दोस्रो राजा
१९ यो खबर पाउनेबित्तिकै राजा हिजकियाहले आफ्नो लुगा च्याते र भाङ्ग्रा ओढेर यहोवा परमेश्वरको भवनमा गए।+ २ त्यसपछि तिनले महलको रेखदेख गर्ने जिम्मा पाएका एलियाकिम, सचिव सेब्नाह र पुजारीहरूका नाइकेहरूलाई आमोजका छोरा भविष्यवक्ता यसैयाकहाँ+ पठाए। तिनीहरू सबै भाङ्ग्रा ओढेर उनीकहाँ गए। ३ तिनीहरूले उनलाई यसो भने: “हिजकियाह भन्नुहुन्छ, ‘यो दिन दुःख, निन्दा* र अपमानको दिन हो। हामी प्रसववेदनामा परेकी स्त्रीझैँ भएका छौँ, जसको बच्चा जन्माउने बेला आइसकेको छ तर बच्चा जन्माउनलाई शक्ति नै छैन।+ ४ सायद यहोवा तपाईँका परमेश्वरले रबसाकेले भनेका सबै कुरा सुन्नुहुनेछ, जसलाई तिनका मालिक अस्सेरियाका राजाले जीवित परमेश्वरलाई हाँक दिन पठाएका थिए।+ अनि यहोवा तपाईँका परमेश्वरले जे-जे सुन्नुभयो, त्यसको लेखा उहाँले तिनीसित लिनुहुनेछ। त्यसैले देशमा जो-जो बाँकी रहेका छन्, तिनीहरूका लागि उहाँसित बिन्ती गरिदिनुहोस्।’”+
५ तब राजा हिजकियाहका सेवकहरू यसैयाकहाँ गए।+ ६ यसैयाले तिनीहरूलाई यसो भने: “गएर आफ्ना मालिकलाई भन्नू, ‘यहोवा परमेश्वर यसो भन्नुहुन्छ: “अस्सेरियाका राजाका सेवकहरूले जे-जे भनेर मेरो निन्दा गरे,+ त्यो सुनेर तिमीहरू नडराओ।+ ७ हेर, म उसको मनमा एउटा विचार हालिदिनेछु। उसले एउटा खबर सुन्नेछ र ऊ आफ्नै देशमा फर्किजानेछ। अनि ऊ आफ्नै देशमा तरबारले मारिनेछ।”’”+
८ अस्सेरियाका राजा लाकिसबाट+ गए भन्ने खबर सुनेपछि रबसाके उनीकहाँ फर्के। तिनले राजालाई लिब्नाहसित लडाइँ गरिरहेका भेट्टाए।+ ९ अस्सेरियाका राजाले इथियोपियाका राजा तिर्हाकाह उनीसित युद्ध लड्न आउँदै छन् भन्ने खबर पाए। तब उनले हिजकियाहकहाँ फेरि आफ्ना सन्देशवाहकहरूलाई+ यसो भनेर पठाए: १० “गएर यहुदाका राजा हिजकियाहलाई यसो भन, ‘तिमीले भरोसा गर्ने तिम्रा परमेश्वरले तिमीलाई यसो भन्दै भ्रममा नपारून्: “यरुसलेमलाई अस्सेरियाका राजाको हातमा सुम्पिइनेछैन।”+ ११ हेर! अस्सेरियाका राजाहरूले सबै देशलाई नाश गरेर तिनीहरूको हालत कस्तो बनाइदिएका छन्, त्यो तिमीले सुनेका छौ।+ त्यसोभए तिमीचाहिँ कसरी बच्न सक्छौ? १२ मेरा पितापुर्खाले जुन-जुन जातिलाई नाश गरेका थिए, के तिनीहरूका देवताहरूले तिनीहरूलाई बचाउन सके? गोजान, हारान+ र रेजेफ, खै कहाँ छन्? तेल-अस्सारमा बस्ने अदनका मानिसहरू कहाँ गए? १३ हमाथका राजा, अर्पादका राजा अनि सेफर्बेम, हेना र इव्वाह सहरका राजाहरू कहाँ छन्?’”+
