अध्याय १३२
“यिनी साँच्चै परमेश्वरका छोरा रहेछन्”
मत्ति २७:४५-५६ मर्कुस १५:३३-४१ लुका २३:४४-४९ युहन्ना १९:२५-३०
येसु खम्बामा मर्नुहुन्छ
येसुको मृत्युको बेला असाधारण घटनाहरू घट्छ
अहिले “छैटौँ घडी” अर्थात् मध्यान्ह बाह्र बजेतिरको समय हो। ‘सारा देशभरि नवौँ घडीसम्म’ अर्थात् दिउँसो तीन बजेतिरसम्म अचम्मलाग्दो तरिकाले निस्पट्ट अन्धकार छाउँछ। (मर्कुस १५:३३) सूर्य-ग्रहण लागेकोले यस्तो डरलाग्दो अन्धकार छाएको होइन। सूर्य-ग्रहण औँसीमा मात्र लाग्छ तर अहिले भने निस्तार चाडको समय हो, जुन पूर्णिमामा पर्छ। अनि यो अन्धकार ग्रहण लागेको बेलाजस्तो केही मिनेट मात्र नभई लामो समयसम्म रहन्छ। त्यसैले यस्तो अन्धकार परमेश्वरले नै गराउनुभएको हो! येसुको गिल्ला गरिरहेकाहरूले यतिबेला कस्तो महसुस गरे होलान्, सोच्नुहोस् त!
यस्तो अन्धकार छाइरहेको समयमा चार जना स्त्री यातनाको खम्बा भएतिर जान्छन्। ती स्त्रीहरू येसुकी आमा, सलोमी, मरियम मग्दलिनी अनि सानो याकुबकी आमा मरियम हुन्।
प्रेषित युहन्ना शोक गरिरहेकी येसुकी आमासँगै “यातनाको खम्बाको छेवैमा” छन्। आफूले जन्माएको र माया गरेर हुर्काएको छोरा खम्बामा छट्पटाइरहेको देख्दा मरियमलाई “लामो तरबारले” वारपार हुनेगरि छेडेको जस्तै पीडा हुन्छ। (युहन्ना १९:२५; लुका २:३५) येसु आफ्नो त्यस्तो असह्य पीडाको बाबजुद आफ्नी आमाको हितबारे सोच्नुहुन्छ। उहाँ सकी-नसकी युहन्नातिर आफ्नो मुन्टो फर्काउँदै आफ्नी आमालाई यसो भन्नुहुन्छ: “आमा, हेर्नुहोस्, तपाईँको छोरा!” त्यसपछि मरियमतिर मुन्टो फर्काउँदै युहन्नालाई यसो भन्नुहुन्छ: “हेर, तिम्री आमा!”—युहन्ना १९:२६, २७.
येसु आफ्नी आमाको हेरविचार गर्ने जिम्मा आफूले असाध्यै माया गरेको प्रेषितलाई सुम्पनुहुन्छ। सायद यतिबेला उहाँकी आमा विधवा भइसकेकी छिन्। मरियमका अरू छोराहरू—उहाँका भाइहरूले अहिलेसम्म आफूमाथि विश्वास गरेका छैनन् भनेर येसुलाई थाह छ। त्यसैले उहाँ आफ्नी आमाको भौतिक र आध्यात्मिक आवश्यकताको हेरविचार गर्ने बन्दोबस्त मिलाउनुहुन्छ। कत्ति राम्रो उदाहरण!
अन्धकार हट्न लागेको समयतिर येसु यसो भन्नुहुन्छ: “मलाई तिर्खा लाग्यो।” यसो भनेर उहाँ भविष्यवाणी पूरा गर्दै हुनुहुन्छ। (युहन्ना १९:२८; भजन २२:१५) आफ्नो सत्यनिष्ठाको पूर्णतया जाँच होस् भनेर बुबाले आफूबाट उहाँको सुरक्षा हटाउनुभएको जस्तो येसुलाई महसुस हुन्छ। यसकारण सायद गालिली-अरामी भाषामा उहाँ ठूलो स्वरले यसो भन्दै कराउनुहुन्छ: “एली, एली, लामा सबख्थनी?” जसको अनुवाद गर्दा अर्थ हुन्छ, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो?” वरपर उभिरहेका कसै-कसैले उहाँले भन्नुभएको कुरा बुझ्दैनन् र यसो भन्छन्: “हेर, उसले एलियालाई बोलाउँदै छ।” तिनीहरूमध्ये एक जना दौडेर जान्छ अनि अमिलो दाखमद्यमा स्पन्ज चोपेर त्यसलाई नर्कटमा राख्छ र येसुलाई पिउन दिन्छ। तर बाँकीचाहिँ यसो भन्छन्: “एलिया यसलाई तल झार्न आउँछन् कि आउँदैनन्, हेरौँ न।”—मर्कुस १५:३४-३६.
