अध्याय ४४
एउटा डरलाग्दो आँधीलाई शान्त पार्नुहुन्छ
समुद्रको किनारमा भीडलाई सिकाउन र पछि एकान्तमा चेलाहरूलाई दृष्टान्तहरूको अर्थ खोलिदिनाका साथै अन्य कामकुरामा येशू दिनभरि व्यस्त रहनुभएको छ। साँझ परेपछि उहाँ भन्नुहुन्छ: “आओ, हामी पारिपट्टि जाऔं।”
गालील समुद्रको पूर्वपट्टिको किनारमा डेकापोलिस कहलिने क्षेत्र छ। ग्रीक भाषाअनुसार डेका भनेको “दस,” र पोलिस भनेको “सहर” हो। डेकापोलिसका सहरहरू ग्रीक संस्कृतिका केन्द्र हुन् तर धेरै यहूदीहरू पनि त्यहाँ बसोबास गर्छन्। तथापि त्यस क्षेत्रमा येशूको गतिविधि धेरै नै सीमित छ। हामी देख्नेछौं, यस पटकको भ्रमणमा पनि उहाँलाई धेरै समयसम्म त्यहाँ बस्न दिइँदैन।
पारिपट्टि जाऔं भनी येशूले अनुरोध गर्नुभएपछि चेलाहरूले उहाँलाई डुङ्गामा लग्छन्। तर उहाँहरू गएको कुरा लुक्दैन। झट्ट अरूहरू पनि डुङ्गाहरूमा बसेर उहाँहरूसँगै हिंड्छन्। पार तर्न धेरै बेर लाग्दैन। वास्तवमा गालील समुद्र करिब २१ किलोमिटर लामो र ज्यादा-से-ज्यादा १२ किलोमिटर चौडा एउटा ताल मात्र हो।
येशू थकित देखिनुहुन्छ। डुङ्गा त्यहाँबाट हिंड्नासाथै उहाँ डुङ्गाको पछाडिपट्टि गएर सिरानी हालेर मस्तसित निदाउनुहुन्छ। गालील समुद्रमा धेरै समयसम्म माछा मारेकाले उहाँका प्रेषितहरूमध्ये कति त अनुभवी नाविकहरू भइसकेका छन्। त्यसकारण डुङ्गा चलाउने जिम्मा तिनीहरूले लिन्छन्।
तर यो एउटा सजिलो यात्रा हुनेवाला छैन। समुद्रको सतहभन्दा करिब २१३ मिटरमुनि रहेको तालको सतहको तातो हावा र नजिकका पहाडहरूको चिसो हावाले गर्दा कहिलेकाहीं जोडसित बतास चल्छ र तालमा अचानक ठूलो आँधीबेहरी सुरु हुन्छ। अहिले त्यस्तै हुन्छ। छालहरू डुङ्गामा बज्रन थाल्छन् र डुङ्गा नै पानीले भरिएलाजस्तो हुन्छ। यस्तो हुँदा पनि येशूचाहिं निदाइ नै रहनुहुन्छ!
अनुभवी नाविकहरू डुङ्गालाई चलाउन जोडतोडका साथ काम गरिरहेका छन्। निस्सन्देह पहिले पनि तिनीहरूले आँधीबेहरीबाट डुङ्गालाई बचाएर पार लगाएका छन्। तर यसपटक तिनीहरूले जे गरे तापनि केही सीप लाग्दैन। आफ्नो ज्यान गुमाउनुपर्ला भन्ने डरले तिनीहरू येशूलाई ब्यूँझाउँछन्। “हे गुरु, हामी मर्नै आँट्यौं तैपनि तपाईंलाई चिन्ता छैन?” भनेर तिनीहरू कराउँछन्। “हामीलाई बचाउनुहोस्, हामी मर्नै आँट्यौं!”
ब्यूँझेर येशूले बतास र समुद्रलाई हप्काउनुहुन्छ: “चुप लाग्! शान्त भइजा!” अनि बतास थामिन्छ र समुद्र शान्त हुन्छ। आफ्ना चेलाहरूतर्फ फर्किंदै उहाँ सोध्नुहुन्छ: “तिमीहरू किन डराउँछौ? के तिमीहरूसित अझैसम्म अलिकति पनि विश्वास छैन?”
यसो हुँदा चेलाहरूले एउटा असाधारण प्रकारको डर महसुस गर्छन्। तिनीहरू आपसमा कुरा गर्छन्, “यिनी साँच्चै को हुन्, किनकि बतास र समुद्रले समेत यिनको आज्ञा मान्छन्?”
येशूले कस्तो शक्तिको प्रदर्शन गर्नुहुन्छ! प्राकृतिक तत्त्वहरूमाथि पनि हाम्रा राजाको शक्ति छ र उहाँको शासनकालमा उहाँको सम्पूर्ण ध्यान हाम्रो पृथ्वीमाथि हुँदा सबै मानिसहरू डरलाग्दा प्राकृतिक विपत्तिबाट सुरक्षित भएर बस्नेछन्। यो कस्तो आनन्दको कुरा हो!
आँधी शान्त भएको केही बेरपछि येशू र उहाँका चेलाहरू पूर्वपट्टिको किनारमा सुरक्षित आइपुग्नुहुन्छ। सायद अरू डुङ्गाहरू आँधीको मार भोग्नु नपरिकनै सुरक्षापूर्वक घर फर्किए होलान्। मर्कूस ४:३५–५:१; मत्ती ८:१८, २३-२७; लूका ८:२२-२६.
▪ डेकापोलिस के हो र यो कुन ठाउँमा छ?
▪ कस्ता प्राकृतिक कारणहरूले गर्दा गालील समुद्रमा भयानक आँधीबेहरी आउँछ?
▪ डुङ्गा चलाउने तिनीहरूको सीपले तिनीहरूलाई बचाउन नसक्दा चेलाहरू के गर्छन्?