अध्याय २७
टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा प्रस्तुत गर्नुहोस्
तपाईंले धेरै मेहनत गरेर आफ्नो भाषणको तयारी गर्नुभएको होला। विषयवस्तु जानकारीमूलक होला। प्रस्तुत गरिने तर्क राम्रै होलान्। तपाईंले आफ्नो भाग सरर्र बग्नेगरि प्रस्तुत गर्न सक्नुहोला। तर श्रोताको ध्यान बारम्बार अन्तै मोडियो भने तिनीहरूले तपाईंले भनेको कुराको केही भाग मात्रै सुन्छन्। त्यतिखेर तपाईंको प्रस्तुति कत्तिको प्रभावकारी हुन्छ? श्रोतालाई भाषणमा ध्यान दिन गाह्रो भइरहेको छ भने के तपाईंले तिनीहरूको मन छुन सक्नुहोला?
यस्तो समस्या हुनुको खास कारण के हो? थुप्रै कारणले गर्दा यस्तो समस्या हुन सक्छ। प्रायः टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा भाषण दिन नसक्दा यस्तो हुन्छ। अर्को शब्दमा भन्ने हो भने वक्ता घरीघरी आफ्नो टिपोट हेरिरहन्छन् भने तिनको प्रस्तुति स्वाभाविक सुनिंदैन। वास्तवमा भाषण तयारी गरेको तरिकाले गर्दा यस्तो समस्या हुन्छ।
भाषणको प्रत्येक कुरा पहिल्यै लेखेर पछि मात्र रूपरेखा बनाउनुभयो भने टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा भाषण दिन सक्नुहुन्न। किन? किनभने भाषणमा कुन शब्द प्रयोग गर्ने त्यो तपाईंले पहिल्यै छानिसकेको हुन्छ। त्यसैले भाषण दिने बेला रूपरेखा नै प्रयोग गरेको भए तापनि सुरुमा भाषण तयार गर्दा जुन-जुन शब्द छान्नुभएको थियो, त्यही-त्यही शब्द तपाईंले सम्झने प्रयास गर्नुहुनेछ। बोल्ने भाषाको तुलनामा लेख्ने भाषाको वाक्य संरचना ज्यादै जटिल हुन्छ। तपाईंको भाषणमा त्यो कुरा देखिन्छ।
भाषणको एक-एक शब्द लेख्नुभन्दा यी तरिका प्रयोग गर्नुहोस्: (१) मूल-विषय छान्नुहोस् र त्यो मूल-विषय विस्तार गर्न प्रयोग गर्ने विचार गरेको विषयसित सम्बन्धित मुख्य बुँदाहरू छान्नुहोस्। छोटो भाषणको लागि दुइटा बुँदा नै पर्याप्त हुन सक्छ। लामो भाषणको लागि चारवटा वा पाँचवटा बुँदा राख्नुपर्ने हुन्छ। (२) हरेक मुख्य बुँदामुनि त्यसलाई विस्तार गर्ने मुख्य शास्त्रपद लेख्नुहोस्; प्रयोग गर्न सकिने उदाहरण वा दृष्टान्त र तर्क उल्लेख गर्नुहोस्। (३) भाषणको परिचय कसरी प्रस्तुत गर्ने, विचार गर्नुहोस्। परिचयमा प्रयोग गर्ने एक/दुइटा वाक्य लेख्न सक्नुहुन्छ। साथै भाषणको समापनमा के भन्ने, योजना बनाउनुहोस्।
भाषणको तयारी गर्नु धेरै महत्त्वपूर्ण छ। एक-एक शब्द याद गर्ने हिसाबले नरट्नुहोस्। टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा भाषण दिने हो भने तयारी गर्दा शब्द-शब्दमा होइन तर व्यक्त गर्ने विचारहरूमा जोड दिनुपर्छ। एउटा विचार व्यक्त गरेपछि अर्को कुन विचार व्यक्त गर्ने हो, पक्का नहोउन्जेल ती विचारबारे सोचिरहनुहोस्। तपाईंले तर्कसङ्गत तरिकामा भाषण विस्तार गर्नुभएको छ र भाषण प्रस्तुत गर्ने राम्रो योजना बनाउनुभएको छ भने कुन विचारपछि कुन विचार प्रस्तुत गर्ने भन्ने विषयमा समस्या हुनेछैन। साथै भाषण प्रस्तुत गर्दा तपाईंको मनमा विचारहरू पनि सजिलै फुर्नेछन्।