त्यसपछि येसु यसो भन्नुहुन्छ: “सबै पूरा भयो!” (युहन्ना १९:३०) हो, बुबाले उहाँलाई जुन उद्देश्यले पृथ्वीमा पठाउनुभएको थियो, उहाँले ती सबै पूरा गर्नुभएको छ। अन्तमा उहाँ यसो भन्नुहुन्छ: “हे बुबा, म आफ्नो जीवन तपाईँको हातमा सुम्पिन्छु।” (लुका २३:४६) यसरी येसु यहोवाले आफूलाई फेरि जीवित पार्नुहुन्छ भन्ने कुरामा ढुक्क हुँदै आफ्नो जीवनशक्ति उहाँलाई सुम्पनुहुन्छ। परमेश्वरप्रति अटल भरोसा राख्दै ख्रिष्टले आफ्नो शिर निहुराउनुहुन्छ र उहाँ बित्नुहुन्छ।
त्यतिखेर एउटा ठूलो भूकम्प जान्छ र चट्टानहरूमा धाँजा फाट्छ। यति शक्तिशाली भूकम्प जान्छ कि यरुसलेमबाहिर भएका चिहानहरू उघ्रिन्छन् र लासहरू बाहिर निस्कन्छन्। बाटोमा आउजाउ गर्नेहरूले ती लासहरू देख्छन् र तिनीहरू त्यस “पवित्र सहरभित्र” पसेर आफूले देखेको कुरा मानिसहरूलाई बताउँछन्।—मत्ति १२:११; २७:५१-५३.
येसु बित्नुहुँदा परमेश्वरको मन्दिरको पवित्र कोठा र महापवित्र कोठालाई छुट्ट्याएको लामो र गह्रौँ पर्दा टुप्पोदेखि फेदसम्म च्यातिएर दुई फ्याक हुन्छ। यो अचम्मलाग्दो घटना आफ्नो छोराको हत्या गर्नेहरूप्रति परमेश्वरको क्रोधको अभिव्यक्ति हो। साथै यसले अब महापवित्र कोठा अर्थात् स्वर्ग जाने बाटो खुलेको कुरालाई पनि सङ्केत गर्छ।—हिब्रू ९:२, ३; १०:१९, २०.
यो देखेर मानिसहरू पक्कै पनि डराउँछन्। त्यहाँ खटिएका सैनिक अफिसर यसो भन्छन्: “यिनी साँच्चै परमेश्वरका छोरा रहेछन्।” (मर्कुस १५:३९) पिलातससामु येसुको पुर्पक्षको बेला उहाँ परमेश्वरको छोरा हुनुहुन्छ कि हुनुहुन्न भन्ने विवाद चल्दा ती अफिसर पनि त्यहीँ थिए होलान्। अब भने ती अफिसर येसु धर्मी पुरुष हुनुहुन्छ र उहाँ साँच्चै परमेश्वरको छोरा हुनुहुन्छ भन्ने कुरामा विश्वस्त हुन्छन्।
यी असाधारण घटनाहरू देखेर तीनछक परेका अरूहरूचाहिँ गहिरो शोक र लाज प्रकट गर्न “आफ्नो छाती पिट्दै” घर फर्कन्छन्। (लुका २३:४८) कुनै-कुनै समय येसुसितै यात्रा गरेका महिला चेलाहरू पनि टाढैबाट यी सब घटनाहरू हेर्दै छन्। यी महत्त्वपूर्ण घटनाहरू देखेर तिनीहरू पनि असाध्यै प्रभावित हुन्छन्।