१४ हिजकियाहले ती सन्देशवाहकहरूले ल्याएका पत्रहरू लिए र पढे। त्यसपछि तिनी यहोवा परमेश्वरको भवनमा गए र यहोवासामु ती पत्रहरू फिँजाए।+ १५ अनि तिनले यहोवा परमेश्वरलाई यसो भन्दै प्रार्थना गरे:+ “हे इस्राएलका परमेश्वर यहोवा, जो करूबहरूभन्दा+ माथि* विराजमान हुनुहुन्छ, पृथ्वीका सारा राज्यहरूमा तपाईँ मात्र साँचो परमेश्वर हुनुहुन्छ।+ तपाईँले नै स्वर्ग र पृथ्वी बनाउनुभयो। १६ हे यहोवा! मतिर आफ्नो कान फर्काउनुहोस् र मेरो कुरा सुन्नुहोस्।+ हे यहोवा! आफ्नो आँखा उघार्नुहोस् र हामीमाथि नजर लगाउनुहोस्।+ तपाईँ जीवित परमेश्वरलाई हाँक दिन सनहेरिबले भनेको एक-एक कुरामा ध्यान दिनुहोस्। १७ हे यहोवा! यो कुरा साँचो हो, अस्सेरियाका राजाहरूले सबै जाति र तिनीहरूको देशलाई ध्वस्त पारेका छन्।+ १८ उनीहरूले तिनीहरूका देवताहरूलाई आगोमा भस्म गरिदिएका छन्। किनकि ती साँच्चैका ईश्वर थिएनन्;+ ती त मानिसहरूको हातका काम मात्र थिए,+ काठ र ढुङ्गा मात्र थिए। त्यसैले त उनीहरूले ती देवताहरूलाई नाश गर्न सके। १९ तर हे यहोवा हाम्रा परमेश्वर, हामीलाई त्यसको हातबाट जोगाउनुहोस् र पृथ्वीका सबै राज्यले तपाईँ यहोवा मात्र परमेश्वर हुनुहुन्छ भनेर थाह पाऊन्।”+
२० त्यसपछि आमोजका छोरा यसैयाले हिजकियाहकहाँ यो सन्देश पठाए: “इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ, ‘तिमीले अस्सेरियाका राजा सनहेरिबको विषयमा गरेको बिन्ती मैले सुनेँ।+ २१ त्यसैले यहोवा परमेश्वरले उसको विरुद्धमा यसो भन्नुभएको छ:
“सियोनकी कुमारी छोरी तँलाई तुच्छ ठान्छिन्, उनी तेरो खिसी गर्छिन्।
यरुसलेमकी छोरी तँलाई गिज्याउँदै आफ्नो शिर हल्लाउँछिन्।
२२ तैँले कसलाई हाँक दिइस् र कसको निन्दा गरिस्?+
कसको विरुद्धमा तँ ठूलठूलो स्वरले कराइस्?+
तैँले कोविरुद्ध आफ्नो अहङ्कारी आँखा उठाइस्?
