पहिलो समुएल
३० तेस्रो दिन दाउद र उनका मानिसहरू जिक्लग+ पुग्दा अमालेकीहरूले+ दक्षिणी इलाकामा* र जिक्लगमा आक्रमण गरिसकेका थिए। तिनीहरूले जिक्लगमा आक्रमण गरेर त्यहाँ आगो लगाइदिएका थिए। २ तिनीहरूले त्यहाँ भएका स्त्रीहरूलाई+ अनि सानादेखि ठूलासम्म सबैलाई बन्दी बनाएर लगेका थिए। तिनीहरूले कसैलाई पनि मारेका थिएनन् तर सबैलाई बन्दी बनाएर लगेका थिए। ३ दाउद र उनका मानिसहरू सहरमा पुग्दा उनीहरूले सहर जलेर भस्म भइसकेको देखे। उनीहरूका पत्नी र छोराछोरीलाई बन्दी बनाएर लगिसकिएको थियो। ४ यो देखेर दाउद र उनका मानिसहरू डाँको छोडेर रुन थाले। उनीहरू यति धेरै रोए कि उनीहरूमा अझ रुने शक्ति नै रहेन। ५ दाउदका दुवै पत्नी यिज्रेलकी अहिनोम र कर्मेली नाबालकी विधवा अबिगेललाई पनि अमालेकीहरूले बन्दी बनाएर लगिसकेका थिए।+ ६ आफ्ना छोराछोरी गुमाउनुपरेकोले दाउदका मानिसहरू अत्यन्तै दुःखी भएका थिए। त्यसैले उनीहरू दाउदलाई ढुङ्गाले हानेर मार्ने कुरा गर्दै थिए। यो सुनेर दाउद असाध्यै निराश भए। तर उनले आफ्ना परमेश्वर यहोवाबाट बल पाए।+
७ त्यसपछि दाउदले अहिमेलेकका छोरा पुजारी अबियातारलाई+ भने: “एपोद यहाँ ल्याउनुहोस्।”+ तब अबियातारले दाउदकहाँ एपोद ल्याए। ८ अनि दाउदले यहोवा परमेश्वरलाई सोधे:+ “म ती आक्रमणकारीहरूलाई खेद्न जाऊँ कि नजाऊँ? के मैले तिनीहरूलाई भेट्टाउनेछु?” उहाँले जवाफ दिनुभयो: “जाऊ, तिनीहरूलाई खेद। तिमीले तिनीहरूलाई पक्कै भेट्टाउनेछौ र तिम्रा सबै कुरा छुटाएर ल्याउनेछौ।”+
९ त्यसैले दाउद आफ्ना ६०० मानिस+ लिएर तुरुन्तै निस्के। उनीहरू बेसोर वादीसम्म* पुगेपछि केही मानिस त्यहीँ बसे। १० त्यहाँ बसेका मानिसहरू २०० जना थिए। थाकेर चूर भएकोले उनीहरूसित बेसोर वादी पार गर्ने तागतै थिएन।+ त्यसैले दाउद बाँकी ४०० मानिसलाई लिएर ती आक्रमणकारीहरूलाई भेट्टाउन अघि बढे।
११ बाटोमा उनीहरूले मिश्रको एक जना मानिसलाई भेट्टाए र त्यसलाई दाउदकहाँ ल्याए। उनीहरूले त्यसलाई केही खानेकुरा र पानी दिए। १२ उनीहरूले त्यस मानिसलाई सुकाइएको अन्जिरको रोटीको* एक टुक्रा र किसमिसको दुई वटा रोटी पनि दिए। यी सबै खाइसकेपछि त्यसको शरीरमा तागत आयो किनभने त्यसले तीन दिन, तीन रात केही खाएको थिएन अनि पानी पनि पिएको थिएन। १३ दाउदले त्यस मानिसलाई सोधे: “तिमी कसका दास हौ? तिमी कहाँबाट आयौ?” तब त्यसले जवाफ दियो: “म एक मिश्री हुँ र एक जना अमालेकीको दास हुँ। तीन दिनअघि म बिरामी भएको थिएँ; त्यसैले मेरो मालिकले मलाई यहीँ छोडेर जानुभयो। १४ हामीले कराथीहरूको+ इलाकाको दक्षिणमा,* यहुदाको इलाकामा र कालेबको+ दक्षिणमा आक्रमण गऱ्यौँ अनि जिक्लगमा चाहिँ आगो लगाइदियौँ।” १५ तब दाउदले त्यसलाई भने: “तिमी मलाई ती आक्रमणकारीहरू भएको ठाउँसम्म पुऱ्याउन सक्छौ?” त्यसले जवाफ दियो: “तपाईँ मेरो ज्यान लिनुहुन्न र मलाई मेरो मालिकको हातमा पनि सुम्पनुहुन्न भनेर परमेश्वरको नाममा कसम खानुभयो भने मात्र म तपाईँलाई ती आक्रमणकारीहरू भएको ठाउँसम्म पुऱ्याउनेछु।”
