पहिलो समुएल
२३ केही समयपछि दाउदले यस्तो खबर पाए: “पलिस्तियालीहरूले केइलाह+ सहरमा आक्रमण गरेर त्यहाँका खलाहरूबाट अन्न लुट्दै छन्!” २ यो कुरा सुनेपछि दाउदले यहोवा परमेश्वरसित यस्तो सल्लाह मागे:+ “म ती पलिस्तियालीहरूलाई आक्रमण गर्न जाऊँ?” यहोवा परमेश्वरले दाउदलाई भन्नुभयो: “जाऊ, ती पलिस्तियालीहरूलाई आक्रमण गर र केइलाहलाई जोगाऊ।” ३ तर दाउदलाई उनका मानिसहरूले भने: “हेर्नुहोस्! अहिले हामी यहाँ यहुदामै पनि डराएर बसिरहेका छौँ।+ अब ती पलिस्तियालीहरूसित लडाइँ गर्न केइलाह गयौँ भने हाम्रो हालत झन् कस्तो होला!”+ ४ त्यसैले दाउदले फेरि एक पटक यहोवा परमेश्वरसित सल्लाह मागे।+ अनि यहोवा परमेश्वरले दाउदलाई भन्नुभयो: “उठ र केइलाह जाऊ; म ती पलिस्तियालीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु।”+ ५ त्यसैले दाउद आफ्ना मानिसहरू लिएर केइलाह गए र पलिस्तियालीहरूसित लडाइँ गरे। उनले तिनीहरूका वस्तुभाउ लिए र थुप्रै पलिस्तियालीलाई मारे। यसरी उनले केइलाहका बासिन्दाहरूलाई बचाए।+
६ अहिमेलेकको छोरा अबियातार+ भागेर दाउदकहाँ केइलाहमा आउँदा तिनले एपोद* पनि सँगै ल्याएका थिए। ७ दाउद केइलाहमा आएका छन् भन्ने खबर पाएपछि साउलले भने: “परमेश्वरले उसलाई मेरो हातमा सुम्पिदिनुभएको छ*+ किनकि ढोकाहरू र गजबारहरू भएको सहरमा घुसेर ऊ आफै फन्दामा परेको छ।” ८ अनि साउलले आफ्ना सबै मानिसलाई लडाइँमा जान जम्मा गरे र केइलाहलाई आक्रमण गरेर दाउद र उनका मानिसहरूलाई चारैतिरबाट घेर्न आदेश दिए। ९ साउलले आफूलाई पक्रने षड्यन्त्र गरिरहेको कुरा थाह पाएपछि दाउदले पुजारी अबियातारलाई भने: “एपोद यहाँ ल्याउनुहोस्।”+ १० त्यसपछि दाउदले भने: “हे इस्राएलका परमेश्वर यहोवा, राजा साउल केइलाह आउँदै हुनुहुन्छ र राजाले मेरो कारण यस सहरलाई नाश गर्ने योजना बनाउनुभएको छ भनेर तपाईँको यस सेवकले थाह पाएको छ।+ ११ केइलाहका नाइकेहरूले* के मलाई साउलको हातमा सुम्पिदिनेछन्? अनि तपाईँको यस सेवकले सुनेझैँ के साउल केइलाह आउनुहुनेछ? हे इस्राएलका परमेश्वर यहोवा, कृपया तपाईँको यस सेवकलाई बताउनुहोस्।” तब यहोवा परमेश्वरले भन्नुभयो: “हो, ऊ यहाँ आउनेछ।” १२ दाउदले सोधे: “केइलाहका नाइकेहरूले के मलाई र मेरा मानिसहरूलाई साउलको हातमा सुम्पिदिनेछन्?” यहोवा परमेश्वरले जवाफ दिनुभयो: “तिनीहरूले तिमीहरूलाई साउलको हातमा सुम्पिदिनेछन्।”
१३ यो सुन्नेबित्तिकै दाउद आफूसँग भएका लगभग ६०० जना+ मानिसलाई लिएर केइलाहबाट भागे। तिनीहरू जता जान सक्छन्, त्यतै जान थाले। दाउद केइलाहबाट भागिसके भनेर साउलले सुनेपछि तिनी दाउदलाई खेद्न गएनन्। १४ दाउद जिफको+ निर्जनभूमिका ती डाँडाहरूमा बस्न थाले, जहाँ मानिसहरू सजिलै पुग्न सक्दैनथे। साउलले दाउदलाई धुइँधुइँती खोजे+ तर यहोवा परमेश्वरले दाउदलाई साउलको हातमा सुम्पिदिनुभएन। १५ जब दाउद जिफको निर्जनभूमिको होरेसमा थिए, तब साउल उनको ज्यान लिन उनलाई खोज्दै छन् भनेर उनले थाह पाए।*
