युहन्नालाई प्रकाश
१० अनि मैले स्वर्गबाट ओर्लिरहेको अर्को बलवान् स्वर्गदूत देखेँ। तिनले बादल पहिरिएका थिए,* तिनको शिरमा इन्द्रेनी थियो, तिनको अनुहार सूर्यजस्तो थियो+ र तिनका खुट्टा आगोको खम्बाजस्ता देखिन्थे २ अनि नबेरिएको एउटा सानो मुठा तिनको हातमा थियो। तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र देब्रे खुट्टा जमिनमा राखे। ३ अनि सिंह गर्जेजस्तो चर्को स्वरमा तिनी कराए।+ तिनी कराउँदा सात वटा गर्जनले आफ्नो आवाज निकाले।+
४ सात वटा गर्जनले बोलेपछि मैले लेख्नै आँटेको थिएँ तर स्वर्गबाट आएको एउटा आवाजले यसो भनेको मैले सुनेँ:+ “सात वटा गर्जनले भनेका कुराहरू सिलबन्दी गरेर राख अनि ती नलेख।” ५ अनि समुद्र र जमिनमा टेकेर उभिएका ती स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उचाले। ६ त्यसपछि तिनले सदासर्वदा जीवित रहनुहुने,+ जसले आकाश र त्यसमा भएका थोकहरू, पृथ्वी र त्यसमा भएका थोकहरू अनि समुद्र र त्यसमा भएका थोकहरू सृजनुभयो,+ उहाँको नाममा यस्तो कसम खाए: “अब अझ ढिला हुनेछैन। ७ तर जुन दिनहरूमा सातौँ स्वर्गदूत+ बिगुल फुक्न तयार हुनेछन्,+ ती दिनहरूमा परमेश्वरको पवित्र रहस्य+ टुङ्गिनेछ। यो त्यही पवित्र रहस्य हो, जुन उहाँले आफ्ना दासहरू अर्थात् भविष्यवक्ताहरूलाई सुसमाचारको रूपमा घोषणा गर्नुभएको थियो।”+
८ स्वर्गबाट आएको आवाजले मलाई फेरि यसो भनेको मैले सुनेँ:+ “जाऊ, समुद्र र जमिनमा टेकेर उभिरहेका स्वर्गदूतको हातमा भएको नबेरिएको मुठा लेऊ।”+ ९ म ती स्वर्गदूतकहाँ गएँ र तिनीसित त्यो सानो मुठा मागेँ। तिनले मलाई भने: “लेऊ र यो खाऊ।+ यसले गर्दा तिम्रो पेट तीतो हुनेछ तर तिम्रो मुखमा भने यो महजस्तै गुलियो हुनेछ।” १० मैले स्वर्गदूतको हातबाट त्यो सानो मुठा लिएँ र खाएँ।+ मेरो मुखमा त्यो महजस्तै गुलियो भयो+ तर त्यो खाएपछि मेरो पेट तीतो भयो। ११ अनि मैले यस्तो आज्ञा पाएँ: “तिमीले जातिजातिका, राष्ट्रराष्ट्रका र भाषाभाषाका मानिसहरूको विषयमा अनि धेरै राजाको विषयमा फेरि भविष्यवाणी गर्नै पर्छ।”