पहिलो समुएल
९ बिन्यामिनको कुलमा किस नाम गरेका एक जना मानिस थिए।+ उनी अबिएलका सन्तान थिए। अबिएल जेरोरका छोरा थिए, जेरोर बेकोरथका छोरा थिए अनि बेकोरथ अपिहका सन्तान थिए। बिन्यामिनको कुलका+ किस असाध्यै धनी थिए। २ उनका एक जना छोरा थिए, जसको नाम साउल थियो।+ साउल लक्का जवान थिए र तिनको जीउडाल आकर्षक थियो; इस्राएलीहरूमध्ये तिनको जस्तो आकर्षक जीउडाल भएको अरू कोही थिएन। तिनी निकै अग्ला थिए, अरू मानिस तिनको कुमसम्म मात्र पुग्थे।
३ एकदिन किसका गधाहरू हराए। तब किसले आफ्नो छोरा साउललाई भने: “बाबु, एक जना सेवकलाई सँगै लगेर गधाहरू खोजेर ल्याऊ।” ४ तिनीहरू गधाहरू खोज्दै एप्रैमको पहाडी इलाका र सालिसाको इलाकासम्म पुगे तर तिनीहरूले भेट्टाएनन्। त्यसपछि तिनीहरू सालिमको इलाकातिर गए तर त्यहाँ पनि भेट्टाएनन्। तिनीहरूले बिन्यामिनीहरूको पूरै इलाकामा खोजे तर ती गधाहरू कतै भेट्टिएनन्।
५ जब तिनीहरू जुपको इलाकामा पुगे, तब साउलले आफ्ना सेवकलाई भने: “अब हामी फर्कौँ नत्र त बुबाले हराएका गधाहरूको होइन, हाम्रो पो चिन्ता गर्न थाल्नुहुनेछ।”+ ६ तर ती सेवकले भने: “मालिक, यस सहरमा परमेश्वरका एक जना सेवक बस्छन् र तिनलाई सबैले असाध्यै सम्मान गर्छन्। तिनले भनेका कुराहरू सबै पूरा हुन्छन्।+ त्यसैले हामी त्यहीँ जाऔँ। हाम्रा गधाहरू खोज्न कतातिर जानुपर्ने हो, तिनले बताइदेलान् कि?” ७ यो सुनेपछि साउलले भने: “त्यहाँ जाने हो भने तिनको लागि के लैजाने? साँचो परमेश्वरका सेवकलाई उपहार दिन हामीसित केही छैन; हाम्रो झोलामा खानेकुरासमेत छैन। तिनलाई के दिने?” ८ तब साउलका सेवकले भने: “हेर्नुहोस् त, मसित चाँदीको एउटा सानो सिक्का* अझै बाँकी छ। साँचो परमेश्वरका सेवकलाई म यो सिक्का दिन्छु अनि हामी कतातिर जानुपर्ने हो भनेर तिनले हामीलाई बताइदिनेछन्।” ९ (पहिले-पहिले इस्राएलका मानिसहरू परमेश्वरसित सल्लाह माग्न जाँदा यसो भन्ने गर्थे: “आऊ, हामी दर्शीकहाँ जाऔँ।”+ अहिले हामी जसलाई भविष्यवक्ता भनेर चिन्छौँ, तिनीहरूलाई पहिले-पहिले दर्शी भनिन्थ्यो।) १० साउलले आफ्ना सेवकलाई भने: “ठीक छ, हामी त्यहीँ जाऔँ।” तिनीहरू साँचो परमेश्वरका सेवक बस्ने सहरतिर गए।
११ त्यस सहरमा जान उकालो लाग्दै गर्दा तिनीहरूले पानी भर्न निस्केका ठिटीहरूलाई भेटे। तिनीहरूले ती ठिटीहरूलाई सोधे: “दर्शी+ यतै छन्?” १२ ती ठिटीहरूले जवाफ दिए: “अँ यतै हुनुहुन्छ; उहाँ सहरतिरै जानुभएको छ। उहाँ आजै आउनुभएको हो किनभने आज मानिसहरू उपासनाको लागि बनाइएको अग्लो थानमा*+ बलि चढाउन+ भेला भएका छन्। बरु झट्टै गइहाल्नुहोस्। १३ सहरमा छिर्नेबित्तिकै तपाईँले उहाँलाई भेट्टाउनुहुनेछ। छिटो गइहाल्नुहोस् नत्र त उहाँ अग्लो थानमा भोजन गर्न गइसक्नुहुनेछ। उहाँ आएर बलिलाई आशिष् नदेउन्जेल मानिसहरूले खाँदैनन्। उहाँले आशिष् दिइसकेपछि मात्र निम्तालुहरूले खान थाल्नेछन्। अब गइहाल्नुहोस्, तपाईँले उहाँलाई भेट्टाउनुहुनेछ।” १४ त्यसपछि तिनीहरू सहरतिर लागे। तिनीहरू सहरको बीचतिर आइपुग्दा समुएल पनि तिनीहरूसँगै अग्लो थानमा जान तिनीहरूलाई भेट्न आउँदै थिए।
