उत्पत्ति
३२ त्यसपछि याकुब आफ्नो बाटो लागे। बाटोमा तिनले परमेश्वरका दूतहरूलाई भेटे। २ तिनीहरूलाई देख्नेबित्तिकै याकुबले भने: “यो त परमेश्वरकै छाउनी हो!” त्यसैले तिनले त्यस ठाउँको नाम महनैम* राखे।
३ याकुबले आफ्नो अघिअघि केही सन्देशवाहकहरूलाई एदोमको+ इलाकामा पर्ने सेइरमा+ बसोबास गरिरहेका आफ्ना दाइ एसावकहाँ पठाए। ४ तिनले उनीहरूलाई यस्तो हुकुम गरे: “तिमीहरूले मेरा प्रभु एसावलाई भन्नू, ‘तपाईँको दास याकुबले यसो भनेका छन्: “मैले लाबानकहाँ धेरै वर्ष बिताएँ।*+ ५ अनि अहिले मसित प्रशस्त गोरु, गधा, भेडा र दासदासी छन्।+ म मेरा प्रभुलाई भेट्न आउँदै छु। त्यसैले हजुरको निगाह पाउन यो सन्देश पठाउँदै छु।”’”
६ केही दिनपछि ती सन्देशवाहकहरू याकुबकहाँ फर्के र तिनलाई भने: “हामीले तपाईँका दाइ एसावलाई भेट्यौँ र उहाँ तपाईँलाई भेट्न ४०० जना मानिस लिएर यतैतिर आइरहनुभएको छ।”+ ७ यो सुनेर याकुब असाध्यै डराए र चिन्तित भए।+ त्यसैले आफूसित भएका मानिसहरू, भेडाबाख्रा, गाईवस्तु अनि उँटहरू भाग लगाएर तिनले दुई वटा दल बनाए। ८ अनि तिनले भने: “एसावले एउटा दललाई आक्रमण गरे भने पनि अर्को दल त उम्कन सक्छ।”
९ त्यसपछि याकुबले यसो भनेर प्रार्थना गरे: “हे यहोवा! मेरा हजुरबुबा अब्राहाम र मेरा बुबा इसहाकका परमेश्वर, तपाईँले मलाई यसो भन्नुभएको छ: ‘तिमी आफ्नो देश, आफ्ना नातेदारहरूकहाँ फर्क र म तिम्रो फलिफाप गराउनेछु।’+ १० तपाईँले यस दासलाई अटल प्रेम देखाउनुभएको छ।+ तपाईँले मलाई कहिल्यै त्याग्नुभएन। म तपाईँको यस्तो कृपा पाउन लायक छैनँ। यर्दन नदी तर्दा मसित लौरोबाहेक केही थिएन तर अहिले भने मेरा मानिस र वस्तुभाउ बढेर दुई वटा दल भएका छन्।+ ११ बिन्ती छ,+ मलाई मेरो दाइ एसावको हातबाट बचाउनुहोस्। तिनले मलाई, यी स्त्रीहरूलाई र तिनीहरूका बालबच्चालाई आक्रमण गर्लान्+ कि भनेर मलाई डर लागिरहेको छ। १२ तर तपाईँले मलाई भन्नुभएको थियो: ‘म निश्चय नै तिम्रो फलिफाप गराउनेछु र तिम्रा सन्तानलाई समुद्र किनारका बालुवासरी अनगिन्ती तुल्याउनेछु।’”+
१३ अनि तिनले त्यहीँ रात बिताए। त्यसपछि तिनले आफ्ना दाइ एसावलाई कोसेली+ दिन आफूसँग भएको सम्पत्तिबाट १४ २०० वटा बाख्री, २० वटा बोका, २०० वटा भेडी, २० वटा थुमा १५ अनि ३० वटा उँट र तिनीहरूको बच्चा, ४० वटा गाई, १० वटा गोरु, २० वटा गधैनी र १० वटा गधा छुट्ट्याए।+