१६ साउलका छोरा जोनाथन दाउदलाई भेट्न होरेसमा गए र तिनले दाउदलाई यहोवा परमेश्वरमाथिको भरोसा अझ बलियो बनाउन हौसला दिए।+ १७ तिनले दाउदलाई भने: “नडराउनुहोस्, मेरो बुबाले तपाईँलाई भेट्टाउन सक्नुहुन्न। तपाईँ इस्राएलका राजा हुनुहुनेछ+ र मचाहिँ दोस्रो दर्जामा हुनेछु अनि मेरो बुबालाई पनि यो कुरा थाह छ।”+ १८ त्यसपछि तिनीहरू दुवैले यहोवा परमेश्वरसामु करार गरे।+ अनि जोनाथन आफ्नो घर फर्के र दाउदचाहिँ होरेसमै बसे।
१९ पछि जिफका मानिसहरूले गिबाहमा+ साउलकहाँ गएर भने: “दाउद हाम्रै छेउछाउमा छ, ऊ मानिसहरू सजिलै पुग्न नसक्ने ठाउँहरूमा लुकिरहेको छ।+ ऊ होरेसको+ हकिलाह डाँडामा+ छ, जुन यसिमोनको* दक्षिणतिर* पर्छ।+ २० हे महाराज, हजुरलाई जतिबेला इच्छा लाग्छ, त्यतिबेला आउनुहोस् अनि हामी उसलाई हजुरको हातमा सुम्पिदिनेछौँ।”+ २१ यो सुनेर साउलले भने: “यहोवा परमेश्वरले तिमीहरूलाई आशिष् देऊन् किनभने तिमीहरूले मलाई दया देखायौ। २२ अब तिमीहरू जाओ र ऊ कहाँ छ अनि उसलाई त्यहाँ देख्ने को हो, त्यसबारे सही कुरा पत्ता लगाओ किनभने ऊ असाध्यै छट्टु छ भनेर मैले सुनेको छु। २३ ऊ कहाँ-कहाँ लुक्छ, ती सबै ठाउँ राम्ररी पत्ता लगाओ र त्यसको प्रमाण लिएर मकहाँ आओ। त्यसपछि म तिमीहरूसँगै जानेछु। ऊ देशभित्रै रहेछ भने म उसलाई यहुदाका सबै घरानाको* बीचबाट पनि खोजेर निकाल्नेछु।”
२४ त्यसैले तिनीहरू त्यहाँबाट जिफ+ फर्के र पछि साउल पनि त्यहाँ गए। त्यतिबेला दाउद र उनका मानिसहरू माओनको+ निर्जनभूमिमा बसिरहेका थिए, जुन यसिमोनको दक्षिणतिर अराबाहमा+ पर्छ। २५ त्यसपछि साउल आफ्ना मानिसहरूलाई लिएर आए र दाउदलाई खोज्न थाले।+ यो खबर पाउनेबित्तिकै दाउद भीरतिर झरे+ र माओनको निर्जनभूमिमा लुकेर बसे। यो कुरा थाह पाएपछि साउल उनलाई खोज्दै माओनको निर्जनभूमितिर गए। २६ साउल डाँडाको एकातिर पुग्दा दाउद र उनका मानिसहरूचाहिँ डाँडाको अर्कोतिर थिए। साउलले भेट्टाउला भनेर दाउद छिटोछिटो भाग्दै थिए।+ अनि साउल र तिनका मानिसहरूले दाउद र उनका मानिसहरूलाई भेट्टाउनै लागिसकेका थिए।+ २७ त्यति नै बेला एक जना सन्देशवाहकले साउललाई यस्तो खबर सुनायो: “छिटो आउनुहोस्, पलिस्तियालीहरू हाम्रो इलाकामा आक्रमण गर्न आएका छन्!” २८ तब दाउदलाई खेद्न छोडेर+ साउल पलिस्तियालीहरूसित लडाइँ गर्न गए। त्यसकारण त्यस ठाउँको नाम ‘छुट्ट्याउने भीर’ राखियो।
२९ त्यसपछि दाउद त्यहाँबाट माथि एन-गेदीतिर+ लागे अनि मानिसहरू सजिलै पुग्न नसक्ने ठाउँहरूमा बस्न थाले।