अध्याय १०५
अन्जिरको रूखबाट विश्वासबारे पाठ सिकाउनुहुन्छ
मत्ति २१:१९-२७ मर्कुस ११:१९-३३ लुका २०:१-८
सुकेको अन्जिरको रूख—विश्वासबारे पाठ
येसुको अख्तियारमाथि प्रश्न उठाइन्छ
सोमबार दिउँसो यरुसलेम छोडेपछि येसु जैतुन डाँडाको पूर्वी भेगमा पर्ने बेथानि फर्कनुहुन्छ। उहाँ सायद आफ्ना साथीहरू लाजरस, मरियम र मार्थाको घरमा बास बस्नुहुन्छ।
यो नीसान ११ को बिहानी हो। येसु र उहाँका चेलाहरू फेरि यरुसलेम जान निस्कनुहुन्छ। येसु यरुसलेमको मन्दिरमा अन्तिम पटक जाँदै हुनुहुन्छ। यो नै उहाँले सार्वजनिक रूपमा गर्नुहुने सेवाको कामको अन्तिम दिन हो। त्यसपछि उहाँले निस्तार चाड मनाउनुहुनेछ, आफ्नो मृत्युको स्मरणार्थ स्थापना गर्नुहुनेछ, उहाँ पुर्पक्षको लागि लगिनुहुनेछ र मारिनुहुनेछ।
बेथानिबाट जैतुन डाँडा हुँदै यरुसलेम जाँदै गर्दा पत्रुस हिजो बिहान येसुले सराप दिनुभएको रूखलाई देख्छन्। तिनी यसो भन्छन्: “रब्बी, हेर्नुहोस्! तपाईँले सराप दिनुभएको अन्जिरको रूख त सुकेछ।”—मर्कुस ११:२१.
तर येसुले त्यस रूखलाई किन सराप दिएर सुकाउनुभयो? त्यसको कारण बताउँदै उहाँ भन्नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, यदि तिमीहरूसित विश्वास छ र तिमीहरूले शङ्का गरेनौ भने मैले अन्जिरको रूखलाई जे गरेँ, त्यति मात्र होइन तर यस पहाडलाई ‘यहाँबाट उप्किएर समुद्रमा खस्’ भन्यौ भने त्यो पनि हुनेछ। तिमीहरूले विश्वास गर्दै प्रार्थनामा जे-जे माग्छौ, ती सबै तिमीहरूले पाउनेछौ।” (मत्ति २१:२१, २२) यसरी उहाँ डाँडालाई सार्न सक्ने हदसम्मको विश्वासबारे यसअघि पनि आफूले भनेको कुरा दोहोऱ्याउनुहुन्छ।—मत्ति १७:२०.
यसरी रूखलाई सुकाएर येसुले परमेश्वरमाथि विश्वास गर्नुपर्ने आवश्यकताबारे पाठ सिकाउनुहुन्छ। उहाँ भन्नुहुन्छ: “तिमीहरूले प्रार्थनामा जे-जे माग्छौ, ती तिमीहरूले पाइसकेझैँ गरी विश्वास गर अनि तिमीहरूले ती साँच्चै पाउनेछौ।” (मर्कुस ११:२४) येसुका सबै अनुयायीको लागि कत्ति महत्त्वपूर्ण पाठ! येसुले दिनुभएको सल्लाह प्रेषितहरूको लागि झनै उपयुक्त छ किनकि उनीहरूले चाँडै कठिन परीक्षाहरूको सामना गर्नुपर्नेछ। तर अन्जिरको रूख सुक्नु र विश्वासको गुणस्तरबीच अर्को सम्बन्ध पनि छ।
यो अन्जिरको रूखले जस्तै इस्राएल राष्ट्रले पनि छली रूप धारण गरेको छ। यस राष्ट्रका मानिसहरू परमेश्वरसित करारमा बाँधिएका छन् र तिनीहरू बाहिरबाट हेर्दा उहाँको व्यवस्था पालन गर्ने मानिसजस्तो देखिन्छन्। तर एउटा सिङ्गो राष्ट्रको रूपमा तिनीहरूले विश्वास देखाएका छैनन् र असल फल फलाएका छैनन्। तिनीहरू परमेश्वरको छोरालाई समेत इन्कार गर्छन्! त्यसैले फल दिन नसक्ने अन्जिरको रूखलाई सुकाएर येसु फल नफलाउने र विश्वास नदेखाउने यस राष्ट्रको अन्तिम अवस्था कस्तो हुनेछ भनी देखाउनुहुन्छ।
केही समयपछि येसु र उहाँका चेलाहरू यरुसलेम प्रवेश गर्नुहुन्छ। येसु आफ्नो बानीअनुसारै मन्दिरमा जानुहुन्छ र सिकाउन थाल्नुहुन्छ। सायद येसुले अघिल्लो दिन पैसा साट्नेहरूलाई गर्नुभएको कुरा सम्झँदै मुख्य पुजारीहरू र धर्मगुरुहरू उहाँको अख्तियारमाथि प्रश्न उठाउँदै यसो भन्छन्: “तपाईँ कुन अख्तियारले यी सब गर्दै हुनुहुन्छ? तपाईँलाई यसो गर्ने अख्तियार कसले दियो?”—मर्कुस ११:२८.
येसु यस्तो जवाफ दिनुहुन्छ: “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु। तिमीहरूले मलाई त्यसको जवाफ देओ र म कुन अख्तियारले यी सब गर्दै छु, म पनि तिमीहरूलाई भनौँला। युहन्नाले बप्तिस्मा गराउने अख्तियार परमेश्वरबाट पाए कि मानिसहरूबाट? मलाई जवाफ देओ।” येसु उल्टो आफ्ना विरोधीहरूलाई प्रश्न गर्नुहुन्छ। ती पुजारीहरू र धर्मगुरुहरू कसरी जवाफ दिने भनेर आपसमा यसो भन्दै तर्क गर्न थाल्छन्: “‘परमेश्वरबाट’ भनौँ भने ‘उसोभए तिमीहरूले किन ऊमाथि विश्वास गरेनौ त’ भनेर उसले सोध्नेछ। तर ‘मानिसहरूबाट’ भन्ने आँट कसरी गरौँ?” तिनीहरूले यस्तो तर्क गर्नुको कारण त्यहाँ जम्मा भएका मानिसहरूसित डराएकोले हो “किनकि युहन्ना वास्तवमै भविष्यवक्ता थिए भनी सबै मानिसले मान्थे।”—मर्कुस ११:२९-३२.
येसुका विरोधीहरूले उपयुक्त जवाफ दिनै सक्दैनन्। त्यसैले तिनीहरू यसो भन्छन्: “हामीलाई थाह छैन।” त्यसपछि येसु तिनीहरूलाई यसो भन्नुहुन्छ: “म कुन अख्तियारले यी सब गर्छु, म पनि तिमीहरूलाई भन्दिनँ।”—मर्कुस ११:३३.