फाइदाहरूबारे सोच्नुहोस्। टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा भाषण दिनुको एउटा फाइदा, तपाईंले बोलीचालीको भाषा प्रयोग गरिरहेको हुनेछ। यस्तो बोली मानिसहरूले सजिलैसँग बुझ्न सक्छन्। तपाईंको प्रस्तुति झनै जीवन्त हुनेछ र श्रोतालाई निकै रोचक लाग्नेछ।
यस तरिकाअनुसार बोल्दा धेरैभन्दा धेरै श्रोतालाई हेरेर कुराकानी गर्न सक्नुहुन्छ। प्रत्येक वाक्य भन्न तपाईं आफ्नो टिपोटमा भर नपरेकोले तपाईंलाई आफ्नो विषय राम्ररी थाह छ र आफूले भन्ने कुरामा तपाईं विश्वस्त हुनुहुन्छ भनी श्रोताले बुझ्नेछन्। यसरी प्रस्तुत गर्दा भाषण न्यानो हुन्छ, कुराकानी गरेको जस्तै हुन्छ। हो, श्रोताको मन छुन सकिन्छ।
टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा बोल्दा सजिलै छाँटकाँट गर्न पनि सक्नुहुन्छ। किनभने विषयवस्तु परिवर्तन नै गर्न नसकिने खालको हुँदैन। मानिलिनुहोस्, तपाईंले भाषण प्रस्तुत गर्ने दिन बिहान भाषणसित सीधै सम्बन्धित उल्लेखनीय समाचार थाह पाउनुभयो। त्यो समाचार भाषणमा उल्लेख गर्नु के उपयुक्त नहोला र? अथवा भाषण दिइरहेको बेला श्रोतामाझ स्कूल जाने थुप्रै केटाकेटी देख्नुभयो। छलफल गरिरहेको विषयवस्तुले तिनीहरूको जीवनमा पार्ने प्रभावबारे बुझ्न मदत दिन तपाईंले प्रयोग गर्ने उदाहरण र विषयवस्तु लागू गर्ने तरिकामा छाँटकाँट गर्नु धेरै राम्रो हुन्छ।
टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा प्रस्तुत गर्दा हुने अर्को फाइदा हो, तपाईंले आफ्नो भावना व्यक्त गर्न सक्नु। श्रोताले भाषण कृतज्ञ भई, कदर गरेर सुनेको देख्दा तपाईं आफै पनि उत्साहित हुनुहुनेछ र त्यसपछि खास विचारहरू खुलेर व्याख्या गर्न सक्नुहुन्छ र जोड दिनका लागि केही बुँदा दोहोऱ्याउन सक्नुहुन्छ। छलफल गरिएको विषयवस्तुप्रति श्रोताको चासो घटिरहेको छ जस्तो लाग्यो भने मन डुलाइरहेका ती श्रोतालाई थप कुरा बताउनुभन्दा तिनीहरूको ध्यान खिच्ने प्रयास गर्नुहोस्।
खतराबाट जोगिनुहोस्। टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा भाषण प्रस्तुत गर्नुका आफ्नै खतराहरू छन्। खतरा हो, धेरै समय लिनु। भाषणमा थप बुँदा धेरै राख्नुभयो भने भाषण प्रस्तुत गर्न धेरै समय लाग्न सक्छ। यस्तो खतराबाट जोगिन भाषणको प्रत्येक भागमा कति समय लगाउने हो, आफ्नो रूपरेखामा लेख्नुहोस्। त्यसपछि त्यही समयभित्र भाषण प्रस्तुत गर्नुहोस्।
अर्को खतरा हो, अति विश्वस्त हुनु। विशेषगरि अनुभवी वक्तालाई यस्तो खतरा हुन्छ। मानिसहरूसामु बोल्ने बानी भइसकेका केही वक्तालाई थप बुँदा बताए तापनि भाषण समयमै सिध्याउन सक्छु जस्तो लाग्छ। तर हामी नम्र छौं र यहोवा स्वयम् नै महान् “गुरु” अर्थात् सिकाउने मुख्य व्यक्ति हुनुभएको शैक्षिक कार्यक्रममा भाग लिइरहेका छौं भनेर हामीले बुझेका छौं भने आफूले पाएको प्रत्येक जिम्मेवारी प्रार्थना गरेर राम्ररी तयारी गर्न उत्प्रेरित हुनेछौं।—यशै. ३०:२०; रोमी १२:६-८.
टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा प्रस्तुत गर्ने अनुभव नभएका धेरैजसो वक्तालाई आफूले भन्न चाहेको कुरा बिर्सने हो कि भन्ने चिन्ता लाग्छ। तर यसरी चिन्ता गर्दा टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा भाषण दिन कहिल्यै सिकिंदैन र प्रभावकारी वक्ता पनि कहिल्यै हुन सकिंदैन। त्यसैले ज्यादै चिन्ता नगर्नुहोस्; बरु राम्ररी तयारी गर्नुहोस् र यहोवाको पवित्र शक्तिको मदतको लागि उहाँलाई प्रार्थना गर्नुहोस्।—यूह. १४:२६.
अन्य वक्ता भने सही शब्द कुन-कुन होला भन्ने कुरामा औधी चिन्ता गर्छन्। हो, टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा प्रस्तुत गर्दा पाण्डुलिपि भाषणमा जस्तै पहिल्यै शब्द छानिएको र वाक्य पनि व्याकरणको नियम अनुरूप मिलेको त नहोला। तर टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा प्रस्तुत गर्दा बोलीचालीको शैली प्रयोग गरिने भएकोले खासै फरक पर्दैन। सजिलै बुझ्न सकिने शब्दहरूमा विचार व्यक्त गर्दा र सरल वाक्यहरू प्रयोग गर्दा मानिसहरूलाई सम्झन सजिलो हुन्छ। तयारी राम्ररी गरिएको छ भने वाक्य पनि सजिलै निस्कन्छ। यस्तो हुनुको कारण मुख्य विचारहरू दोहोऱ्याइ-तेहऱ्याइ याद गरेकोले हो; कण्ठ गरेकोले होइन। दैनिक बोलीचालीमा पनि राम्रा-राम्रा शब्द प्रयोग गर्ने बानी बसाल्नुभएको छ भने भाषण दिने बेला पनि त्यस्ता शब्द स्वतः निस्कनेछन्।
कस्तो प्रकारको टिपोट प्रयोग गर्ने? समय बित्दै जाँदा र अभ्यास गर्दै जाँदा भाषणको हरेक बुँदाको लागि केही शब्द मात्र छुट्ट्याएर तपाईंले आफ्नो रूपरेखा छोटो बनाउन सिक्नुहुनेछ। यस्ता शब्दहरूका साथै तपाईंले प्रयोग गर्न चाहेका पदहरू एउटा कार्डमा वा कागजको टुक्रामा लेख्न सक्नुहुन्छ। यसो गर्दा तपाईंले सजिलै ती शब्द र पदहरू भेट्टाउन सक्नुहुन्छ। प्रचारको लागि प्रायः तपाईंले एउटा सरल रूपरेखा मनमा राख्नुहुन्छ होला। पुनःभेटको लागि कुनै विषयमा अनुसन्धान गर्नुभएको छ भने कागजको टुक्रामा छोटो टिपोट लेखेर बाइबलमा राख्न सक्नुहुन्छ। अथवा “चर्चाका लागि बाइबल विषयहरू”-मा पाइने रूपरेखा प्रयोग गर्न सक्नुहुन्छ वा धर्मशास्त्रबाट तर्क गर्ने (अङ्ग्रेजी) किताबमा भएको विषयवस्तु छलफलको लागि प्रयोग गर्न सक्नुहुन्छ।