१६ तिनले यी बथानहरूलाई एक-एक गरी आफ्ना नोकरहरूको जिम्मा लगाए र तिनीहरूलाई भने: “तिमीहरू मेरो अघिअघि जाओ र बथानहरूबीच केही दूरी राख।” १७ पहिलो बथान लिएर जानेलाई तिनले यस्तो आदेश दिए: “मेरो दाइ एसावले तिमीलाई भेटे र ‘तिम्रो मालिक को हो, तिमी कहाँ जान लागेको अनि यो बथान कसको हो’ भनेर सोधे भने १८ तिमीले यसो भन्नू: ‘हजुरको दास याकुबको। उहाँले मेरा प्रभु एसावको लागि+ यो कोसेली पठाउनुभएको हो। हेर्नुहोस्, उहाँ हाम्रो पछिपछि आउँदै हुनुहुन्छ।’” १९ तिनले त्यसैगरि दोस्रो र तेस्रो बथान अनि बाँकी सबै पशु लिएर जाने नोकरहरूलाई यस्तो आदेश दिए: “एसावलाई भेट्दा तिमीहरूले पनि त्यसै भन्नू। २० अनि तिमीहरूले यसो भन्न नबिर्सनू: ‘तपाईँको दास याकूब हाम्रो पछिपछि आउँदै हुनुहुन्छ।’” किनभने तिनले मनमनै यसो भनेका थिए: ‘मैले अघिअघि कोसेली पठाएर उहाँलाई खुसी पार्न सकेँ भने+ उहाँको निगाह पाउन सक्छु कि?’ २१ यसरी तिनले आफ्ना दासहरूलाई कोसेली दिएर अघिअघि पठाए तर आफूले भने त्यहीँ पालमा रात बिताए।
२२ तिनी राती नै उठे र आफ्ना २ पत्नी,+ २ दासी+ र ११ छोरालाई लिएर याब्बोक+ नदीको जँघार* तरे। २३ यसरी तिनले उनीहरूलाई र आफूसित भएका अरू सबै कुरालाई नदीपारि* पुऱ्याए।
२४ अन्तमा याकुब एक्लै भए अनि एक जना मानिस आएर तिनीसित कुस्ती खेल्न थाले। तिनीहरूले बिहान उज्यालो नभएसम्म कुस्ती खेलिरहे।+ २५ याकुबलाई जित्न नसकेपछि त्यस मानिसले तिनको कम्मरनेरको जोर्नी समाते अनि कुस्ती खेल्दा-खेल्दै याकुबको जोर्नी फुस्कियो।+ २६ अनि ती मानिसले भने: “उज्यालो हुन लागिसक्यो, मलाई जान देऊ।” तर याकुबले यस्तो जवाफ दिए: “अहँ! मलाई आशिष् नदिएसम्म म तपाईँलाई जान दिन्नँ।”+ २७ अनि ती मानिसले सोधे: “तिम्रो नाम के हो?” तिनले भने: “याकुब।” २८ ती मानिसले भने: “अबदेखि तिम्रो नाम याकुब होइन तर इस्राएल* हुनेछ+ किनभने तिमी परमेश्वर र मानिसहरूसित लड्यौ+ र अन्तमा तिम्रो जित भयो।” २९ तब याकुबले यस्तो बिन्ती गरे: “कृपया मलाई तपाईँको नाम बताउनुहोस्।” तर ती मानिसले भने: “तिमी किन मेरो नाम सोध्छौ?”+ त्यसपछि ती मानिसले याकुबलाई आशिष् दिए। ३० त्यसैले याकुबले त्यस ठाउँको नाम पेनिएल*+ राखे किनभने तिनले भने: “मैले परमेश्वरलाई आमनेसामने देखेँ तैपनि मेरो ज्यान गएन।”+
३१ कम्मरनेरको जोर्नी फुस्केकोले तिनी खोच्याउँदै हिँड्न थाले+ र तिनले पेनुएल* पार गर्नेबित्तिकै घाम झुल्कियो। ३२ ती मानिसले याकुबको कम्मरको जोर्नीको नसा हुने भाग छोएको हुनाले आजसम्म पनि इस्राएलीहरू जनावरको कम्मरको जोर्नीको नसा खाँदैनन्।