यसैया
६३ एदोमबाट+ आइरहेको,
चहकिलो रङ्गको* लुगा लगाएर बोज्राहबाट+ आइरहेको को हो?
शानदार पोसाक पहिरिएर
आफ्नो पराक्रम देखाउँदै अघि बढिरहेको को हो?
“त्यो म नै हुँ, म असल कुरा बोल्छु।
त्यो म नै हुँ, म उद्धार गर्ने शक्तिशाली परमेश्वर हुँ।”
२ तपाईँको लुगा किन रातो छ?
तपाईँको लुगा कोलमा अङ्गुर पेल्ने मानिसको जस्तो किन छ?+
३ “मैले एक्लै कोलमा अङ्गुर पेलेँ।
जातिजातिका मानिसहरूबाट मलाई साथ दिने कोही थिएन।
मैले रिसले तिनीहरूलाई पेलिरहेँ,
मैले क्रोधले तिनीहरूलाई कुल्चीमिल्ची गरिरहेँ।+
तिनीहरूको रगतले मेरो लुगा लतपतिएको छ,
मेरो लुगाभरि रगतको दाग लागेको छ।
४ बदला लिने दिन मैले तोकिसकेको छु,+
मेरा मानिसहरूलाई मोल तिरेर छुटाउने वर्ष आएको छ।
५ मैले यताउता हेरेँ तर मलाई मदत गर्ने कोही थिएन;
साथ दिन कोही अघि नसरेको देखेर मलाई अचम्म लाग्यो।
अनि मैले आफ्नै पाखुराको बलले जितेँ,*+
मेरो क्रोधले मलाई साथ दियो।
६ मैले आफ्नो रिसमा मानिसहरूलाई कुल्चीमिल्ची गरेँ,
मैले तिनीहरूलाई मेरो क्रोध पिउन लगाएँ अनि तिनीहरू मात्तिए,+
तिनीहरूको रगत मैले भुईँमा खन्याइदिएँ।”
७ यहोवाको अटल प्रेमको म बयान गर्नेछु;
यहोवाले हाम्रो लागि जे-जति गर्नुभएको छ,+
ती सबै कामको लागि म उहाँको प्रशंसा गर्नेछु।
यहोवाले कृपा र अपार प्रेम देखाएर
इस्राएलका घरानाका लागि थुप्रै असल काम गर्नुभएको छ।
८ उहाँले यसो भन्नुभयो: “यिनीहरू नै मेरा मानिसहरू हुन्, यिनीहरू मेरा सन्तान हुन्; यिनीहरूले मलाई धोका दिनेछैनन्।”+
त्यसैले उहाँ तिनीहरूको उद्धारक बन्नुभयो।+
९ हरेक चोटि तिनीहरू दुःखमा पर्दा उहाँ पनि दुःखी हुनुभयो।+
उहाँले आफ्नै दूत* पठाएर तिनीहरूलाई बचाउनुभयो।+
प्रेम र करुणा देखाएर उहाँले तिनीहरूलाई छुटाउनुभयो;+
पहिले-पहिलेदेखि उहाँ आफैले तिनीहरूलाई बोकेर हिँड्नुभयो।+
१० तर तिनीहरूले विद्रोह गरे+ र पवित्र शक्तिलाई दुःखी बनाए।+
त्यसैले उहाँ तिनीहरूको शत्रु बन्नुभयो+
र तिनीहरूमाथि जाइलाग्नुभयो।+
११ अनि तिनीहरूलाई बितेका दिनहरू झलझली याद आयो।
उहाँको सेवक मोसाको समयका कुरा तिनीहरूले सम्झे र यसो भने:
“आफ्ना मानिसहरू र तिनीहरूका गोठालाहरूलाई+ समुद्र पार गराउने परमेश्वर कहाँ हुनुहुन्छ?+
१२ आफ्नो बलियो पाखुराले मोसाको दायाँ हात समात्ने परमेश्वर,+
जसले तिनीहरूकै अगाडि समुद्रलाई दुई भाग पार्नुभयो+
र सदालाई आफ्नो नाम कायम राख्नुभयो, उहाँ कहाँ हुनुहुन्छ?+
१३ उहाँ कहाँ हुनुहुन्छ,
जसले उर्लँदो* पानीको बीचबाट तिनीहरूलाई हिँडाउनुभयो,
जसले गर्दा खुला मैदानमा* दौडिरहेको घोडाजस्तै तिनीहरू विनाअवरोध हिँड्न सके?
१४ बेँसीको मैदानमा पुगेर वस्तुभाउले विश्राम गरेझैँ
यहोवाको पवित्र शक्तिको मदतले तिनीहरूले विश्राम पाए।”+
यसरी तपाईँले आफ्ना मानिसहरूलाई डोऱ्याउनुभयो
१५ स्वर्गबाट तल हेर्नुहोस्,
उच्च ठाउँमा भएको तपाईँको पवित्र र महिमित* वासस्थानबाट हेर्नुहोस्।
तपाईँ आफ्नो जोस र शक्ति अहिले किन देखाउनुहुन्न?
तपाईँको करुणा+ र तपाईँको कृपाले+ तपाईँलाई अहिले किन झकझक्याउँदैन?*
ती सबै तपाईँले हामीदेखि रोकेर राख्नुभएको छ।
१६ तपाईँ हाम्रा बुबा हुनुहुन्छ,+
अब्राहामले हामीलाई नचिने तापनि,
इस्राएलले हामीलाई नचिने तापनि,
हे यहोवा, तपाईँ नै हाम्रा बुबा हुनुहुन्छ।
हामीलाई वर्षौँअघि मोल तिरेर छुटाउने तपाईँ नै हुनुहुन्छ।+
१७ हे यहोवा, तपाईँ किन हामीलाई तपाईँको मार्गबाट तर्किन दिनुहुन्छ?*
तपाईँको डर मान्नै छोड्नेगरि तपाईँ किन हाम्रो मनलाई कठोर हुन दिनुहुन्छ?*+
आफ्ना सेवकहरूको निम्ति फर्कनुहोस्!
तपाईँले छान्नुभएको जाति, तपाईँको सम्पत्तिको खातिर फर्कनुहोस्।+
१८ तपाईँले दिनुभएको भूमिलाई तपाईँका पवित्र जातिले थोरै समय अधिकार गरे
तर तपाईँका शत्रुहरूले तपाईँको पवित्र स्थानलाई* कुल्चीमिल्ची गरे।+
१९ हामी तपाईँले कहिल्यै शासन नगरेको जातिजस्तै भएको वर्षौँ भयो।
हामी तपाईँको नामले कहिल्यै नचिनिएको जातिजस्तै भएका छौँ।