तर आउँदा हप्ताहरूमा सभामा तपाईंले विभिन्न भाग प्रस्तुत गर्नुपर्नेछ र जनभाषण पनि दिनुपर्नेछ भने विस्तृत रूपरेखा बनाउनुपर्ला कि जस्तो तपाईंलाई लाग्न सक्छ। किन? आफूले पाएको प्रत्येक भाग प्रस्तुत गर्नुअघि उक्त विषयवस्तु फेरि सम्झन। तैपनि भाषण प्रस्तुत गर्दा प्रायः सबैजसो वाक्य भन्नुअघि लेखेको कुरा हेर्नुहुन्छ अर्थात् आफ्नो टिपोटमा धेरै नै भर पर्नुहुन्छ भने टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा प्रस्तुत गर्दा पाइने फाइदा पाउन सकिंदैन। टिपोट ज्यादै विस्तृत छ भने ठाउँ-ठाउँमा चिनो लगाउनुहोस्। केही खास शब्द वा पदमा चिनो लगाउनुभयो भने तपाईं ती सजिलै देख्न सक्नुहुन्छ र ती शब्दले वा पदले नै तपाईंको लागि रूपरेखाको काम गर्नेछ।
अनुभवी वक्ताले साधारणतया टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा आफ्नो भाषण प्रस्तुत गर्ने भए तापनि भाषण प्रस्तुत गर्दा अन्य तरिका प्रयोग गर्नु पनि फाइदाजनक हुन्छ। भाषणको परिचयमा र समापनमा पनि श्रोतालाई हेरेर कुरा गर्नुपर्छ साथै राम्ररी छानिएका सटिक वाक्यहरू प्रयोग गर्नुपर्छ। यसको लागि केही वाक्य लेखेर नै याद गर्नु प्रभावकारी हुन सक्छ। प्रमाण, तथ्याङ्क, कसैको भनाइ वा पदहरू छन् भने ती पढेर सुनाउनु राम्रो हो र यसले गर्दा राम्रो प्रभाव पर्न सक्छ।
कसैले स्पष्टीकरण माग्यो भने के गर्ने? कहिलेकाहीं पूर्वतयारी विना नै हामीले आफ्नो आस्थाबारे अरूलाई बताउनुपर्ने हुन्छ। प्रचारमा कुनै व्यक्तिले हाम्रो कुरामा असहमति व्यक्त गरेका छन् भने यस्तो अवस्था आइपर्न सक्छ। नातेदारसित कुराकानी गर्दा, काम गर्ने ठाउँमा वा स्कूलमा हामी यस्तै अवस्था सामना गर्छौं। हाम्रो आस्थाबारे र जीवनशैलीबारे सरकारी अधिकारीलाई पनि बताउनुपर्ने हुन्छ। बाइबल हामीलाई यस्तो आग्रह गर्छ: “कसैले तिमीहरूको आशाको कारणबारे सोध्यो भने तिनीहरूलाई जवाफ दिन सधैं तयार भइरहो तर जवाफ दिंदा तिमीहरूले कोमल भाव र गहिरो आदर देखाओ।”—१ पत्रु. ३:१५.