तैँले इस्राएलका पवित्र परमेश्वरविरुद्ध यी सब गरिस्!+
२३ तैँले आफ्ना सन्देशवाहकहरूमार्फत+ यहोवालाई हाँक दिँदै+ यसो भनिस्,
‘म आफ्ना अनगिन्ती रथसहित आउनेछु
र पहाडहरूको टुप्पोमा उक्लनेछु।
म लेबनानको टाढा-टाढासम्मै पुग्नेछु।
म देवदारका अग्ला-अग्ला रूखहरू, धुपीका असल-असल रूखहरू काट्नेछु।
अनि टाढा-टाढाका त्यसका शरणस्थान र त्यसका घना जङ्गलहरूमा छिर्नेछु।
२४ म बिरानो ठाउँमा इनार खन्नेछु र त्यहाँको पानी पिउनेछु।
म आफ्नो कुर्कुच्चोले टेकेर मिश्रका सबै खोला* सुकाइदिनेछु।’
२५ के तैँले सुनेको छैनस्? मैले धेरै अघि यो कुरा निश्चय गरिसकेको थिएँ।+
मैले धेरै पहिले यसको तयारी गरेको थिएँ।+
अब म त्यो पूरा गर्नेछु।+
तैँले पर्खालले घेरिएका बलिया-बलिया सहरहरू उजाड पार्नेछस्।+
२६ ती सहरहरूका बासिन्दाहरू निस्सहाय हुनेछन्।
तिनीहरू डरले थरथर काँप्नेछन् र लाजमा पर्नेछन्।
तिनीहरू खेतको बोटबिरुवा र हरियो घाँसपातझैँ ओइलाउनेछन्।+
तिनीहरू घरको छतमा उम्रने घाँसझैँ हुनेछन्, जुन पूर्वीय बतासले गर्दा सुकिहाल्छ।
२७ तर तँ कहिले बस्छस्, कहिले बाहिर जान्छस् अनि कहिले भित्र छिर्छस्, त्यो सब मलाई थाह छ।+
अनि तँ कहिले मसित रिसाउँछस्, त्यो पनि मलाई थाह छ।+
२८ किनकि मविरुद्धको तेरो रिस+ र तेरो गर्जन मेरो कानसम्मै पुगेको छ।+
त्यसैले म तेरो नाकमा अङ्कुसे र तेरो ओठमा लगाम लगाउनेछु+
अनि तँ जुन बाटो भएर आएको थिइस्, त्यही बाटोबाट तँलाई फर्काउनेछु।”+
२९ “‘यो अवश्य पूरा हुनेछ भन्ने कुराको चिन्ह तिम्रो* लागि यो हुनेछ: यो वर्ष तिमीहरूले जमिनमा आफै उम्रेको* अन्न खानेछौ। अर्को वर्ष पनि तिमीहरूले जमिनमा आफै उम्रेको अन्न खानेछौ।+ तर तेस्रो वर्ष भने तिमीहरूले बिउ छर्नेछौ र बाली काट्नेछौ। तिमीहरूले अङ्गुर बगानहरू लगाउनेछौ र त्यसको फल खानेछौ।+ ३० यहुदाको घरानामा जो-जो बाँकी हुनेछन्,+ तिनीहरूले बिरुवाले जस्तै जरा गाड्नेछन् र फल फलाउनेछन्। ३१ किनकि बाँकी रहेका मानिसहरू यरुसलेमबाट र सियोन डाँडाबाट निस्कनेछन्। सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।+
३२ “‘त्यसैले यहोवा परमेश्वर अस्सेरियाका राजाबारे यसो भन्नुहुन्छ:+
३३ यहोवा परमेश्वर यस्तो घोषणा गर्नुहुन्छ, “ऊ जुन बाटो भएर आएको थियो,
त्यही बाटो भएर फर्कनेछ। ऊ यस सहरमा छिर्नेछैन।
३५ त्यही रात यहोवा परमेश्वरका स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा गए र १ लाख ८५ हजार सिपाहीलाई मारे।+ जब मानिसहरू बिहान सबेरै उठे, तब तिनीहरूले जताततै लासैलास देखे।+ ३६ त्यसैले अस्सेरियाका राजा सनहेरिब निनवे फर्के+ र त्यहीँ बसे।+ ३७ एकदिन तिनी आफ्नो देवता निस्रोकको मन्दिरमा घोप्टो परेर दण्डवत् गरिरहेका बेला तिनकै छोराहरू अद्रम-मेलेक र सारेजेरले तिनलाई तरबारले मारे+ अनि तिनीहरू अरारातमा+ भागेर गए। त्यसपछि सनहेरिबको ठाउँमा तिनका छोरा एसर-हद्दोन+ राजा भए।