेविसित मैले गरेको करारलाई तिमीहरूले तोडेका छौ,”+ सेनाहरूका यहोवा भन्नुहुन्छ। ९ “त्यसकारण म तिमीहरूलाई सबै मानिसको नजरमा नीच र तुच्छ तुल्याइदिनेछु किनकि तिमीहरू मेरो मार्गबाट तर्कियौ अनि व्यवस्था लागू गर्दा पक्षपात गऱ्यौ।”+
१० “हामी सबैका बुबा एउटै हुनुहुन्न र?+ हामीलाई बनाउनुहुने परमेश्वर एउटै हुनुहुन्न र? त्यसोभए हामी किन एकअर्कालाई छल गरेर+ हाम्रा पुर्खाहरूले गरेको करार तोडिरहेका छौँ? ११ यहुदाले छल गरेको छ अनि इस्राएल र यरुसलेममा एउटा घिनलाग्दो काम गरिएको छ; यहुदाले यहोवा परमेश्वरको अपमान गरेको छ, जसले पवित्र कुरालाई* प्रेम गर्नुहुन्छ।+ अनि उसले पराई देवताको छोरीलाई आफ्नी दुलही बनाएर ल्याएको छ।+ १२ त्यसो गर्नेजति सबैलाई यहोवा परमेश्वरले याकुबको पालबाट निकालिदिनुहुनेछ, चाहे त्यो जोसुकै होस्। उसले सेनाहरूका यहोवाको लागि भेटी चढाउने गरेकै भए पनि ऊ निकालिनेछ।”+
१३ “अनि तिमीहरूले गरेको अर्को एउटा कामले गर्दा पनि यहोवाको वेदी आँसु, रोदन र सुस्केराले भरिएको छ; यही कारणले गर्दा उहाँले तिमीहरूको भेटीलाई वास्ता गर्न छोड्नुभएको छ र तिमीहरूले चढाएको कुनै पनि कुरा उहाँ ग्रहण गर्नुहुन्न।+ १४ अनि तिमीहरू भन्छौ, ‘हामीले त्यस्तो के गऱ्यौँ र?’ तिमीहरूले बैँसमा बिहे गरेको आफ्नी पत्नीलाई विश्वासघात गऱ्यौ र यहोवा परमेश्वर यसको साक्षी हुनुहुन्छ। तिमीहरूले आफ्नी सहयोगी, आफ्नी पत्नीलाई धोका दियौ, जससित तिमीहरूले करार गरेका थियौ।*+ १५ तर केहीले भने त्यसो गरेनन् किनकि तिनीहरूमा अझै परमेश्वरको पवित्र शक्ति थियो। अनि तिनीहरू केको पर्खाइमा थिए? तिनीहरू परमेश्वरको सन्तानको पर्खाइमा थिए। त्यसैले तिमीहरू आफ्नो मनलाई बरालिन नदेओ र आफूले बैँसमा बिहे गरेको पत्नीलाई धोका नदेओ। १६ किनकि म सम्बन्धविच्छेदलाई घृणा गर्छु,”*+ इस्राएलका परमेश्वर यहोवा भन्नुहुन्छ, “अनि हिंसा गर्नेलाई* पनि घृणा गर्छु,” सेनाहरूका यहोवा भन्नुहुन्छ। “आफ्नो मनलाई बरालिन नदेओ अनि तिमीहरूले धोका नदेओ।+
१७ “तिमीहरूले बोलेको सुनेर यहोवा परमेश्वर वाक्कै हुनुभएको छ।+ तर तिमीहरू भन्छौ, ‘हामीले कसरी उहाँलाई वाक्कै पाऱ्यौँ र?’ तिमीहरूले यसो भन्यौ, ‘दुष्ट काम गर्ने सबै जना यहोवा परमेश्वरको दृष्टिमा असल छन् अनि तिनीहरूलाई देखेर उहाँ खुसी हुनुहुन्छ।’+ अनि यसो पनि भन्यौ, ‘न्यायका परमेश्वर खोइ कहाँ छन्?’”