१५ साउल त्यहाँ आउनुभन्दा एक दिनअघि यहोवा परमेश्वरले समुएललाई यसो भन्नुभएको थियो: १६ “भोलि यही समयतिर म तिमीकहाँ बिन्यामिनको+ इलाकाबाट एक जना मानिस पठाउनेछु। तिमीले उसलाई अभिषेक गरेर मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाउनू।+ तिनले मेरा प्रजालाई पलिस्तियालीहरूको हातबाट बचाउनेछन्। मैले मेरा प्रजाहरूको दुःख देखेको छु अनि तिनीहरूको चीत्कार सुनेको छु।”+ १७ जब समुएलले साउललाई देखे, तब यहोवा परमेश्वरले समुएललाई भन्नुभयो: “यी मानिस तिनै हुन्, जसबारे मैले तिमीलाई यसो भनेको थिएँ, ‘उसले नै मेरो प्रजामाथि शासन गर्नेछ।’”+
१८ साउलले समुएललाई सहरको मूलढोकामा भेटे र सोधे: “दर्शीको घर कहाँ छ, कृपया मलाई बताइदिनुहोस्।” १९ समुएलले साउललाई जवाफ दिए: “दर्शी मै हुँ। मभन्दा अघि अग्लो थानमा जानुहोस्। त्यहाँ पुगेपछि हामी सँगै खाऔँ।+ तपाईँ जे-जे जान्न चाहनुहुन्छ, म सबै बताइदिनेछु। त्यसपछि भोलि बिहान तपाईँ यहाँबाट जानुहोला। २० तीन दिनअघि हराएका गधाहरूबारे+ अब चिन्ता नगर्नुहोस् किनभने तिनीहरू फेला परिसके। इस्राएलमा भएका सबै धनसम्पत्ति वास्तवमा कसका हुन्? तपाईँको र तपाईँको बुबाको घरानाको होइन र?”+ २१ यो सुनेपछि साउलले भने: “तपाईँ मलाई किन यस्तो भन्दै हुनुहुन्छ? के म इस्राएलीहरूको सबैभन्दा सानो कुल,+ बिन्यामिनको कुलको मानिस होइन र? अनि बिन्यामिनको कुलभित्र पनि मेरो परिवार सबैभन्दा सानो छ।”
२२ समुएलले साउल र तिनका सेवकलाई भोजनकक्षमा लगे अनि निम्तालुहरूमध्ये सबैभन्दा प्रमुख स्थानमा तिनीहरूलाई राखे; त्यहाँ लगभग ३० जना मानिस थिए। २३ तब समुएलले भान्छेलाई भने: “मैले तिमीलाई ‘अलग्गै राख’ भनेर दिएको मासुको भाग लिएर आऊ।” २४ अनि भान्छेले फिला ल्याएर साउलको अगाडि टक्य्राए। तब समुएलले भने: “यो मासु तपाईँकै लागि भनेर तयार पारिएको हो। यो भाग यही अवसरको लागि तपाईँको निम्ति छुट्ट्याएर राखिएको हो। त्यसैले खानुहोस् किनभने ‘मैले पाहुनाहरू बोलाएको छु’ भनेर तिनीहरूलाई बताएको थिएँ।” त्यो दिन साउलले समुएलसँगै बसेर खाए। २५ त्यसपछि तिनीहरू त्यो अग्लो थानबाट सहरतिर ओर्ले।+ अनि समुएलले साउललाई घरको कौसीमा लगे र त्यहाँ साउलसित बाँकी कुरा गरे। २६ भोलिपल्ट तिनीहरू सबेरै उठे। अनि समुएलले कौसीमा बसिरहेका साउललाई उज्यालो हुनेबित्तिकै यसो भन्दै बोलाए: “तयार हुनुहोस्, म तपाईँलाई बिदाबारी गरेर पठाउँछु।” त्यसपछि साउल तयार भए अनि तिनीहरू दुवै जना बाहिर निस्के। २७ तिनीहरू ओरालो झरेर सहरबाट निस्कन लाग्दा समुएलले साउललाई भने: “तपाईँको सेवकलाई+ अगाडि पठाउनुहोस्। तर तपाईँचाहिँ यहीँ उभिनुहोस्; म तपाईँलाई परमेश्वरको सन्देश बताउनेछु।” तब ती सेवक तिनीहरूको अघिअघि गए।