प्रेषित ४:१९, २० मा लेखिएअनुसार पत्रुस र यूहन्नाले यहूदी न्यायपरिषद्लाई कसरी जवाफ दिए, याद गर्नुहोस्। केवल दुई वाक्यमा उनीहरूले आफ्नो अडान स्पष्ट पारे। उनीहरूले श्रोता पनि सहमत हुने किसिमको जवाफ दिए। प्रेषितहरूसामु जुन विवाद खडा गरिएको थियो, त्यो विवादमा यहूदी न्यायपरिषद् आफै पनि मुछिएको छ भनेर तिनीहरूले बताए। केही समयपछि स्तिफनसविरुद्ध झूटो आरोप लगाइयो र तिनलाई सोही न्यायपरिषद्सामु लगियो। तिनले पूर्व तयारीविना दिएको स्वतःस्फूर्त जवाफ प्रेषित ७:२-५३ मा पढ्नुहोस्। तिनले आफ्नो विषयवस्तु कसरी मिलाए? तिनले ऐतिहासिक क्रमअनुसार घटनाहरू प्रस्तुत गरे। प्रस्तुतिमा उपयुक्त समय आएपछि इस्राएल राष्ट्रले देखाएको विद्रोही मनोभावबारे तिनले जोड दिन थाले। परमेश्वरको छोरालाई मार्न लगाएर यहूदी न्यायपरिषद्ले पनि उस्तै मनोभाव देखाए भनेर तिनले समापनमा बताए।
कुनै तयारीविना नै स्वतःस्फूर्त तरिकामा तपाईंले आफ्नो आस्थाबारे बताउनुपऱ्यो भने त्यसलाई कसरी प्रभावकारी बनाउनुहुन्छ? राजा आर्टजारसेजले सोधेको प्रश्नको जवाफ दिनुअघि नहेम्याहले मनमनै प्रार्थना गरे। तिनको अनुकरण गर्नुहोस्। (नहे. २:४) त्यसपछि के भन्ने तुरुन्तै विचार गर्नुहोस्। यसो गर्ने तरिका यस प्रकार छन्: (१) तपाईंले भन्ने कुरामा समावेश गर्न सक्ने एउटा वा दुइटा बुँदा रोज्नुहोस् (“चर्चाका लागि बाइबल विषयहरू”-मा पाइने बुँदाहरू समावेश गर्न सक्नुहुन्छ)। (२) यी बुँदाहरूलाई समर्थन गर्न तपाईं कुन-कुन शास्त्रपद प्रयोग गर्नुहुन्छ, निर्णय गर्नुहोस्। (३) प्रश्न सोध्ने व्यक्ति जवाफ सुन्न इच्छुक हुनेगरि कसरी व्यवहार-कुशल भई व्याख्या गर्ने, विचार गर्नुहोस्। त्यसपछि मात्रै कुराकानी थाल्नुहोस्।
दबाबमा पर्दा के गर्ने, के तपाईंलाई याद हुन्छ? येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “कसरी बोल्ने र के बोल्ने भनी चिन्ता नगर; के बोल्ने हो, त्यो तिमीहरूले त्यतिखेरै थाह पाउनेछौ; किनकि तिमीहरू आफ्नै भरमा होइन तर तिमीहरूका बुबाको पवित्र शक्तिको मदत पाएर बोल्नेछौ।” (मत्ती १०:१९, २०) यसको अर्थ प्रथम शताब्दीका ख्रीष्टियनहरूलाई चमत्कारपूर्ण ढङ्गमा दिइएको “ज्ञानको कुरा गर्ने वरदान” तपाईंलाई पनि दिइनेछ भन्ने होइन। (१ कोरि. १२:८) तर यहोवाले ख्रीष्टियन मण्डलीमार्फत आफ्ना सेवकहरूलाई दिने शिक्षा तपाईंले नियमित तवरमा लिनुभयो भने पवित्र शक्तिले आवश्यक जानकारी चाहिएकै बेला याद गराउनेछ।—यशै. ५०:४.
टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा आफ्नो भाग प्रस्तुत गर्नु निकै प्रभावकारी हुन्छ भन्ने कुरामा कुनै शङ्का छैन। मण्डलीमा आफ्नो भाग टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा प्रस्तुत गर्ने अभ्यास गरिरहनुभएको छ भने पूर्व तयारीविना स्वतःस्फूर्त तरिकामा जवाफ दिन तपाईंलाई गाह्रो हुँदैन। किनकि पहिल्यै तयारी गरेका होऔं वा नहोऔं हामीलाई थाह भएकै कुरा हामी बताइरहेका हुन्छौं। त्यसैले पछि नहट्नुहोस्। टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा बोल्दा प्रचारकार्यमा अझै प्रभावकारी हुन मदत पाउनुहुन्छ; मण्डलीसामु भाषण दिने मौका पाउँदा श्रोताको मन डुल्नेछैन बरु तिनीहरूको मन छुन सक्नुहुन्छ।