१६ त्यस मानिसले दाउदलाई ती आक्रमणकारीहरू भएको ठाउँमा पुऱ्याइदियो। तिनीहरू यताउता छरिएर बसिरहेका थिए अनि खाँदैपिउँदै खुसीयाली मनाइरहेका थिए किनकि तिनीहरूले पलिस्तियालीहरूको र यहुदाको इलाकाबाट थुप्रै धनमाल लुटेर ल्याएका थिए। १७ दाउदले बिहान झिसमिसेदेखि साँझसम्मै तिनीहरूसित लडाइँ गरिरहे। तिनीहरूमध्ये ४०० जना उँटमा चढेर भागे; तीबाहेक दाउदले अरू कसैलाई पनि जिउँदै छोडेनन्।+ १८ अमालेकीहरूले लुटेका सबै धनमाल दाउदले फिर्ता लिए+ र उनले आफ्ना दुवै पत्नीलाई पनि छुटाए। १९ दाउद र उनका मानिसहरूले सानादेखि ठूलासम्म कसैलाई पनि गुमाएनन्। उनीहरूले आफ्ना छोराछोरी र धनमाल सबै फिर्ता लिए।+ यसरी दाउदले ती आक्रमणकारीहरूले लुटेका सबै कुरा छुटाए। २० उनले ती आक्रमणकारीहरूको गाईवस्तु र भेडाबाख्रा सबै लिए। उनका मानिसहरूले ती जनावरहरूको पछिपछि आफ्नो बगाल धपाउँदै लगे र उनीहरूले भने: “यी सबै दाउदले लुटेका धनमाल हुन्।”
२१ दाउद ती २०० जना मानिस भएको ठाउँसम्म आइपुगे, जो बेसोर वादीमै बसेका थिए। थाकेर चूर भएकोले तिनीहरू दाउदसित गएका थिएनन्।+ तिनीहरू दाउद र उनीसित गएका मानिसहरूलाई भेट्न गए। तब दाउदले तिनीहरूको नजिकै गएर तिनीहरूको हालखबर सोधे। २२ तर दाउदसित गएका केही खराब र निकम्मा मानिसहरूले भने: “यिनीहरू हामीसित आएनन्। त्यसैले हामीले ल्याएका धनमालबाट यिनीहरूलाई केही पनि दिनेछैनौँ। यिनीहरूले आफ्ना पत्नी र छोराछोरी मात्र लैजाऊन्।” २३ तर दाउदले भने: “यी सबै कुरा हामीलाई यहोवा परमेश्वरले दिनुभएको हो। त्यसैले हे मेरा भाइहरू हो, त्यसो नगर। परमेश्वरले हामीलाई जोगाउनुभयो र हामीविरुद्ध आएका ती आक्रमणकारीहरूलाई हाम्रो हातमा सुम्पिदिनुभयो।+ २४ तिमीहरूले भनेको यस कुरामा को सहमत हुन्छ र? लडाइँ गर्न युद्धभूमिमा गएकाहरूले जे-जति पाउँछन्, सामान कुर्न बसेकाहरूले पनि त्यति नै पाउनेछन्।+ सबैले बराबर भाग पाउनेछन्।”+ २५ दाउदले भनेको यो कुरा त्यस दिनदेखि इस्राएलमा नियमकै रूपमा लागू हुन थाल्यो र त्यो नियम अहिलेसम्म पनि कायमै छ।
२६ जिक्लगमा फर्केपछि दाउदले आफूले लुटेर ल्याएका धनमालबाट आफ्ना साथीहरू—यहुदाका नाइकेहरूलाई केही सौगात पठाए। उनले यस्तो सन्देश पनि पठाए: “यहोवा परमेश्वरका शत्रुहरूबाट लुटेको धनमालबाट तपाईँहरूलाई यो उपहार* पठाएको छु।” २७ उनले यी ठाउँका मानिसहरूलाई पनि उपहार पठाए: बेथेल,+ नेगेबको* रामोथ, यात्तिर,+ २८ अरोएर, सिफमोथ, एस्तेमोआ,+ २९ राकाल, यरहमेलीहरूका+ सहरहरू, केनीहरूका+ सहरहरू, ३० होर्माह,+ बोरासान, अथाक ३१ र हेब्रोन।+ साथै दाउदले ती सबै ठाउँका मानिसहरूलाई पनि उपहार पठाए, जहाँ उनी र उनका मानिसहरू जाने गर्थे।