याकुबको पत्र
३ हे मेरा भाइ हो, हामीमध्ये धेरै जना शिक्षक नबन्नु नै बेस किनकि परमेश्वरले अरूको भन्दा हाम्रो अझ कठोरतासित* न्याय गर्नुहुन्छ+ भनेर हामीलाई थाह छ। २ किनकि हामी सबै जना धेरै चोटि चुक्छौँ।*+ यदि कोही आफ्नो वचनमा चुक्दैन भने ऊ आफ्नो सारा शरीरमा लगाम कस्न सक्ने सर्वगुणी मानिस हुन्छ। ३ हाम्रो आज्ञा मानून् भनेर हामी घोडाहरूको मुखमा लगाम लगाउँछौँ र त्यसो गर्दा तिनीहरूको पूरै शरीरलाई पनि काबूमा राख्न सक्छौँ। ४ जहाजहरूलाई पनि हेर: हुनत तिनीहरू निकै ठूलठूला हुन्छन् र तिनीहरूलाई तेज बतासले हाँक्छ तैपनि नाविकले एउटा सानो पतवारको सहारा लिएर जहाजलाई आफ्नो इच्छाअनुसार जता मन लाग्छ, त्यतै लैजान्छ।
५ त्यसैगरि हाम्रो शरीरको एउटा सानो अङ्ग भएर पनि जिब्रोले कत्ति ठूलठूलो कुरा गर्छ। हेर, बडेमानको जङ्गलमा डढेलो लगाउन आगोको सानो झिल्का मात्र भए पुग्छ! ६ जिब्रो पनि आगै हो।+ हाम्रो शरीरका अङ्गहरूमध्ये जिब्रो एउटा त्यस्तो अङ्ग हो, जहाँ खराबीको दुनियाँले नै बास गरेको हुन्छ। किनकि त्यसले सारा शरीरलाई अशुद्ध बनाउँछ+ र मानिसको पूरै जीवनमा आगो लगाइदिन्छ अनि गेहेन्नाको* आगोले जस्तैगरि भस्म गर्छ। ७ हरकिसिमका जङ्गली जनावर, चरा, भुईँमा घस्रने जीव अनि समुद्री जीवलाई तह लगाउन सकिन्छ अनि मानिसहरूले तिनीहरूलाई तह लगाएका पनि छन्। ८ तर जिब्रोलाई भने कुनै मानिसले तह लगाउन सक्दैन। त्यो खतरनाक अनि काबूमा राख्न नसकिने अङ्ग हो र त्यो ज्यानमारा विषले भरिएको हुन्छ।+ ९ त्यही जिब्रोले हामी यहोवा,* हाम्रा बुबाको प्रशंसा गर्छौँ अनि त्यही जिब्रोले हामी “परमेश्वरको स्वरूपमा” बनाइएका+ मानिसहरूलाई सराप्छौँ। १० एउटै मुखबाट प्रशंसा र सराप दुवै निस्कन्छन्।
हे मेरा भाइ हो, यस्तो हुनु उचित होइन।+ ११ के एउटै मुहानबाट मीठो र तीतो पानी निस्कन्छ र? १२ मेरा भाइ हो, के अन्जिरको रूखले जैतुन वा अङ्गुरको बोटले अन्जिर फलाउन सक्छ र?+ त्यसैगरि नुनिलो पानीको मुहानबाट मीठो पानी निस्कन सक्दैन।
१३ तिमीहरूमध्ये बुद्धिमान् अनि समझदार को छ? जो छ, उसले यो कुरा आफ्नो असल चालचलनद्वारा देखाओस् र ऊ बुद्धिमार्फत प्राप्त हुने कोमलतासाथ चलोस्। १४ तर तिमीहरूको हृदयमा डाह+ अनि वैमनस्यता*+ छ भने घमन्ड गर्न+ र सत्यविरुद्ध झूट बोल्न छोड। १५ त्यस्तो बुद्धि माथिबाट आउने बुद्धि होइन तर सांसारिक,+ पाशविक अनि सैतानी बुद्धि हो। १६ किनकि जहाँ ईर्ष्या अनि वैमनस्यता* हुन्छ, त्यहाँ गोलमाल र हरकिसिमका खराब कुराहरू पनि हुन्छन्।+
१७ तर माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम शुद्ध हुन्छ,+ त्यसपछि शान्तिप्रिय,+ व्यावहारिक,+ आज्ञाकारी, कृपा र असल फलहरूले भरिपूर्ण,+ निष्पक्ष+ र निष्कपट+ हुन्छ। १८ यसबाहेक जसले शान्ति कायम गर्छ, उसको लागि शान्तिपूर्ण अवस्थामा+ धार्मिकताको* फल+ रोपिन्छ।*